मेलबर्न (अस्ट्रेलिया) । नेपाल पब्लिक लिंकको आयोजनामा नेपालका मुटु रोगीहरुको सहयोगार्थ मेलबर्नमा आयोजना गरिएको साँगितिक ‘स्पन्दन साँझ’ कार्यक्रममा विश्वमै पहिलो पटक मृत मुटुलाई पुनः चलायमान बनाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेर औषधी बिज्ञानमा नयाँँ चर्चा कमाएका डा. कुमुद धिताललाई सम्मान गरिएको छ ।
उक्त सम्मान कायक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम रुद्र कुमार नेपालले प्रमाणपत्र र मायाको चिनो प्रदान भएको थियो ।
कार्यक्रममा लोक गायक पशुपति शर्मा, सुनिता दुलाल, नायिका एबं मोडल केकी अधिकारी, सिड्नीबाट आउनु भएकी उषा बारिया पोखरेल र स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै राजदूत नेपालले नेपाली भएर स्वास्थ्य बिज्ञानमा नयाँँ इतिहास रच्ने काम गरी डा. धितालले नेपाली र नेपालको इज्जत विश्वसामु चिनाएको बताउनु भयो । मन्तब्य दिने क्रममा डा कुमुद धितालले आफ्ना पिताश्रीले बिदेशमा गैसकेपछि बिदेशी भन्दा असल बन्न सके मात्रै बिदेश बस्नु भन्ने भनाइले आफूलाई यहाँसम्म पु¥याउन प्रेरणा दिएको बताउनुभयो ।
कलाकारको गीतमा केटाकेटीहरुदेखि बुढाबुढीसम्म मात्रै नभएर डा धिताल र राजदुत नेपालले समेत नाचेर साथ दिनु भएको थियो ।
कार्यक्रममा अस्ट्रेलिया नेपाल पब्लिक लिंकका अध्यक्ष भरत नेपालले परियोजनाबारे बिस्तृत जानकारी दिने क्रममा काठमाडौंमा जनचेतनामूलक लाइफस्टाइल मोडिफिकेशन क्लिनिक खोलिने जानकारी दिनु भयो ।
अस्ट्रेलिया नेपाल पब्लिक लिंक मेलबर्नका अध्यक्ष डा. चन्द्र दिपक पोखरेलले आयोजकका तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन निराजन गौलीले गर्नुभएको थियो ।













प्रतिक्रिया