७ कार्तिक २०८३, शनिबार

होसियार ! हतियार राख्नेलाई कारबाही सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatiyarबागलुङ, ३ मंसिर । बिनाइजाजत हातहतियार राख्ने व्यक्तिलाई प्रहरीले कारबाही थालेको छ ।

यसअघि हतियार सङ्कलनको अभियान चलाएको प्रहरीले अपेक्षित रूपमा हतियार नबुझाएपछि खोजतलास तीव्र बनाएको छ ।

अघिल्लो साता जिल्लाको भकुण्डे गाविस–६ का ५७ वर्षीय रणसिंह थापालाई अवैध १२ बोर बन्दुक, बारुद, छर्रा, मृग र वनबिरालोको छालासहित प्रहरीले पक्राउ गरेको छ ।

बन्दुक र वन्यजन्तुको छाला घरमै लुकाएर राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट गएको टोलीले थापालाई नियन्त्रणमा लिएको हो ।

थापामाथि हातहतियार तथा खरखजना ऐन, २०१९ र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

पटक–पटक अवैध रूपमा राखिएका हातहतियार बुझाउन आग्रह गर्दा पनि अटेर गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

पछिल्लो सयम प्रहरीले गत साउन मसान्तभित्र हतियार बुझाउन सार्वजनिक रुपमै आग्रह गरेको थियो ।

“अवैध हतियार लुकाई–छिपाई राख्नेहरूको खोजी र जाँचपड्ताललाई तीव्र बनाइएको छ” बस्नेतले भन्नुभयो “जो कोहीसँग पनि त्यस्ता हतियार फेला परेमा कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।” बस्नेतका अनुसार जिल्लामा सयौँको सङ्ख्यामा त्यस्ता अवैध हातहतियार रहेको अनुमान  छ ।

गत वर्ष ३०० भन्दा बढीको सङ्ख्यामा त्यस्ता हतियार प्रहरीमा बुझाइएको थियो । कतिपय व्यक्तिले अनुमति लिएर राखेको हतियार पनि नवीकरण नगर्दा समस्या उत्पन्न भएको प्रहरीले बताएको छ ।

त्यस्ता हातहतियारमा पनि प्रहरीले कडाइ गर्ने भएको छ । बिनाइजाजत हातहतियार राख्ने व्यक्तिलाई हातहतियार तथा खरखजना ऐन, २०१ अन्तर्गत कारबाही चलाउने प्रनाउ बस्नेतले बताउनुभयो ।

उक्त ऐनले अवैध हातहतियार राख्ने व्यक्तिलाई एक लाख जरिवाना र ५ वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरेको छ ।

प्रहरीले हातहतियार राखेका शङ्कास्पद व्यक्तिको सूचना र लगत राख्ने काम गरिरहेको छ । सोही आधारमा खोजतलासलाई अघि बढाइने छ ।

अवैध रूपमा राखिएका हातहतियारले सामाजिक सुरक्षामा खलल पुग्नुका साथै तथा अपराधजन्य घटना बढ्ने भएकाले प्रहरीले त्यस्ता हतियार नियन्त्रणमा लिन थालेको हो ।
त्यस्ता हतियार प्रयोग गरेर वन्यजन्तुको अवैध सिकार गर्ने क्रम पनि बढ्दै गएको प्रहरीले बताएको छ । अघिल्ला वर्षदेखि नै प्रहरीले आफूसँग भएको अवैध हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको थियो ।

अवैध हतियार बुझाउन समय तोक्दै आएको प्रहरी अहिले भने नियन्त्रणकै लागि सक्रिय बनेको छ ।