जिल्लामा छँदा विभिन्न ठाउँबाट आएका हस्तलिखित समाचारहरु केरकार पारेर अक्मकाउँदै बाचन गरेको भर्खरै हो कि जस्तो लाग्छ । तर समय धेरै अघि बढिसकेछ । अनलाइन पत्रिकाहरुको बाक्लो उपस्थितिले मोफसलको पत्रकारितालाई निकै सहज बनाएको छ । उसो त राजधानीमा पनि अनलाइन पत्रिकाहरुलाई माथिको निर्भरता कायमै छ । केन्द्रमा अन्तराष्ट्रिय समाचाहरुका लागि सहज भएको छ अनलाइनले गर्दा । जिल्लामा राष्ट्रिय समाचारका लागि । यति मात्र होइन, विकटमा पनि सञ्चारको पहुँच बढ्दै गइरहेकाले पनि नेपाली पत्रकारितामा केही नयाँ आयामहरु थपिएका हुन् । अहिले देशका जुनसुकै ठाउँमा घटेका घटनाहरु छिनभरमै विश्वभर फैलन्छन् त्यो सञ्चार विकासकै कारणले सम्भव भएको हो । म जिल्लामा छँदा पत्रिकाका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु पूर्णरुपमा आफै टाइप गर्नुपथ्र्यो तर आजभोलि त्यस्तो अवस्थाको अन्त्य भएको छ । लेखकहरु स्वयम आफैले कम्प्युटर टाइप गरेर लेखहरु पठाउँछन् अनि सम्वाददाताहरु प्रायः सबैले इमेलकै माध्यमबाट समाचारहरु सम्प्रेषण गर्छन् । यसले सञ्चार माध्यमहरुलाई समाचार प्रकाशन÷प्रशारण गर्न पनि सहज भएको छ । यति मात्र होइन, टेलिभिजनका लागि आवश्यक पर्ने फुटेजहरु समेत अहिले इमेलकै माध्यमबाट केन्द्रसम्म पुर्याउन सकिएको छ, नेपाली पत्रकारिता जगतका लागि यो निकै खुसीको कुरा हो । समयक्रमसँगै जे जति विकासहरु भएका छन् नेपाली पत्रकारिता क्षेत्रमा उत्तिकै विकृति र विसंगतिहरु समेत भित्रिरहेका छन् । सञ्चारकर्मीले समयमा तलब नपाउनु र उनीहरुको सुरक्षा चुनौति बढ्दै जानु हाम्रा मुख्य चुनौति हुन तर यसबीचमा पनि हामी स्वयम आफैले पनि केही समस्याहरु जानेरै निम्ताइरहेका छौँ ।
राज्यको चौंथो अंगको रुपमा स्थापित नेपाली पत्रकारिता हामी पत्रकारहरुकै कारण अविश्वश्नीय बन्दै गइरहेको छ । यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । पत्रकारिताको अध्ययन अध्यापन गराउने समयमा र तालिमहरु दिने क्रममा विश्वका पत्रकारहरुले गरेका कमजोरीका बारेमा उदाहरण दिँदै फेरि तिनै कमजोरी हामीले दोहोर्याउँदै हिँडेका छौँ । त्यसले हामीलाइ नै समस्यामा पारेको छ । र, हाम्रै पत्रकारिता माथिको विश्वासनीयता गुमेको छ । हिजो हामीले अनुजा बानियाँको समाचार सम्प्रेषण गर्दा त्यसले समाजमा कस्तो प्रभाव पार्यो ? हामीले यसको मूल्याङ्कन गरेका छौँ ? कुन पत्रकारले समाचार सम्प्रेषण गर्यो र कुन पत्रिकाले समाचार छाप्यो भन्ने कुरा छोडौँ, जस्ले समाचार सम्प्रेषण गरेपनि त्यसले गर्दा हामी सबैको विश्वश्नीयता माथि प्रश्न उठ्यो कि उठेन भन्ने तर्फ सोचौँ एकपटक । अनि दिलशोभा प्रकरणबाट हामीले पाठ सिक्ने कि नसिक्ने ? अनुजा प्रकरणमा त्यति ठूलो अखवारले सोही प्रकरणसँग जोडिएका पुरुषोत्तम भन्ने पात्रको भनाइ कोड गर्न आवश्यक ठानेन । फलस्वरुप समाचार झुट्टा सावित भयो । अखवारले त माफी माग्यो, पाठकहरुसँग । तर राष्ट्रपतिले को सँग माफी माग्ने र के भनेर चित्त बुझाउने ? यसरी एउटा अखवारले हावादारी समाचार सम्प्रेषण गर्दा त्यसको असर राष्ट्रपतिले भोग्नु पर्यो र फेरि एकपटक नेपाली पत्रकारिता लज्जित हुनुपर्यो, यसबाट हामीले कहिले पाठ सिक्छौँ ? अनि अब हामी परिपक्व भयौँ भन्छौं ?
