कुनै सरकारी कार्यालयमा काम लिएर गयो भने यो वा त्यो पुगेन भनेर सरकारी कामकाजलाई अनावश्यक झण्झटिलो बनाइएका उदाहरणहरु नेपालमा मैले प्रशस्तै देखेको र भोगेको छु । नागरिक आफ्नो कामका लागि आवश्यक सम्पूर्ण कागजपत्रहरु बोकेर सरकारी कार्यालयमा पुग्दा पनि त्यहाँ कुनै न कुनै बाहना बनाइन्छ । सरकारी कर्मचारीहरुले सर्वसाधरणहरुप्रति आफू खुबै ठूलो मान्छे हुँ र मैले चाहेँ भने जे पनि गर्न सक्छु भन्ने रवैया देखाउनका लागि नियतबश काम रोक्ने र ढिलाई गर्ने परम्परा हामीकहाँ अझै पनि व्याप्त छ, जसले नागरिकले सहज रुपमा सरकारी सेवा पाउन सकिरहेका छैनन । अरु त अरु सरकारी अस्पतालमा डाक्टरले विरामीप्रति समेत रुखो व्यवहार गर्छन, जसले गर्दा बिरामी अस्पताल जानु भन्दा घरमै बस्न बेश ठानेको मैले पाएको छु । नेपालमा जे जति सरकारी कर्मचारीहरु छन् ती सबैले जनताले तिरेको करबाट तलव खाएर जनताको काम गर्नका लागि नियुक्त गरिएका हुन, त्यो सबैले बुझेका छन् । तैपनि नेपालका प्रायः कर्मचारी अनुशासित छैनन् जसको मार सामान्य नागरिकले खेप्नु परिरहेको छ ।
काम लिएर आफ्नो कार्यालयमा आएको सेवाग्राहीलाई तँ वा तिमी भन्ने अधिकार कुन तहको कर्मचारीलाई छ नेपालमा ? अनि तेरो वा तिम्रो काम गर्दिन भन्ने अधिकार कुन कर्मचारीलाई दिएको छ कानुनले ? मलाई आजभोली यस्ता प्रश्नको उत्तर खोज्न मन लागेको छ । परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभागका तीता–मिठा दुवै अनुभवहरु संगालेको छु, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका दृश्यहरु मेरो मनसपटलमा अहिले पनि सुरक्षित छन्, अनि जिल्लाका सरकारी कार्यालयमा हुने हरेक गतिबिधिको साक्षी बनेको छु र यो संगै केही विकसित देशका सरकारी कर्मचारीहरुको काम गर्ने शैलीलाई नजिकबाट हेरिरहेको छु । त्यसैले सबैभन्दा पहिला सरकारी कर्मचारीहरुलाई अनुशासन सिकाउनु पर्छ भन्ने धारणा तय गर्न बाध्य भएको हुँ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कर्मचारी र जनपथ प्रहरीले समेत सेवाग्राहीलाई गर्ने व्यहार सुधार्नु पर्ने अबको आवश्यकता बन्नेछ । गत अप्रिल ७ तारिख राती म जापान आउनका लागि जब काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा प्रवेश गरेँ, त्यसदिन देखिनै कर्मचारीलाई सवक सिकाउनु पर्छ भन्ने लागेको हो ।
सुरुवात विमानस्थलबाट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भनेको विश्वभरका मानिसहरु नेपाल भित्रने एउटै मात्र नाका हो । कम्तीमा त्यहाँ काम गर्ने वा काम गरेका कर्मचारीले विदेशी संस्कार समेत सिकेका र बुझेका होलान भन्ने मेरो बुझाइ थियो । तर, त्यहाँ कर्मचारीको व्यवहार देख्दा मलाई लाग्यो, हाम्रा जस्ता अनुशासनहिन कर्मचारी दुनियामा कहीँ छैनन् । विमानस्थलमा रहेका सुरक्षाकर्मीको काम यात्रुले कुनै गैरकानुनी सरसामान बोकेको छ कि छैन भनेर हो भने अध्यागमनका कर्मचारीको काम यात्रुको कागजपत्रहरु पुगेको छ कि छैन भनेर हेर्ने हो । हामी थुप्रै नेपालीहरु लामबद्ध थियौँ बिमानस्थलमा । त्यहाँ वर्किङ, भिजिट र स्टुडेन्ट भिषामा विदेश जान थालेकाहरु धेरै थिए । हामी स्टुडेन्ट भिषा भएकाहरुको लाइनमा लामबद्ध थियौँ, आडैमा वर्किङ भिषामा विदेश जानेहरु थिए । वर्किङ भिषामा विदेश जान लागेकाहरु धेरैजसो खाडी मुलुक हिँडेका थिए । म लाइनमै उभिएको थिएँ, यत्तिकैमा एउटा आवाज आयो ‘फर्म भर्न नि जान्दैनस् ? मैले त्यही आवाजलाई पछ्याएँ । झण्डै १ घण्टा जति लाइनमा बस्दा त्यस्ता थुप्रै शब्दहरु मेरो कानमा ठोकिए र मेरा आँखाले त्यहाँ भित्रका उदेगलाग्दा दृश्यहरु प्राकृतिक मेमोरीमा क्याप्चर गरिरहे ।
अव भने म अघि बढेँ, किनकी मेरो पालो आइसकेको थियो । अध्यागमन विभागका कर्मचारीले मलाई प्रश्न गरे– कहाँ जान लागेको भाई तिमी ?
