१ कार्तिक २०८३, शनिबार

सत्तरी वर्षीया ज्ञानुमाया पाडी हुर्काउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Padaiभक्तपुर, १८ मंसिर । भक्तपुर चित्तपोल- ९, भेतासीकी ७० वर्षीया ज्ञानुमाया थापाको विवाह सात वर्ष मै भयो ।

विवाह भएर आएकै वर्ष देखि भैंसी पाल्दै आएकी ज्ञानुमाया पछिल्लो तीन वर्ष यता भैंसी पाल्नुको महत्व बढै गएको बताउँछिन ।

‘पहिले पराई घरमा घाँस काट्न र दुःख गर्न मात्र आइएछ की जस्तो लाग्थ्यो’, उनले भनिन्, ‘अहिले बुढेसकालमा पाडी हुर्काउने अभियानमा लागेका छौं, खुशी बढै गएको छ ।’

‘पहिले पहिले करले भैंसी पालिन्थ्यो अहिले रहर बढै गएको छ’, उनले भनिन् ।

ज्ञानुमाया जस्तै चित्तपोलका महिलाहरु तीन वर्षयता पाडी हुर्काउने अभियानमा अग्रसर भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

गाविस, पशुसेवा कार्यालय, स्थानीय विकास कोषको सहकार्यमा महिलाहरुको स्वरोजगार बढाउने, मासु एवं दुध आपूर्ति बढाउने उद्देश्यले भक्तपुरलाई नमूना भैंसी पालन जिल्ला बनाउन चित्तपोल गाविसका २० महिलालाई पाडी वितरण गरिएको स्थानीय विकास कोषका कार्यकारी सचिव राजन शर्माले बताए ।

आर्थिक अवस्था कमजोर भएका कृषकको आम्दानीको स्रोत बढाउन चित्तपोलको ६ सामूदायिक संस्थाको २० महिलालाई पाडी अनुदान दिएको कार्यकारी सचिव शर्माले बताए ।

‘तीन वर्ष अघि वितरण गरेको पाडी माउ बनेको छ’,  कार्यकारी सचिव शर्माले भने, ‘तीन वर्षको पाडी माउ बनेर कृषकले दैनिक ७ देखि १० लिटर दुध बिक्रि गरी आम्दानी गर्न थालिसकेका छन् ।;

जिल्लामा गाईपालन बढै गएपनि गाईको बाछा सडकमा बेवारिसे छोड्ने गर्नाले दुर्घटना बढाउने हुनाले पाडी हुर्काउन थालेको कृषक रेणु थापाले बताइन् ।

‘सडकमा छाडा छोडेको बाछाको बिजोक हेरेर पनि पाडी हुर्काउने अभियानमा लागेको हो’,कृषक रेणुले भनिन्, ‘पाडी माउ बनेर दुध दिएन भने पनि मासुको भाउमा त बिक्छ ।’

जिल्लामा बेवारिसे छोडिएको गाई बाछाको संख्या दिनप्रति दिन बढै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका कृषकको आर्थिक अवस्था उकास्न मद्धत पुर्‍याउन सञ्चालन गरेको नमूना पाडी वितरण कार्यक्रममा थप कृषकको पनि आकर्षण बढै गएको छ ।

पाडी वितरण कार्यक्रम अन्तर्गत गाविसले पाडी खरिद गर्न प्रति घर ५ हजार र पुश सेवा कार्यालयले पाडी ढुवानीका लागि प्रति घर २ हजार सहयोग गरेको थियो ।

एकपटक पाडी माउ भएर नब्याएसम्म कृषकले त्यसलाई बिक्री गर्न नपाईने नियम छ ।

जिविस स्थानीय विकास कोषले गाविसमा गठन गरेको सामुदायिक महिला समुहमा आबद्ध महिलाहरुले अनुदानमा लिएको पाडी व्याएपछि दूध बिक्री गरेर आर्थिक अबस्था उकास्न कृषकलाई सहज भएको गाविस कार्यक्रम सहजकर्ता रोशनी कुंवरले बताइन् ।

भैंसीको रोगको उपचारका लागि कोषको छात्रबृत्ति अनुदानमा भुवन खडाले प्राविधिकको शिक्षा लिएपछि गाउँ मै पशु रोगको उपचार गर्ने जनशक्ति पनि भएकाले कृषक थप उत्साहित भएका हुन् ।