यो माथिको शीर्षकले अवश्य पनि पाठकको मनमा एउटा जिज्ञासा र उत्सुकता पैदा गर्न सक्छ ।महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महाकवि बन्नलाई त्यस समयको स्थिति परिस्थितिले त्यति सहज भएको हामीलाई महसस हुँदैन । जुन समयमा देवकोटा महाकवि बन्न पुगे त्यस समय नेपालमा राणा शासन उत्कर्षमा थियो । सामान्य नागरिकलाई दोश्रो दर्जाको नागरिक सरह व्यवहार गरिन्थ्यो, राणा खानदानका मुखमा नै नियम र कानुनको ताकत थियो, वादविवाद र छलफल गर्न त परै जाओस एक पण्डितको विद्वान छोरा पनि राणा सँगसँगै बस्न सक्दैनथे।
२००७ सालमा राणा शासनको अन्त र प्रजातन्त्रको उदय भयो, प्रजातन्त्र आइसकेपछि पनि महाकवि देवकोटा नाट्य सम्राट बालकृष्ण समसँगै मेचमा बस्दैनथे । संगै बस्न हिच्किचाएपछि एकदिन कवि केदारमान व्यथितले जबर्जस्ती भुइँबाट उठाएरसँगै मेचमा बस्न उठाएको प्रसंग पनि उत्तिकै प्रासंगिक र रोमान्चपूर्ण पूर्ण लाग्दछ । यस्तो विषम परिस्थितिमा देवकोटा कसरी महाकवि बन्न पुगे भन्ने कुरालाई मध्यनजर गरेर एउटा रोचक प्रसंग म यहाँ उल्लेख गर्न गइरहेको छु ।
कुरा विक्रम सम्बत २००२ सालको हो। त्यस समय नेपाली भाषानुवाद परिषद्का अध्यक्ष वैयाकरणबेत्ता र कोष ग्रन्थकार पुष्कर समशेर राणा थिए । त्यस्तै नेपाली भाषा तथा प्रकाशिनी समितीको अध्यक्ष्यमा थिए नाट्य सम्राट बालकृष्ण सम । ती दुबैको कार्यालय त्रिचन्द्र कलेज घण्टाघरको सरस्वती सदनको माथिल्लो तल्लामा थियो, सोही वर्षको कुनै दिन नेपाली भाषानुवाद परिषद्को पुष्कर समशेरको कार्यालयमा बालकृष्ण सम, खड्गमान मल्ल, पूर्णमान श्रेष्ठ, देववीर पाण्डे, बाबुराम आचार्य (इतिहास शिरोमणि) र श्यामदास वैष्णव गफ गरिरहेका रहेछन । सोही समयमा लक्ष्मीप्रसाद देवकोटा कार्यालयमा प्रवेश गरेछन ।
प्रवेश गरे लगत्तै पुष्कर समशेरलाई प्रश्न गरेछन- ‘के कविले स्वतन्त्र भएर लेख्न नपाउने ?’
पुष्कर समशेरले जवाफ दिएछन्- ‘किन नपाउने पाउँछन् कसले रोकेको छ ?’
देवकोटाले फेरी सोधेछन् – ‘त्यसो भए मेरो “शाकुन्तल महाकाव्य” किन स्वीकृत भएन त ?
लक्ष्मीप्रसाद देवकोटाले यो प्रश्न गर्नुको सन्दर्भ थियो, उनको शाकुन्तल महाकाव्य नेपाली भाषानुवाद परिषदले स्वीकृत गरिरहेको थिएन, यहाँ एउटा कुरा स्मरणयोग्य र महत्वपूर्ण के छ भने त्यसै समयमा बालकृष्ण समको “आर्यघाट” महाकाव्य पनि प्रकाशनको तयारीमा रहेको थियो, त्यतिखेर पुष्कर समशेरले बालकृष्ण सम पट्टि फर्केर भनेछन – ‘हेर भाई ! लौ तिमी नै सुन !’
