३० आश्विन २०८३, शुक्रबार

के भन्छन् सञ्चारमाध्यम र्साकलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनको उद्घाटन सत्रको समाचारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अत्यन्तै महत्वका साथ प्रकाशन प्रसारण गरेका छन् ।

दक्षिण एसियाली मुलुकहरूको साझा मञ्चको रुपमा लिइएको सार्कको गतिविधि तथा त्यसले लिने निर्णयलाई यस क्षेत्रले मात्रै होइन र अन्तर्राष्ट्रिय समुदायले समेत महत्वका साथ हेर्ने गरेका छन् ।

नेपालले सार्क सदस्यको रुपमा सम्मेलनको आयोजना गरेको यो तेस्रो पटक हो । सम्मेलनको तयारीदेखि उद्घाटसत्रसम्म आइपुग्दा समाचार प्रकाशन र प्रसारणमा फरक–फरक कोणबाट सञ्चार सामग्री प्रस्तुत गरिएको पाइएको छ ।

सम्मेलनको समाचार सङ्कलनका लागि स्वदेशी तथा विदेशी गरी कुल एक हजारभन्दा बढी सञ्चारकर्मी परिचालन भएका थिए । सूचना विभाग र नेपाल प्रहरीको तर्फबाट फरक–फरक प्रवेश अनुमतिपत्रको व्यवस्था गरिएको थियो ।

राजधानीबाट आज प्रकाशित भएका प्रमुख राष्ट्रिय दैनिकले सार्क सम्मेलनको उद्घाटन सत्रको समाचारलाई प्रमुख प्राथमिकताका साथ छापेका छन् ।

उद्घाटनसत्रमा यस क्षेत्रका राष्ट्राध्यक्ष सरकार प्रमुखले दिनुभएको मन्तव्यलाई विशेष महत्वका साथ छापेका दैनिक पत्रिकाले भारत–पाक सम्बन्धलाई समेत प्रमुख स्थान दिएका छन् ।

कान्तिपुर, नागरिक, गोरखापत्र, नयाँ पत्रिका, राजधानी, कारोबार, आर्थिक अभियान, दि राइजिङ नेपाल, काठमाडौँ पोस्ट र रिपब्लिका दैनिकले सार्क सम्मेलनको उद्घाटनसत्रको समाचारलाई प्राथमिकता दिएका छन् ।

त्यसमा कान्तिपुर दैनिकले ‘आतङ्कवाद शून्य पार्ने प्रतिबद्धता’ शीर्षकको ब्यानर समाचार छापेको छ भने ‘भारत–पाक तिक्तता’ ‘सदस्य बन्न चाहन्छौँ– चीन’ भनेर पर्यवेक्षक राष्ट्रका प्रतिनिधिले सम्मेलनका क्रममा व्यक्त गर्नुभएको विचारलाई समाचार सामग्री बनाएको छ ।

यस्तै ‘सार्कका लोकसत्ताको खोजी’ शीर्षकको चन्द्रकिशोरको लेख र सम्पादकीयमा ‘मोदीका राजनीतिक सुझाव’ र सार्क जमघटमा जे देखियो भनेर तस्बिर छापेको छ । सो दैनिकले यही मङ्सिर ९ गते भारत–पाक वार्ता हुने, शिखर सम्मेलनको पूर्वाभ्यास, ‘सार्क पुनःगठन यसकारण’ शीर्षकको लेखनाथ पौडेल र भयग्रस्त मनोविज्ञान शीर्षकको राजेन्द्र थापाको अर्को लेख छापेको थियो ।

नयाँ पत्रिका दैनिकले ‘अरुको भाषण मोदीको आश्वासन’ शीर्षकको ब्यानर समाचार छापेको छ भने अन्नपूर्ण दैनिकले ‘आतङ्कवादप्रति आक्रोश’ शीर्षक दिएर युवराज घिमिरेको मुख्य समाचार छापेको छ ।

गोरखापत्र दैनिकले ‘१८ औँ सार्क शिखर सम्मेलन उद्घाटन, सामूहिक प्रयास र सहकार्यको प्रतिबद्धता’ शीर्षकसहित ब्यानर समाचार छापेको छ भने नागरिक दैनिकले ‘सहकार्यले मात्र शान्ति र समृद्धि–सार्क नेता’ शीर्षकमा पूरा पेजको सार्क सम्मेलनको उद्घाटन सत्रको समाचारलाई प्रमुखताका साथ छापेको छ ।

राजधानी दैनिकले ‘गरिबी, आतङ्कवाद र गरिबी निवारणका साझा मुद्दा’ आर्थिक अभियान दैनिकले ‘आर्थिक मुद्दामा केन्द्रित सार्क’, दि राइजिङ नेपाल, काठमाडौँ पोस्ट र रिपब्लिका दैनिक’ ले ‘सार्क सम्मेदन सुरु’ सम्बन्धी समाचारलाई ब्यानर बनाएका छन् भने भारत र पाकिस्तानका प्रधानमन्त्रीले सम्मेलनस्थलमा एक अर्कालाई वास्ता नगरेको र हात नमिलाएको समाचारलाई ‘भारत–पाक तनाव जारी’को अर्को समाचार पनिसँगै छापेका छन् ।

यस्तै, अधिकांश सञ्चारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिनचर्या र भेटघाटलाई समाचार बनाएका छन् । यस्तै मोदीको सामाजिक सञ्जालमा हरेक पलका गतिविधि समेटिएको विषयलाई समेत समाचारमा राखिएको छ ।

