२९ आश्विन २०८३, बिहिबार

सार्क परिचयमा नेपालः सगरमाथादेखि गुन्द्रुक र ढिँडोसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmatha-mount-everestराजाराम कार्की

काठमाडौँ, ६ मंसिर । नेपालसम्बन्धी जानकार स्विट्जरल्यान्डका टोनी हागनले ‘नेपाल संसारकै सबैभन्दा सुन्दर र विविधताको सुन्दर देश हो भन्नमा म कहिल्यै हिच्किचाउँदिन’– भन्नुभएको थियो ।

नेपालको विराट् सांस्कृतिक सम्पदा, संस्कृति र यहाँको अनुपम जनजीवनले  हागनको त्यो भनाइलाई पुष्टि गरेको छ । टोनीको सो भनाइ हचुवाको भरमा नभई नेपालको कुनाकाप्चामा डुलेर नेपालीको पहिचान र तथ्यमा आधारित रही उनका विभिन्न पुस्तकमार्फत आएको थियो ।

दक्षिण एसियामा आफ्नो विशिष्ट पहिचान बनाएको भूपरिवेष्ठित देश नेपाल पूर्व मेचीदेखि पश्चिम महाकालीपारिसम्म फैलिएको छ । उत्तरमा ६५ गुणा ठूलो राष्ट्र चीन तथा पूर्व, पश्चिम र दक्षिणमा फैलिएको २२ गुणा ठूलो राष्ट्र भारत हाम्रा नजिकका छिमेकी मित्रराष्ट्र हुन् ।

विभिन्न भाषाभाषी, जातजाति, धर्म, संस्कृति र परम्पराले एकताको मालामा उनेर उभिएको नेपाल अलौकिक प्राकृतिक हिमशृङ्खलाको विछट्ट सुन्दर मनमोहक भूमि पनि हो । यो शान्तिका अग्रदूत एसियाका ज्योति गौतम बुद्धको जन्मभूमि हो । विश्वको ०.३ र एसियाको ०.३ अर्थात् एक लाख ४७ हजार १८१ वर्गकिमी क्षेत्रफलमा फैलिएको यहाँका अधिकांश जनता गाउँमा बस्दछन् ।  लोपोन्मुख जाति राउटे भने जङ्गलमा बस्दै आएको छ ।

विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा यहीँ  आठ हजार ८४८ मिटरसम्म ठडिएको छ ।  विश्वलाई आकर्षित गरिरहेको ऋषिमुनिको तपोभूमि नेपालमा २०६८ सालको जनगणनाअनुसार  दुई करोड ६४ लाख ९४ हजार ५०४ जनता बसोबास गर्छन् । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा र  सानो भक्तपुर हो ।

विभिन्न १२५ जातजाति र  १२३ मातृभाषीहरू आफ्ना भावना साटासाट गरी मेलमिलाप, एकता, भ्रातृत्व र प्रेमको मालामा गाँसिँदै हिमाल, तराई र पहाडका कुनाकाप्चामा छरिएका छन् ।  नेपालको प्रमुख खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र जौ हो । अर्थ व्यवस्थाको मूल आधार कृषिमा ७४ प्रतिशत जनता निर्भर छन् । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । नेपालीको राष्ट्रिय खाना गुन्द्रुक र ढिँडो मानिन्छ ।

मुलुकको कुल १७.९७ प्रतिशत जमिन कृषियोग्य भए पनि १८ प्रतिशतमा मात्र खेती गरिन्छ । संसारको सबैभन्दा अग्लो उचाइमा धानखेती हुने भूभाग जुम्ला जिल्लाको छुमचौरमा पर्छ । यहाँ उत्पादन हुने ‘जुम्लीमार्सी धान’ विश्वमा प्रसिद्ध छ ।

हिमाली प्रदेशले १५, तराई प्रदेशले १७ र पहाडी प्रदेशले ६८ प्रतिशत भूभाग ओगटेको यो देश ७५ जिल्लामा विभक्त छ । तराईमा २०, पहाडमा ३९ र हिमालमा १६ जिल्ला पर्छन् । हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ तथा महाकालीका दुई गाविस  चाँदनी र दोधारा हुन् ।

राजर्षि जनक, न्यायका प्रतिमूर्ति राजा राम शाह, प्रसिद्ध कलाकार अरनिको, आदर्श नारी सीता र भृकृटीले टेकेको यस धर्तीमा राष्ट्रिय चरो डाँफे र राष्ट्रिय फूल लालीगुराँसले मुलुक ढकमक्क ढाकेको छ । राष्ट्रिय जनावर गाईले गोब्र्याउँदा मुलुक उर्वर बनेको छ ।

पृथ्वीमा चन्द्रसूर्य रहुन्जेसम्म नेपालको अस्तित्व रहिरहने प्रतिबद्धता बोकेको चन्द्रसूर्यअङ्कित राष्ट्रिय झन्डामुनि गोलबद्ध  नेपालीको राष्ट्रिय तथा कामकाजी भाषा नेपाली हो  । कलाकारले कुँदेको आलौकिक प्रतिमाजस्तो लाग्ने प्रकृतिले दिएको मनोरम दृश्यावलोकनको गन्तव्यसूचीमा अद्वितीय चरा काँडेभ्याकुर र हिलेकावाको वासस्थान, सर्वोच्च स्थानबाट उत्पत्ति भएको अरुण नदी र डोप्ला जिल्लास्थित सुलीगढ झरना, मनाङ जिल्लाको तिलिचो ताल, होटल एभरेस्ट भ्यु, स्टेलरिया डेकुम्बेन फूल र दुर्लभ च्याउ ट्र्याफिना नेपालेन्सिस छन् ।

दुर्लभ वन्यजन्तु एकसिँगे गैँडा, सर्वोच्च स्थानमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज, मन्दिरै मन्दिर, जलस्रोतको धनी, लडाकु, नदीनाला, तालैतालको देश, मिहिनेती, परिश्रमी र पौरखीहरूको बासस्थानका रूपमा पनि नेपाल चिनिन्छ । यहाँको राष्ट्रिय हतियार खुकुरी तथा राष्ट्रिय खेल डण्डिबियो र कपर्दी मानिन्छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका, पशुपतिनाथ तथा चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्ध स्तुप क्षेत्र, चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी क्षेत्रले लोभ्याइरहेको पर्यटकीय देश नेपालले पाहुनालाई सदैव आकर्षण गरिरहेको छ ।