‘सुतट मट्टी मान्द्रिलो स्निग्ध गोबरी,
उफर सानु सावके सानु स्वर्ग छ’
सुन्यौ ? यो कुन दिशाको नेपाली भाषा हो ? यस्तो भाषामा शाकुन्तल महाकाव्य लेख्ने रे, कसको निम्ति ? तर महाकाव्य त भाषानुवाद परिषद्को लागि लेखिन लागेको हो, मलाई त लेखनाथले लेखेको जस्तै राम्रो वार्णिक छन्द नै मन पर्छ, भाई (बालकृष्ण सम) ले लेखेको रबर छन्द पनि कत्ति मन पर्दैन, त्यसैले स्वीकृत हुनको लागि त्यही वार्णिक छन्दमै लेखिनुपर्छ ।
त्यसपछि देवकोटाले प्रष्टीकरण दिदै भनेछन्- ‘मलाई आफ्नो अभिव्यक्ति पोख्नलाई नेपाली भाषा पर्याप्त छैनन्, म पुरानैमा जमिरहन चाहन्न, म नयाँ-नयाँ शब्दको आविष्कार गर्न मनपराउछु, त्यसैले मैले मान्द्रोले बेरेको नभनेर “मान्द्रिलो” भने गोबर माटोले लिपपोत गरेको नभनेर “गोबरी” भने त के भो र ?
त्यसपछि पुष्कर समशेरले भनेछन – ‘यो महाकाव्य परिषद्को लागि लेखिन लागेको हो, त्यसकारण मैले भने झैं र मैले चाहेकै शैलीमा लेखिनुपर्छ ।’
पुष्कर समशेरले अन्तिम निर्णय दिएपछि देवकोटा धेरै सोचमग्न र थोरै विचलित बनेर त्यहाँबाट निस्केछन । महाकाव्य प्रकाशन हुनको लागि पुष्कर समशेरले भनेकै शैलीमा लेखिनुपर्ने अन्यथा प्रकाशन नहुने देखेपछि देवकोटा धेरै दिनसम्म परिषद गएनछन् ।
देवकोटाले यस घटनालाई एउटा कविको हिर्द्यलाई एउटा भाषाशास्त्रीले बुझ्न नसकेको भनेर गुनासो गरे । त्यस्ता भाषाशास्त्रीको अधिनमा रहेर कसरी महाकाव्य लेख्न सकिएला भनेर चिन्ता पनि व्यक्त गरे ।
लेखनाथको जस्तो वार्णिक छन्दमा नलेखी शाकुन्तल महाकाव्य प्रकाशन सम्भव नदेखेपछि देवकोटाले आखिरमा पुष्करसमशेर राणाले भनेझैं लेख्ने विचार गरे । उनको कुरालाई नै सहर्षस्वीकार गर्दै त्यही छन्दमा महाकाव्यलाई परिमार्जन गर्ने अठोट गरे ।
त्यसको केही दिन पछि देवकोटा पुष्कर समशेरको कार्यालयमा देखा परे । केहीछिन बसेर बाहिर निस्की हालेछन । कार्यालयमा रहेका सबैको मनमा खुल्दुली भएछ कि आखिर देवकोटा एकैछिनमा कता गए । पछि कसैले खबर ल्याएछन कि देबकोटा त घण्टाघरको माथि बुर्जामा बसेर लेखिरहेका छन् । करिब दुर्इ घण्टापछि देबकोटा फर्केर आए । उनले माथि बुर्जामा बसेर रचेका शिखरिणी छन्दको साठी श्लोक परिमार्जित शाकुन्तल महाकाव्यका केहि अँश पढेर सुनाएछन । त्यहाँ उपस्थित सबै अचम्मित बनेछन । देबकोटाले यति चाँडो कसरी लेख्न सके, सब छक्क परेछन् । देवकोटाले तयार पारेको यति राम्रो श्लोकको अँश सुनेर सब चकित बनेछन् । उनको विद्वता र प्रतिभा देखेर पुष्कर समशेरको त आँखाबाट आँशु नै झरेछन ।