हामीले सम्पे्रषण गरेको सूचनाले पाठकलाई भ्रममा पार्नु हुँदैन । जुन सूचना सम्प्रेषण गरिएको छ, त्यो हरेक कोणबाट स्पष्ट हुनुपर्छ र पत्याउने आधार त्यसभित्र हुनुपर्छ । यसको उदाहरण अनुजा प्रकरणनै काफी हुन्छ । हामीले सनसनीपूर्ण समाचार पस्कने नाममा अरुको जीवन बर्बाद त पारेका छैनौ । यसतर्फ हामीले गम्भीरतापूर्वक सोच्न जरुरी छ अव । दिलशोभाले अदालतबाट त सफाई पाइन । के उनले सामाजिक रुपमा पनि सफाई पाएकी छिन त ? मुख्य प्रश्न यो हो, हाम्रो पत्रकारितालाई अहिले । निश्चयपनि हामीले लेखेको समाचारका कारण दिलशोभाको इज्जत माथि लागेको धब्बा आजीवन मेटिने छैन, त्यसैले हामी यस्ता संवेदनशिल विषयमा सचेततापूर्वक कलम चलाउनुपर्छ । केही दिन अघि पत्रकार प्रेम बानियाँको विषयमा काठमाडौँको एक पत्रिकाले लेखेको समाचारले अहिले समाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ । पत्रकार प्रेम बानियाँले चितवनका प्रहरी प्रमुख एसपी सहकुल थापाको फुली थुते भनेर सम्प्रेषण गरिएको समाचारले बजार तताएको छ । नेपाली टेलिभिजन पत्रकारिताको क्षेत्रमा एकछत्र राज गरिरहेका चर्चित पत्रकारको बारेमा आएको समाचारले उनका शुभचिन्तकहरुलाई त दुःखी तुल्याएको छ नै, त्योसंगै नेपाली पत्रकारितालाई नै ठेस पुगेको छ । चितवनका प्रहरी प्रमुख एसपी थापा स्वयमले प्रेमले आफ्नो फुली थुतेको भनेर प्रकाशित समाचार हावादारी र हचुवाका भरमा आएको र त्यसमा कुनै सत्यता नभएको भनि समाचारको खण्डन गरिसकेको अवस्थामा बानियाँले त्यस्तो गरे कि गरेनन् ? भनेर उठेको प्रश्न त स्वतः स्खलित भएको छ । तर बानियाँको सार्वजनिक छवि माथि पुगेको क्षतिको मापन कस्ले गर्छ ?
समाचार सम्प्रेषण गर्दा घटनासँग जोडिएका दुवैपक्षको भनाइ कोड गर्नुपर्ने पत्रकारिताको सामान्य मूल्य र मान्यतालाई लत्याउँदै जसरी बानियाँलाई एकपक्षिय रुपमा प्रहार गर्ने दुष्प्रयास भएको छ, यसको गहन रुपमा छानविन गरेर सम्बन्धित निकायलाई कार्बाही गर्नुपर्छ । पत्रिकाले कस्तो समाचार छापेको थियो त्यो सबै त मैले हेर्न पाएको छैन । तर फेसबुकका टाइमलाइन र केही अनलाइनहरुले पत्रिकाको समाचार नै हुबहु साभार गरेका हुन भने त्यो समाचार, पूर्ण रुपमा एकपक्षिय र नियतबश व्यक्ति माथि प्रहार गर्ने किसिमले लेखिएको र छापिएको छ । मानौ, प्रेम बानियाँले एसपी थापाको फुली थुतेकै हुन । त्यसो भए के त्यो समाचार सम्प्रेषण गर्दा फुली थुतिएका एसपीको भनाई कोड गर्न आवश्यक थिएन ? समाचारमा एसपी थापाको भनाई कोड नगर्नुले पनि समाचार प्रेमलाई प्रहार गर्नका लागि नियमबश लेखिएको हो भन्ने स्पष्ट हुन्थ्यो । झन् एसपी थापाले नै समाचारको खण्डन गरेपछि त समाचार सही थियो भन्ने आधार स्वतः समाप्त भएको छ । यसले पनि नेपाली पत्रकारितामा अविश्वश्नीयताको पर्खाल खडा गरिदिएको छ । कुनै हिरोइनको नांगो फोटो छापेर अनि अनि कुनै पत्रकारको श्रीमती पोइला गई भनेर हावादारी अफवाह फैलाएर हामीलाई के उपलब्धि दिलाएको छ ? के व्यक्तिको व्यक्तिगत जीवन माथि खेल्ने अधिकार नेपालका सञ्चार माध्यम र हामी सञ्चारकर्मीहरुलाई छ ? होइन भने त्यस्तै विगत किन दोहोरिरहेको छ हामीकहाँ ? कुनै पनि सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्यो भने आवश्यक पर्दा त्यसको प्रमाण देखाउन पर्छ कि पर्दैन ? यस्ता विषयहरु सरकार र प्रेस काउन्सिलले हेर्नुपर्छ । र नियतबश व्यक्तिमाथि प्रहार गर्ने यस्ता पत्रिकाहरु कार्वाहीको भागीदार हुनुपर्छ । जति संघर्ष गरेपनि प्रेम बानियाँको उचाई भेट्ने सम्भावना नदेखेपछि उनकै सहकर्मीहरुले नियतबश उनी माथि प्रहार गर्न खोजेका हुन भन्ने मेरो बुझाइ एसपी थापाको खण्डन पछि थप बलियो बनेको छ । अझ सबैभन्दा रोचक पक्ष त त्यस कार्यक्रममा एसपीले युनिफर्म नै लगाएका थिएनन् । युनिफर्म नै नलगाएपछि फुली चाँहि कसरी थुतिन्छ ?
