विजय थापा
भर्जिनिया । डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायको तर्फबाट नेपालका हास्य विधाका वरिष्ठ कलाकार मह जोडीलाई भव्य सम्मान गरिएको छ । अमेरिकाको विभिन्न राज्यहरुमा महजात्रा कार्यक्रम प्रस्तुति गर्दै अमेरिकाको अन्तिम चरणमा डिसी तथा म्यारिल्याण्डको बाल्टिमोरमा भएको महजात्रा कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको छ ।
कलाकारलाई हौसला तथा मनोबल प्रदान गर्दै आफ्ना प्रिय कलाकारहरुलाई सम्मान स्वरुप सपरिवार साथ आएर कार्यक्रम स्थल खचाखच बनाई मह जात्रालाई अभूतपूर्व सफलता बनाई दिएका छन् ।
महजात्रा कार्यक्रममा महजोडी लगायत नेपालबाटै आएका अन्य कलाकारहरुलाई पनि कलाकारहरुले स्थापना गरेको संस्था युनाईटेड नेपाल तथा डिसी वर परका संघ तथा संस्थाको तर्फबाट सम्मान गरिएको हो ।
मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले तीन वटा प्रहसन गरेका थिए भने किरण केसी, शिवहरी पौडेल, बसुन्धरा भुसाल, मोहित आचार्य ,मदन कृष्ण श्रेष्ठकी छोरीको पहिलो दिन भन्ने गीत तथा छोरा यमन श्रेष्ठको दुई प्यारोडी गीतले वातावरण निक्कै तताएको थियो । कार्यक्रममा विभिन्न प्रहसनको साथै गीतहरु प्रस्तुत गरिएको थियो ।
राजनैतिक नेताहरुको दिमाग नभएको भन्दै खप्पर बोकेर गिदी भर्न विदेश हिँडेका शिवहरी र बिमानस्थलमा जाच कक्षमा बसेका किरणको प्रहसनले दर्शकहरुलाई मनोरञ्जन दिलाउन सफल भएको थियो । एउटा असल नेता किन बनाउन सकेनौ ? भन्ने मह जोडीको प्रहसन निक्कै दर्शकले रुचाएका थिए भने जातीयताको कुरा चर्काएर देश भाँड्न खोज्ने नेतालाई पेच हान्दै गरिएको मह जोडीको बाहुनबहादुर र नेवारबहादुरको प्रस्तुति दर्शकहरुले मन पराएका थिए ।

महजोडीले गरेको मडनको फोटो स्टुडियो कार्यक्रम मध्येकै लोकप्रिय रहन सफल हुन् पुग्यो भने यो प्रस्तुति २०१३ मा एएनए न्युयोर्क सम्मेलनमा पनि देखाईएकोले दर्शकले दोहोरिएको भन्दै यसपाली अझ राम्रो लागेको बताए ।
आयोजक युनाईटेड नेपालको तर्फबाट नायक सरोज खनालले कलाकारहरुलाई सम्मान भनेको नै कार्यक्रम हेर्न आउनु हो भनी डिसी वासीहरुले देखाएको उत्साह र हौसलाप्रति गर्व गरे । कार्यक्रमको सुरुवात आयोजकको तर्फबाट परशुराम तिमिल्सिनाले मानव सागर ओर्लिएर देख्दा हर्षित भएको भन्दै कार्यक्रम बारे बोलेका थिए । आयोजकको तर्फबाट नायक किरण केसीले महजात्रा कार्यक्रमलाई अपार सफलता बनाई दिएकोमा हर्ष ब्यक्त गर्दै सबैलाई धन्यबाद दिएका थिए । गिनिज विश्व किर्तिमान रबि लामिछानेले कार्यक्रम संचालन गरेका थिए ।















प्रतिक्रिया