नेपाली भाषानुबाद परिषद्का अध्यक्ष पुष्कर समशेर राणाको आदेशानुसार र उनैले भने अनुसारको छन्दमा लेखिएको “शाकुन्तल महाकाव्य” स्वीकृत भए पछि देवकोटा “महाकवि” बन्न पुगेका हुन् । तर यो प्रसंग त्यहीं सकिदैन । केही दिन पछि गाईंगुई हल्ला फैलियो, देवकोटाले ढाँटे भनेर । कुरा के भएछ भने देवकोटाले घण्टाघरको बुर्जामा बसेर लेखेको भनिएको साठी श्लोकको कविता उनले त्यहाँ बसेर लेखेको नभै घरमै लेखेको तर यहाँ उनले स्वांग मात्र रचेका हुन् भनेर पुष्कर शमसेर कहाँ कसैले कुरा लाएछन् । त्यसपछि देबकोटालाई बोलाईयो र सोधपुछ गरियो, देवकोटामा आत्मविश्वास थियो, प्रतिभा सम्पन्न कवि पनि थिए, अनि उनले त्यहाँ सबैलाई हाँक पनि दिएछन । यस्ता महाकाव्य त म दसै दिनमा लेख्न सक्छु भनेर । यति के देवकोटाले बोलेका थिए, सबैले त्यसैमा अड्डी लिएर भनेछन्, ल हेरौं न त ! दश दिनमा महाकाव्य सकेको भनेर ।
आफ्नो आत्मसम्मानको लागि देवकोटाले बाजी स्वीकारे । देवकोटाले अर्को महाकाव्य दश दिनमै लेख्न तयार भए ।
त्यस पछि त्यहाँ सामान्य छलफल भो लेख्न खोजेको विषय र त्यसमा आवश्यक हेरफेर समेत गर्ने पूर्ण अधिकार पुष्करसमशेरलाई प्रदान गर्ने निर्णय पनि भयो । संधै दिनको एक बजे शुरु गर्ने, देवकोटा भन्दै जाने र श्यामदास वैष्णब लेख्दै जाने सबै निर्धारण भयो ।
सोही अनुसार निर्धारित दिन र समयमा घण्टाघरले एक हान्यो वेद्व्यासले जस्तै देवकोटा कति विचलित नभै कविता भन्दै गए अनि गणेशले जस्तै श्यामदास वैष्णवले लेख्दै जान थाले । एवम् प्रकारले दशौँ दिनको दिन फेरी घण्टाघरले एक बजाए । बोल्न र लेख्न शुरु भयो, दिनको करिब सात बजे देवकोटाको सुलोचना महाकाव्यको अन्तिम परिच्छेद सकिएको घोषणा देवकोटाले गरे । यसरी दश दिनमा तयार भएको सुलोचना महाकाव्य पुष्कर समशेरको हातमा राखिदिए, दश दिनमा करीब साठी घण्टामा तयार पारेको सो सुलोचना महाकाव्य नेपाली भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर समशेरको हातमा राखिदिंदा उनी निकै हर्षित र प्रफुल्ल देखिन्थे भने अरु थुप्रैका अनुहार मलिन देखिन्थ्यो । पुष्करसमशेरले सुलोचना महाकाव्यको भूमिकामा यस कुरालाई स्वीकारेर लेखेका छन् “दशै दिनमा यत्रो महाकाव्य लेखिसकेर कबि लक्ष्मीप्रसादले नेपाली भाषा प्रकाशिनी समिति र भाषानुबाद परिषदलाई चकित पारेका छन् ”
थुप्रैले जस्तै तिगडम लाएपनि र व्यवधान खडा गरे तापनि देवकोटाको विलक्षण प्रतिभा र बेजोड कल्पना शक्तिका कारण उनी नेपाली साहित्यमा शाकुन्तल र सुलोचना महाकाव्य जस्ता गहन ग्रन्थ छोटो समयमा लेखेर प्रकाशन गर्न सफल भए । त्यति मात्र होइन, उनले हामीलाई ६ वटा महाकाव्य र ३६ वटा खण्ड काव्य समेत गरी जम्मा ८४ वटा साहित्यिक कृति छोडेर गएका छन्, तर अझ पनि ४५ वटा कृति अप्रकाशित नै छन्, यिनै बहुआयामिक प्रतिभाका धनी लोकप्रिय स्रष्टा महाकवी देवकोटा आज पर्यन्त अमर बनेर हाम्रो दिल भित्र बसेका छन् । अस्तु !
(भर्जिनिया, अमेरिका)














प्रतिक्रिया