जतिबेला काठमाडौँको पत्रिकामा प्रेम बानियाँको समाचार प्रकाशित भयो, त्यसलाई खुव महत्व दिएर केही अनलाइनहरुले साभार गरे । उनीहरुले पनि त्यो समाचारमा प्रेम बानियाँ र एसपी थापाको भनाई कोड गर्नुपर्छ भन्ने सोचेनन्, सम्झेनन् । केवल साभार मात्र गरिरहे । के हामीलाई नयाँ टेक्नोलोजीले सिकाएको त्यहि ‘कपि पेष्ट’ मात्रै हो ? अव पत्रकार प्रेम बानियाँ आफ्ना विषयमा आएको समाचार भ्रमपूर्ण र चरित्रहत्या गर्ने नियोजित षड्यन्त्र भएको भन्दै आफूले कानूनी उपचार खोज्ने बताएका छन् । यदि बानियाँ कानूनको साहारा लिन अदालत गए भने ती अनलाइनहरुलाई कानून लाग्छ कि लाग्दैन ? मलाई अचम्म लागेको छ ।
जिम्मेवार पत्रकारिता गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीहरुले गल्तीहरु सच्चाउँदै अघि बढ्छन् र गैरजिम्मेवार पत्रकारिता गर्नेहरुले तिनै गल्तीहरुलाई सही सावित गर्न निरन्तर अरु गल्तीहरु गरिरहन्छन् । त्यसैले यस्ता विषयमा पाठकहरु समेत सचेत हुनुपर्छ ।
अन्तमाः हाम्रो पत्रकारितालाई व्यवस्थित र थप मर्यादित गराउनका लागि व्यक्तिको चरित्र हत्या गर्ने ढङ्गका समाचार सम्प्रेषण गर्नु हुँदैन । र, त्यसरी समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमहरु माथि कानुनी प्रतिबन्ध लगाइनुपर्छ । पत्याउने आधार नै नभएका समाचार सम्प्रेषण गरेर व्यक्तिको सामाजि प्रतिष्ठा माथि खेलवाड गर्ने पत्रिकाले पत्रकारिताको मर्म बुझ्न सक्दैन भन्ने मेरो बुझाइका कारण यस्ता पत्रिकाहरु कानुनी दायरामा आउनुपर्छ भनेको हुँ । मुलुकमा कुनै पनि पत्रकार वा सञ्चार माध्यम कानुन भन्दा माथि छैन । सबैलाई कानून लाग्छ । यी विषयमा पत्रकार महासंघ कहिले गम्भीर हुन्छ ? जे पायो त्यही समाचार सम्प्रेषण गर्ने अधिकार कसैलाई छैन । न त साभार गर्ने अधिकार नै । समाचारमा आफ्नो स्वामित्व नै राख्न नसक्ने अनलाइनहरु पनि विकृति र विसंगतिका प्रतिक हुन । त्यसैले त्यस्ता अनलाइनहरुप्रति कडा नीति अख्तियार गर्नुपर्छ । र, पत्रकार प्रेम बानियाँका विषयमा आएको समाचार माथि छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्छ । अन्यथा, यस्ता समाचारले एकातिर व्यक्तिको सामाजिक छवि धरासायी गराउनेछ भने अर्कोतिर पत्रकारिताको विश्वश्नीयता धरापमा पार्ने छ ।














प्रतिक्रिया