काठमाडौ, १५ मंसिर । विगत तीन वर्षदेखि महत्वपूर्ण छिमेकी मुलुक भारत र सात महिनादेखि श्रीलंकामा राजदूत नभएको विषयमा सार्कको अनौपचारिक छलफलमा कार्यकारी प्रमुखहरूबीच चिन्ता र चासो बनेको जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिएका छन् ।
नेपालको निम्ती यो स्वभाविक र सहज कूटनीति होइन । साइडलाइन तथा रिट्रिटमा सबै सदस्य मुलुकले काठमाडौंलाई सार्कको राजधानीका रूपमा जोड्ने विषयमा छलफल गर्ने क्रममा यसमा चासो व्यक्त भएको हो ।
सार्क मुलुकमध्ये नेपालको भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमा राजदूतवास छ ।
तर, भारतमा तीन बर्ष र श्रीलंकामा सात महिनादेखि राजदूत विहीन रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
अन्य सदस्य मुलुक माल्दिभ्स, भुटान र अफगानिस्तानमा अनुकुलता हेरेर नेपालले दूतावास स्थापना गर्ने बताउदै आएको छ ।
अन्य सदस्य मुलुकले पनि काठमाडौंमा दूतावास स्थापना गर्दै यसलाई सार्कको राजधानीका रूपमा जोडने बताएका छन् ।
काठमाडौंमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको दुतावास छ, अरूको छैन ।
शिखर सम्मेलनमा भाग लिन आएका कार्यकारी प्रमुखहरुले दुईपक्षीय सम्वन्ध विस्तारमा राजदूतको भूमिका महत्वपूर्ण हुने भन्दै दूतावासमार्फत् नै धेरै कुरा गर्न सकिने भन्दै यसमा जोड दिएका हुन् ।
दुईपक्षीय भेटघाट तथा रिट्रिटका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घुमाउरो शैलीमा भारतमा नेपालको राजदूत नियुक्ति हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनलाई उद्धृत गर्दै सहभागी एक अधिकारीले भने, ‘दुई पक्षीय सहमति र सम्झौता कार्यान्वयनका लागि पहल गर्न राजदूतको भूमिका महत्वपूर्ण रहन्छ, मित्र मुलुकले यसमा ख्याल गर्ने मेरो विश्वास छ ।’
सरकारले भारतमा मात्र होइन अन्य १४ मुलुकमा लामो समयदेखि राजदूत नियुक्त गर्न सकेको छैन ।
खाली राखेको अवस्थामा यस्तो सुझाव समकक्षीहरुबाट आउनु आफैमा कूटनीतिक लज्जा भएको परराष्ट्रका वरिष्ठ अधिकारीले उल्लेख गरे ।
खाली रहका १६ मध्ये सरकारले ६ मुलुकमा राजदूत नियुक्तिको सिफारिस गरेकामा जेनेभामा नियुक्त भएर जिम्मेवारी सम्हालिसकेका छन् भने अन्य पाँचको एग्रिमो आउने प्रक्रियामा छ ।
छिमेकी र महत्वपूर्ण मुलुकहरुमा भने सरकारले राजदूत नियुक्त गर्न सकेको छैन ।
राजनीतिक दलहरुबाट नै राजदूत नियुक्त गर्ने भनिए पनि भागबण्डा नमिलेर ढिलाइ भएको हो ।
अन्य मुलुकमा राजदूतको मापदण्ड हुन्छ ।
राजदूत र्फकनु छ महिनाअघि नै गरेर उसैले आफ्नो सक्सेसको परिचय गराउने र र्फकने चलन हुन्छ । आउने र जानेको अन्तर बढिमा एक साताको हुन्छ ।















प्रतिक्रिया