काठमाडौं, ८ मंसिर । सार्क सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि सरकारले उच्च गुणस्तरका ड्युटी फ्री मदिरामा विशेष छुट दिने भएको छ।
विशिष्ट पाहुन र राजधानीस्थित कूटनीतिक नियोगका अधिकारीलाई उच्चस्तरका मदिरा खरिदमा सरकारले १५ प्रतिशत छुट दिन लागेको हो।
नेसनल ट्रेडिङ लिमिटेडले विशिष्ट पाहुनाका लागि शनिबारदेखि आगामी सोमबारसम्म यो छुटको व्यवस्था गरेको छ। यसअघि ड्युटी फ्रीमा आएको मदिरा सोही सुविधाअन्तर्गत रकम लिएर उपलब्ध गराउने व्यवस्था छ ।
नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले भने, ‘सार्क सम्मेलनमा आउने विशिष्ट पाहुनाका लागि विशेष व्यवस्था गरिएको हो।
यस्तो छुट सम्मेलनमा सहभागी हुन आएका पाहुना तथा कूटनीतिक नियोगका पदाधिकारीले मात्रै पाउनेछन्।’
नेसनल ट्रेडिङले यस्तो सुविधा रामशाहपथस्थित ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री सप सेन्टर’ मार्फत उपलब्ध गराउने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
उनका अनुसार पाहुनालाई मदिराको अभाव हुन नदिन उनीहरूले बढी रुचाएका र महँगा विभिन्न ब्रान्डका मदिरा मगाइएको छ।
विशिष्ट पाहुनाका लागि खाडी मुलुक दुबईबाट उच्चस्तरका मदिरा ‘अर्डर’ गरिएको निमित्त महाप्रबन्धक मेहताले बताए।















प्रतिक्रिया