काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी आफ्नै व्यस्तताले सार्क शिखर सम्मेलनका बेला नेपालका धार्मिकस्थलहरू जान नभ्याउनुभएको बताउनुभएको छ ।
भारतको ‘नेसनल सेक्युरिटी एडभाइजरी बोर्ड’ का सदस्य जयदेव रानादेले नेपालमा बढ्दो चनियाँ प्रभावका कारण मोदीको लुम्बिनी भ्रमण हुन नसकेको हो आरोपसहितको लेख प्रकाशित गरेपछि प्रधानमन्त्री कोइरालाको यस्तो भनाई आएको हो ।
रानादेले हालै एक लेख प्रकाशित गरी मोदीको भ्रमण स्थगित हुनुमा नेपालका केही राजनीतिक पार्टीको बिरोध पनि कारक रहेको दावी गरेका थिए ।
उनका यस्ता भनाइृहरुलाई खण्डन गर्दै प्रधानमन्त्रीले भन्नुभयो–ती स्थलका भ्रमणबारे मैले उहाँ (भारतीय प्रधानमन्त्री मोदी)सँग टेलिफोन संवाद गरेको थिएँ । मसँग उहाँले ‘यसपटक बढी व्यस्तताका कारण सकिनँ, अवसर मिलाएर ती स्थलको भ्रमण चाँडै गर्नेछु’ भन्नुभयो ।
भारतीय प्रधानमन्त्रीले जनकपुर, लुम्वनी र मुक्तिनाथ क्षेत्रको भ्रमण गर्ने भन्दै नेपाल सरकारले त्यसका लागि तयारी समेत गरेको थियो ।
सार्क सम्मेलनको समग्र पक्षमाथि समीक्षा गर्न सोमबार सिंहदरबारमा डाकिएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भारतीय प्रम आफ्नै कारणले ती स्थलमा जान नभ्याउनुभएको हो, यहाँ (नेपाल)को कारणले होइन भन्नुभयो ।
‘हामीले त भारतीय प्रधानमन्त्री मोदीको ती क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम तय भएपछि आवश्यक सबै तयारी पूरा गरेका थियौँ, पछि मैले संवाद गर्दा उहाँले यसपटक जान भ्याइनँ भन्ने जवाफ पाएँ,’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
















प्रतिक्रिया