त्यसैगरी, कान्तिपुर दैनिकले ‘भारत–पाक तिक्तता’ शीर्षकको समाचारमा भारतीय प्रधानमन्त्री मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको दुई फरक मुद्राका तस्बिरसहितको समाचार छापेको छ भने ‘हेराहेर पनि गरेनन् सरिफ–मोदी’, ‘सम्मेलनमा देखियो भारत–पाक चिसोपना’, राजधानी दैनिकले ‘भारत–पाक तनावले रोकियो कनेक्टिभिटी सम्झौता’ भन्दै दुई मुलुकको तनावलाई प्राथमिकता दिएका छन् । कमाण्डर पोस्ट दैनिकले भने ‘सार्क सम्मेलन सुरु र सम्पर्क सञ्जाल निर्माणमा पाकिस्तानको अवरोध’ शीर्षकको समाचारलाई ब्यानर बनाएको छ ।

त्यसैगरी, प्रमुख राष्ट्रिय दैनिकले सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष सरकार प्रमुखले उद्घाटन सत्रमा दिनुभएको मन्तव्यलाई पनि प्रमुखताका साथ स्थान दिएका छन् ।

राष्ट्रिय समाचार समितिले सम्प्रेषण गरेको प्रधानमन्त्री सुशील कोइरालाको मन्तव्य गोरखापत्र, आर्थिक अभियान, कमाण्डर पोस्ट र कारोबार दैनिकले छापेका छन् ।

अधिकांश दैनिकले सार्क शिखर सम्मेलनको उद्घाटन सत्रको समाचारको तस्बिरलाई पनि उत्तिकै महत्वपूर्णका साथ समावेश गरेका छन् । ‘जल्दो फगुर्सन र मोदीको सल्लाह’ झलक सुवेदी र ‘सार्क सम्मेलन र दलित आन्दोलन’ रणेन्द्र बराइलीको विचारलाई नयाँ पत्रिका दैनिकले विचार स्तम्भमा समावेश गरेको छ ।

‘सार्कमा चीनको उपस्थिति’ बारे दीपक गजुरेलको, ‘जनसार्कको प्रभाव र औचित्य’ बारे डा बद्री विशाल पोखरेलको, ‘मोदी अभ्युदयपछि सार्क’ बारे हरि अधिकारीको र ‘सार्क सहयोगका योग’ बारे तेजेश्वरबाबु ग्वंगको लेखलाई अन्नपूर्ण दैनिकले विचार स्तम्भमा समावेश गरेको छ ।

गोरखापत्र दैनिकमा ‘सार्कको भविष्यबारे सकारात्मक सोच’ शीर्षकको सम्पादकीय लेखेको छ र काठमाडौँ पोस्टले पनि यसै विषयमा सम्पादकीय छापेको छ । नागरिक दैनिकमा राजेन्द्र थापा र हरिमान लामाको विचार समावेश गरेको छ ।

गोरखापत्र र दि राइजिङ नेपाल दैनिकले बिहीबारको अङ्कमा सम्मेलन विशेषाङ्क नै प्रकाशित गरेको थियो । रिपब्लिका र कमाण्डर पोस्टले आज सार्क विशेषाङ्क भनेर सार्कका गतिविधिलाई समावेश गरेको छ ।

यस्तै अनलाइन न्युज पोर्टल साइट अनलाइन खबर, रातो पार्टी, सेतो पाटी, हाम्रा कुरा डट कमलगायतले राष्ट्रिय समाचार समितिले सम्प्रेषित गरेका समाचार र तस्बिरलाई जस्ताको त्यस्तै सम्प्रेषण गरेका थिए ।

नेपाल टेलिभिजनले सार्क सम्मेलनको उद्घाटन सत्रदेखिका गतिविधिलाई प्रत्यक्ष प्रसारण गरेको थियो भने निजी क्षेत्रका प्रसारण संस्था एभिन्युज, इमेज, न्युज २४, हिमालय, माउन्टेनलगायतले पनि भरपूर रुपमा सार्क समाचारलाई स्थान प्रदान गरेका थिए । यस्तै भारतीय प्रसारण माध्यम आज तक, एबिपी, दूरदर्शन, इन्डिया न्युजलगायतले प्रत्येक पलमा सार्क सम्मेलनका गतिविधिलाई समावेश गरेका थिए ।

नेपालका सञ्चारमाध्यमले भारतीय प्रमको समाचारलाई प्राथमिकता दिएजस्तै भारतीय सञ्चारमाध्यमले भने भारत– पाकबारेको समाचारलाई प्रमुखताका साथ प्रसारण गरेका छन् । पाकिस्तानको अवरोधका कारण सार्क सम्मेलनमा कुनै पनि सम्झौता हुन सकेन भन्ने आशयका समाचार र प्रधानमन्त्री मोदीको मन्तव्यलाई उनीहरूलाई समावेश गरेका छन् ।

हिन्दू, इन्डियन एक्सप्रेस, टाइम्स अफ इन्डिया, दि एसियन एजलगायतका भारतीय छापा माध्यमले दुई देशबीचको सम्बन्धलाई नै प्रमुख स्थान दिएका छन् । धेरै सञ्चारमाध्यमले सार्क सम्मेलनको समाचारलाई प्रमुख स्थान दिए पनि भाषागत शुद्धता र प्रस्तुतिको गहनलाई भने पूर्णरुपमा आत्मसात् गर्न नसकेको पाइएको छ ।