मैले जवाफ दिएँ– जापान ।
ती कर्मचारीले फेरि प्रश्न सोधे– किन जान लागेको ?
‘पढ्न !’ मेरो छोटो उत्तर ।
फेरि कर्मचारी –के पढ्छौ भाई ?
अव भने म उनलाई उत्तर दिन आवश्यक ठानिन । ती कर्मचारीको प्रश्न सोधाईमा खुव अहमता थियो अनि घमण्ड पनि । सायद उनले सोचेका होलान म जस्तो ठूलो कोही छैन । प्रश्न सोध्ने पनि तरिका हुन्छ, उनको ठाडो शैलीले मेरो पारो तातिसकेको थियो । तर, त्यहाँ मैले उनीसँग कुनै वादविवाद गर्न चाहिन । तर, मेरो मनमा अहिले पनि तिनै दृश्यले पोलिरहन्छ । सेवाग्राहीलाई ‘तँ’ भन्ने अधिकार कुन कानुनले सरकारी कर्मचारीलाई दिएको छ ? अनि सरकारी कार्यालयमा सेवा लिन जाने मान्छे कर्मचारीको दाई–भाई हो ? सम्बोधन गर्ने अरु शब्द छैन ? अनि सेवाग्राहीलाई ‘तपाईँ’ भनेर आदरार्थी शब्द प्रयोग गर्दा के हुन्छ ?
राहदानी विभाग
मैले देखेको अर्को दृश्य परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभागमा हो । सायद एक बर्ष अघिको कुरा हुनुपर्छ । मेरो एकजना अंकलको (हाल ओमन) राहदानीमा केही समस्या भएपछि हामी परराष्ट्र जानु थियो । म काठमाडौँ बाहिर भएकाले अंकललाई विभागका महानिर्देशक रमेश खनालको नम्बर दिएर उहाँलाई भेट्नु भनेर पठाएको थिएँ । तर अंकलले दुई दिनसम्म रमेश खनाललाई भेट्न पाउनु भएन । उहाँलाई रिसेप्सनमा बस्ने कर्मचारीले खनाललाई भेट्न नदिएका रहेछन् । तर खनाल निकै सजिला मान्छे । उनमा कुनै अहमता र घमण्ड देख्दिनथेँ म । अत्यन्तै सौहार्दपूर्वक उनले हाम्रो काम सल्टाइदिए । अझ उनले अंकललाई भने– हिजो तपाईँले भेटेको भए भइहाल्थ्यो नि दीपकजी आउनै पर्थेन ।
तर, महाप्रबन्धक खनालकै कार्यकक्ष नजिकै राहदानी वितरण केन्द्रमा पुग्दा त्यहाँको दृश्य भने पीडादायी पो थियो । मानिस राहदानी लिनका लागि विकटबाट आएको छ, रातभर लाइन बसेको, अझै पनि पालो आएको छैन । त्यसैमाथि त्यहाँका कर्मचारीहरुको हप्कीदप्की त छँदैछ । विभागको बाहिरी भीडभाडलाई छिचोल्दै भित्र छिरेँ । भित्र पनि हालत उस्तै थियो । विभागले २ बजेपछि मात्र राहदानी वितरण गर्दो रहेछ ।
मैले सोचेँ– सबैलाई हतार थियो होला, हुन त हतार पनि नहोस् कसरी ? त्यही राहदानी लिन काठमाडौँ आएकै कति दिन भयो । छिटो राहदानी पाए बेलुका घर फर्कुला भन्ने पनि त होला कतिपयलाई ।
यत्तिकैमा एउटा हतारको आवाज सुनियो– ‘सर कति समय लाग्छ ?’
सेवाग्राहीको आवाज भुईमा खस्न नपाउँदै सरले जवाफ दिनुभयो– ‘के तैँले बसेको देखेको छस् मलाई ? ५ बज्छ, पाँच । बसे सम्म कुर, कुर्न सक्दैनस् भने भोलि आइज जा !’
