२९ आश्विन २०८३, बिहिबार

अमेरिकाबाट विश्वप्रकाशले भने–नेपालको संविधान मोदीले होइन, नेपाली जनताले बनाउने हो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vishwaparkash-shrmaविजय थापा

भर्जिनिया, १७ मंसिर । नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको भाषणको आलोचना गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति टेक्सास अधिवेसनमा सहभागी हुन आउनु भएका शर्माले डिसी महानगर क्षेत्रमा आयोजना गरिएको एक भेटघाट कार्यक्रममा सार्क सम्मेलनका बेला नेपालमा रहेका बेला मोदीले सहमतिकै माध्यमबाट संविधान निर्माण होस भनी गरेको सम्वोधनको आलोचना गर्नुभएको हो ।

‘संविधान नेपाली जनताले बनाउने हो । संविधान सहमतिबाट बनाउने या बहुमतबाट बनाउने त्यो हाम्रो आन्तरिक कुरो हो,’ शर्माले भन्नुभयो, ‘हाम्रो आन्तरिक कुरामा मोदीले चासो व्यक्त नगरेको भए राम्रो हुन्थ्यो ।’

शर्माले संविधान निर्धारित मितिमा जारी हुन्छ कि हुदैन भन्ने आम नेपालीको चासोको बिषय बनेको बताउनुभयो ।  ‘नेपाली काँग्रेस र नेकपा एमाले गणितका आधारमा संविधान जारी गर्न लागे भन्ने आलोचना भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘संविधान जस्तो सम्वेदनशील कुरालाई कसैले दम्भ देखाउँनु हुँदैन, सकेसम्म सबैको स्वामित्व हुनेगरी संविधान ल्याउनुपर्छ ।’

उहाँले आफु काँग्रेसको कार्यकर्ता भए पनि संविधान जस्तो सम्वेदनशील कुरालाई काँग्रेसको मात्र चस्मा लगाएर नहेर्ने बताउनुभयो । ‘देशको नागरिक भएर हेर्ने हो भने जल्ने संविधान होइन नेपाली जनतालाई चल्ने संविधान चाहिएको छ,’ उहाँले भन्नुभयो ।

‘संविधान निर्माण र राजनीतिक संस्कार निर्माण’ विषयमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसप्रति आस्थावान तथा बौद्धिक व्यक्तित्वहरुले शर्मासँग विभिन्न जिज्ञासा राख्नुभएको थियो भने उहाँहरुले शर्मालाई केही सल्लाह र सुझाब पनि दिनुभएको थियो ।

राजनैतिक संस्कार बारेमा उनीहरुले अमेरिकाको चुनाबमा पराजय भएका जन म्याकेनले ओबामालाई शुभकामना दिएको चर्चा समेत गरेका थिए । शर्माले पनि संविधानसभाको दोस्रो निर्वाचनमा आफु पराजित भएपछि पनि बिजयी हुने उम्मेदवारलाई सोही स्थानमा बोलाई बधाई दिएको स्मरण गराउनु भएको थियो ।

बीपी कोइरालाको स्मरण गर्दै बीपीले नेपालको प्रधानमन्त्री भएका बेला  डेढ बर्षमा गरेको काम त्यसपछिका कुनै पनि प्रधानमन्त्रीले  गर्न नसकेको समेत उहाँले दाबी गर्नुभयो । कार्यक्रम संयोजक कृष्ण भण्डारीले गर्नुभएको थियो भने दैलेखका हृदय शाहले एउटा राष्ट्रिय गीत गाउनु भएको थियो ।  कार्यक्रमको सभापति बरिष्ठ साहित्यकार  कृष्ण धरावासी रहनु भएको थियो ।