१ कार्तिक २०८३, शनिबार

संस्थापनको बैठक नौटंकी, उत्कर्षमा माओवादी विवाद, चन्द समूह सहभागी नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan-Baidhya-&-Netra-Bikra
काठमाडौं, ६ मंसिर । नेकपा–माओवादीको संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठकलाई सचिव नेक्रविक्रम चन्द समूहले नौटंकीको संज्ञा दिँदै सहभागी नहुने भएको छ ।

बैठक शनिबारदेखि हुँदैछ । बैठकमा सहभागी हुन शुक्रबार महासचिव रामबहादुर थापाले आह्वान गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

थापाले जारी गरेको प्रेस विज्ञप्तिमा प्रयोग भएको भाषाप्रति नै चन्द समूहले आपत्ति जनाएको छ ।

चन्द समूहले संस्थापन पक्षको विज्ञप्तिमा पार्टी मिलाउनभन्दा फुटाउने शब्द प्रयोग गरेको आरोप लगाएको छ । कारबाही गर्ने रणनीतिअनुसार बैठक बोलाएको बुझाइ चन्द समूहको छ ।

पोलिटब्युरो सदस्य खडगबहादुर विश्वकर्माले संस्थापन पक्षको मनसाय पार्टी फुटाउने भएको आरोप लगाए ।

‘युद्धरत पक्षलाई वार्तामा आउन आह्वान गरेको जस्तो छ, यसले पार्टी एकता होइन, फुटतिर धकलेको छ,’ उनले भने, ‘अब हामी बैठकमा सहभागी हुँदैनौं, उहाँहरूले पार्टीलाई विर्सजनवादतिर धकेलेको छ ।’

महासचिव थापाद्वारा जारी विज्ञप्तिमा जिम्मेवार कमरेडले पार्टीको अनुशासन उल्लंघन गरेकाले त्यसबारे प्लेनम बैठकमा छलफल गरिने उल्लेख छ ।

‘उहाँहरूको भाषाले नै भन्दैछ मिल्ने कि जुट्ने, फुटवादीले जुटाउन जान्दैनन् फुटाउनमात्र जान्दछन् । अब हामी सहभागी हुँदैनौ,’ चन्द पक्षीय वैकल्पिक केन्द्रीय सदस्य शरदसिंह भण्डारीले भने, ‘स्पष्टीकरण लिने निर्णय नसच्याएसम्म बैठकमा सहभागी हुँदैनौं ।’

‘केही समयदेखि पार्टीमा कतिपय जिम्मेवार कमरेडहरू सांगठनिक विधि, प्रक्रिया र अनुशासन उल्लंघनलगायत समस्या पैदा भइरहेका छन्,’ थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ती सबै विषयमा प्लेनममा छलफल हुने भएकाले समस्यालाई गम्भीरता र इमानदारितासाथ लिई पार्टी एकता कायम राख्न सबै कमरेडहरूलाई प्लेनममा सहभागी हुन विशेष आह्वान गर्ने निश्चित गरिएको छ ।’

पूर्णकालीन केन्द्रीय सदस्यमा संस्थापन पक्षको बाहुल्य छ भने चन्द पक्षको अल्पमत छ ।

४१ पूर्णकालीन केन्द्रीय सदस्यमध्ये चन्द समूहमा करिब १५ जना मात्र छन् ।

‘हामीलाई बोलाएर बहुमतद्वारा कारबाही गरेको निर्णय गर्ने, उहाँहरू योजना हो, अब उहाँहरूले नै पार्टी फुटाउनुभयो,’ भण्डारीले भने ।

विस्तारित बैठकअघि नै चन्द समूहलाई कारबाही गर्ने रणनीति संस्थापन पक्षको छ ।

‘विस्तारित बैठकमा उहाँहरू अल्पमत छन्, त्यहाँसम्म पुगे त उहाँहरूलाई हामी कारबाही गछौ, त्यसकारण विस्तारित बैठक उहाँहरूले बोलाउनुहुन्न,’ भण्डारीले भने ।

पोलिटब्युरो सदस्य विश्वकर्माले वक्तव्यबाजी गरेर समस्या समाधान नहुने भन्दै यसले पार्टीमा झन् दुस्मनी बढाएको बताए ।