काठमाडौं, १४ मंसिर । वरिपरि वनमाराको बाक्लो झाङ । झाङभित्र एउटा सानो ओडार ।
त्यही ओडारमा गोपाल परियारले विगत ६ वर्षदेखि रात बिताउँदै आएका छन् ।
दिनभरि अर्काको मजदुरी गर्ने गोपालले रात बिताउन हरेक दिन सोही ओडारको सहारा लिने गरेका छन् ।
सलाङ–५निबुवाटारमा रहेको सो ओडार गोपालको आश्रय स्थल बनेको छ ।
गोपाललाई रात बिताउन त्यही ओडारै प्यारो लाग्छ । ‘भन्न त काम गरेको ठाउँमा बस्न भन्छन् । तर चाडै उठ्नुपर्छ । उनीहरुले हल्लीखल्ली गर्दा निद्रा पर्दैन ,’ उनी भन्छन्,‘दिनभरि काम गरेकाले ज्यान दुखेको हुन्छ । त्यही भएर ओडारमा आयो मस्त सुत्यो ।’
५७ वर्षीय गोपाल खाना भने काम गरेको घरमै खान्छन् ।
दिनभरि काम गरेबापत चार सय रुपैयाँ उनको कमाई रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
काम नगरेको दिन त्यही पैसाले खान्छन् ।
गोपाल पहिला हुनेखाने नै थिए । गाउँमा उनको जग्गा, जमिन र घरसमेत थियो ।
आफ्नो बाबुको मृत्युपछि परिवारमा आफू मात्र रहेकाले काकाबाले सम्पत्ति लुटेको उनको आरोप छ । उनले काकासँग मुद्दा लडेर दुई रोपनी जग्गा पनि पाएका थिए ।
उनले सो जग्गामध्ये एक रोपनी स्थानीय पञ्चमुखी प्रावि हालको माविलाई २०३७ तिरै दान गरे ।
बाँकी जग्गा साहुले हडपेको उनले बताए । गोपालले जग्गा दान गरेको सो विद्यालयका प्रधानाध्यापक डिल्ली पाठकले समेत बताए ।















प्रतिक्रिया