१ कार्तिक २०८३, शनिबार

राज्यपुनर्संरचनाको जिम्मा विज्ञ टोलीलाई दिन एमालेको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final
काठमाडौं, १६ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्य पुनर्संरचनाको खाका तयार पार्न विज्ञहरूको आयोगलाई जिम्मा दिई माघ ८ मै संविधान जारी गर्न मधेस केन्द्रित दलका नेताहरूलाई प्रस्ताव गरेका छन्।

एमाले संसदीय दलमा आइतबार करिब तीन घन्टा चलेको बैठकमा ओलीले संघीय लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग संघीयताबारे तत्काल सहमति जुट्ने सम्भावना नरहेकाले खाकाको जिम्मा आयोगलाई छाडेर संविधान बनाउन उचित हुने प्रस्ताव गरे।

बैठकमा सहभागी एमाले मुख्य सचेतक अग्नि खरेलका अनुसार ओलीले संघीय राज्यको खाका तयार पार्ने जिम्मा आयोगलाई दिएर संघीयतासहितकै संविधान जारी गर्न सकिने प्रस्ताव गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

एमाले संघीयतासहितको संविधानकै पक्षमा छ, यसमा शंका गर्नु जरुरी छैनु, ओलीलाई उद्धृत गर्दै खरेलले भने।

ओलीले मधेस केन्द्रित नेताहरूलाई नयाँ संविधान जारी गर्नुअघि नै सरकारमा सहभागी हुन पनि आग्रह गरेका थिए। अहिले सहभागी हुन नसके संविधान जारी गरेपछि बन्ने सरकारमा सहभागी हुन उनले मधेसी नेताहरूलाई विकल्प दिएका थिए।

बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलगायत सहभागी थिए।

तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि पनि बैठकमा थिए।