१ कार्तिक २०८३, शनिबार

विज्ञले जाँच गरेपछि मात्रै भीभीआइपीले खाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Foodकाठमाडौं, ७ मंसिर । शिखर सम्मेलनमा सहभागी हुने सार्क मुलुकका आठै राष्ट्रप्रमुखसहित अतिविशिष्ट श्रेणीका सबै पाहुना भीभीआईपी लाई खुवाउने खाना नेपाली खाद्यविज्ञको प्रत्यक्ष रेखदेखमा तयार गरिनेछ।

पाहुनालाई प्रत्यक्ष रेखदेखमा खाना तयार गर्न सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्यविज्ञ तथा उपसचिव कृष्ण राईको संयोजकत्वमा २९ सदस्यीय उच्चस्तरीय खाद्य तथा पेय पदार्थ सुरक्षा टोली बनाएको छ।

समूहमा विभागबाट राईसहित चारजना वरिष्ठ खाद्यविज्ञ, नेपाली सेनाका एक, नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका एक गरी तीनजना पोषणविज्ञ खटिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

नेपाल प्रहरीबाट एकजना विष प्वाइजन विज्ञ र लागूऔषध नियन्त्रण ब्युरोबाट एकजना नार्कोटिक विज्ञ पनि समूहमा छन्। समूहमा नेपाली सेनाका मेजरको नेतृत्वमा सादा पोसाकमा प्रहरीका नौ र सशस्त्रका १० जना सम्मिलित विशेष सुरक्षा समन्वय समिति परिचालन गरिएको छ।

खाना पकाउने क्रममा खटिएका होटेलका कामदार, भान्छाकोठा र खाद्य पदार्थको सरसफाइ तथा गुणस्तर निर्धारण, खाना पाक्ने र भण्डारण कक्षको तापक्रम निर्धारण, खाना र पेयपदार्थ तयार गर्ने बेलामा प्रयोग गरिने कच्चा पदार्थको गुणस्तर निर्धारण, पाकेको र तयार भएको पेय पदार्थको परीक्षण र नमुना लिने जिम्मेवारी टोलीलाई दिइएको छ।

‘तयार पारिएका खाना र पेय पदार्थ पुनस् सातदोबाटोस्थित विधिविज्ञान प्रयोगशालाको फोरेन्सिक ल्याब तथा विभागको फुड ल्याबमा परीक्षण गरेर कुनै त्रुटि नपाइएको अवस्थामा मात्र अतिविशिष्ट पाहुनालाई उपलब्ध गराइनेछ’, संयोजक राईले जानकारी दिए।

खानाको गुणस्तर निर्धारण तथा स्वच्छताका लागि फुड ल्याब र फोरेन्सिक ल्याब सुविधा सम्पन्न बनाएर तयारी अवस्थामा राखिएको छ। टोलीले आइतबार काम थाल्नेछ।

टोलीलाई २४ घन्टे जिम्मेवारी दिइएको छ।

सरकारले अतिविशिष्ट पाहुनालाई खाना तयार पार्ने जिम्मा सोल्टी होटेललाई दिएको छ।

राजधानी वरिपरि हुने सम्पूर्ण कार्यक्रममा सहभागी हुने पाहुनाका लागि सोल्टी होटेलमा टोलीकै निगरानीमा खाना र पेय पदार्थ तयार पारिनेछ।

यसका लागि राईको संयोजकत्वमा विज्ञटोली सोल्टी होटेलमा आइतबारदेखि शुक्रबारसम्म रहनेछन्। बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा बस्ने पाहुनाको खानाको रेखदेख पनि यही टोलीले गर्नेछ।