विचरा सेवाग्राही अनुहार रातो पार्दै चुप बसे । यो सबै देखेपछि मेरो मनमा प्रश्न उठ्यो– यी कर्मचारीले आफूले आफूलाई के सम्झन्छन् ?के उनीहरुले जे गरे पनि हुने हो ? उनीहरुले नियमानुसार काम गर्ने होइन ? सेवाग्राहीलाई सम्झाउने कि थर्काउने ? त्यसैले सरकारले सरकारी सेवा विस्तार गर्नुको सट्टा कर्मचारीलाई अनुशासन सिकाउनु पर्छ । ताकि कर्मचारी हाम्रा लागि हुन् भन्ने कुरा नागरिक स्वयम आफैले महसुस गर्न सकुन ।
गण्डकी हस्पिटल पोखरा
‘हस्पिटल विरामीका लागि मन्दिर अनि डाक्टर विरामीका भगवान’ यस्तै भनिन्छ गाउँघरमा । तर, त्यहाँको एक दृश्य यति भयानक लाग्यो मलाई कि शब्दमा व्यक्त गर्नै सक्दिन । एक महिला डाक्टर सुत्केरी व्यथाले च्यापेकी महिलाको उपचार गर्दै थिइन । ती महिलालाई अति पीडा भएको जस्तो देखिन्थ्यो । डाक्टरले ती महिलालाई यस्तो अपशब्द प्रयोग गर्दै गाली गरिन मानौँ उनी त्यहाँकी ‘सुप्रिमो’ हुन । उनले प्रयोग गरेका शब्द म अहिले यहाँ उल्लेख गर्न सक्दिन । तर अस्पतालहरु पनि सुध्रिन पर्छ भन्ने आशय व्यक्त गर्नका लागि यो स्मरण गरेको हुँ । डाक्टरहरु विरामीहरुसँग घुलमिल हुनुपर्छ भन्ने मेरो मान्यता हो । काठमाडौँस्थित टिचिङ हस्पिटलमा कार्यरत डा. योगेश न्यौपानेले करिव एक बर्ष अघि मेरो अप्रेशन गरेका थिए । उनी आज पनि मेरो सम्पर्कमा छन् र प्राय उनी फेसबुकमा ‘अहिले तपाईँलाई कस्तो छ ?’ भनेर म्यासेज छोडिरहन्छन् । विरामीको अवस्था कस्तो छ भन्ने कुराको जानकारी लिनु र विरामीलाई आवश्यक सरसल्लाह दिनु डाक्टर वा नर्सहरुको धर्म हो । त्यसैले तथानाम भनेर गाली गर्नु भन्दा विरामीसँग नम्र बन्दा राम्रो हुन्छ भन्ने मेरो बुझाई हो । उदाहरण डा. न्यौपाने नै पर्याप्त छन् ।
र, मैले देखेको जापान
म जापान आउँदा साथ यहाँको एउटा बैंकमा पुगेको थिएँ । बैंकमा प्रवेश गर्दा ‘इरास्सेईमास्सेई’ स्वागत छ र काम सकेर बाहिरिने बेलामा ‘आरिगातोउ गोजाईमासु’ धेरै धन्यवाद भनेर सम्बोधन गर्छन । यहाँ सबै लाइनमा बसेर अनुशासनपूर्वक काम गर्ने र गराउने गर्छन् । ट्रेनमा चढ्न पनि मानिसहरु लाइनमा बस्छन् । यहाँ त नागरिक पनि अनुशासित छन् र प्रशासकहरु पनि । मैले जापानमा देखेको र भोगेको कुरा मेरा लेखहरुमा अलि बढी लेखेको छु, यसको अर्थ कसैले नदेखेको मैले देखेर वा भोगेर होइन । मैले जस्तो अरु धेरैले भोगेका र देखेका छन् । तर अरु सामान्य नागरिकले देख्नु वा भोग्नु र एउटा संचारकर्मीले देख्नु–भोग्नुको फरक हो यो । त्यसैले म धेरै कुरामा जापानको उदाहरण दिइरहेको छु । मैले जापानमा देखेका अरु थुप्रै कुराहरु मेरा लेखहरुमा उल्लेख गर्नेछु, जुन कुरा नेपालमा पनि गर्न सकिन्छ ।
एउटा सरकारी कार्यालयमा सेवाग्राहीलाई नम्र व्यहार गर्न त्यहाँको कार्यालय प्रमुख वा अरु कर्मचारीले सक्छन् कि सक्दैनन् ? अनि हस्पिटलमा डाक्टर वा नर्सले विरामीहरुलाई भद्र व्यवहार गर्न सक्छन कि सक्दैनन् ? यस्तो सानो कुरा हामीले कुनै पनि देशको सिको गर्न जरुरी थिएन । तर, देशमा बेथिति बढेकाले हामी अरुको उदाहरण दिइरहेका छौँ । मैले आज यो लेखबाट नेपालमा कर्मचारीतन्त्र अनुशासित बन्नुपर्छ बल्ल नागरिक र कर्मचारीहरुबीचको सम्बन्ध सुमधुर हुन्छ भन्ने धारणा व्यक्त गर्न खोजेको हुँ । सेवा लिने र दिने दुर्वै अनुशासित बन्न सके मात्र सर्वसाधरणले सर्वसुलभ तरिकाले सरकारी सेवा प्राप्त गर्न सक्नेछन् । तसर्थ अनुशासित ढंगले सेवा लिने र दिने कोशिस गरौँ । बस यत्ति ।
(पत्रकार गौतम अहिले जापान बस्छन् ।)














प्रतिक्रिया