विजय थापा
भर्जिनिया । अमेरिकाको जनसम्पर्क समितिको अधिवेसनमा सहभागी भई नेपाल फर्किसक्नु भएका नेपाली काँग्रेसका उप सभापति रामचन्द्र पौडेलसँग केही दिन अघि अमेरिकामावासी नेपालीले एक अन्तरक्रियामा सहभागी हुने अवसर पाएका थिए ।
अन्तरक्रिया ‘नेपालमा संबिधान लेखन प्रक्रियामा के हामी सहि बाटोमा छौँ ?’ भन्ने विषय छनोट गरिएको थियो ।
अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका) ले संचार प्रणालीको माध्यमबाट आयोजनामा गरेको उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न व्यक्तिले आ–आफ्नै खालका जिज्ञासा राखेका थिए । गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले आगामी बन्ने संबिधानमा बिदेशमा बस्ने प्रवासीहरुको लागि नागरिकताको सवाल सहित माघ ८ मा संबिधान जारी हुन् असम्भव भए जनमत गराउने हो कि ? भनी जिज्ञासा राख्नु भएको थियो । पौडेलले सवाल जवाफमा छोटो प्रक्रियाका माध्यमबाट भए पनि निर्धारित मितिमा नयाँ संविधान जारी गर्न सकिने बताउनुभयो ।
उहाँले जनमत र जनताबाट नै सभासद भै जनताकै प्रतिनिधित्व गरेको हुनाले नेपाली जनतालाई निर्धारित समयमा नै संविधान दिनुपर्छ भन्नुभयो ।
उहाँले सहमतिकै माध्यमबाट मुलुकमा नयाँ संविधान जारी हुनुपर्छ भन्ने नेपाली काँग्रेसको स्पष्ट अवधारणा रहेको समेत स्पष्ट पार्नु भयो । नासाका जनसम्पर्क समितिका सभापति डा. नरकाजी गुरुङले हालै सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याका पछि नलाग्न र सहमतिकै माध्यमबाट संविधान जारी गर्न राखेको अभिव्यक्ति सम्बन्धि जिज्ञासा राख्नुभयो । त्यसको प्रतिउत्तरमा नेता पौडेलले भन्नुभयो, ‘काँग्रेस सहमतिको प्रयासबाट निकास निकाल्ने कुरामा विश्वास गर्छ, अझै पनि सहमतिकै माध्यमबाट नेपाली जनतालाई संविधान दिन सकिन्छ भन्नेमा म विश्वस्त छु ।’
कार्यक्रममा कतार ,क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट करिब दुई सय भन्दा बढी सहभागीहरु रहेका थिए ।
उक्त कार्यक्रममा संस्थाका सभापति डा. रामचन्द्र बरालले सहभागी तथा अतिथि नेपाली काँग्रेसका उप सभापति रामचन्द्र पौडेललाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पौडेलले गैर आवासीय नेपाली संघलाई अब बन्ने संबिधानमा बिशिष्ठ स्थान दिइने बताउनु भएको थियो ।














प्रतिक्रिया