तनहुँ, २ मंसिर । सिफारिस नदिएको भन्दै एमालेका नेता प्रदीपराज अधिकारीले श्या घा गाविसका सचिव सूर्यबहादुर थापामाथि हातपात गरेका छन्।
सुकुमबासी समस्या समाधान आयोगमा बुझाउनका लागि सिफारिस नदिएको भन्दै एमाले व्यास नगर समितिका पूर्वअध्यक्ष अधिकारीले थापामाथि हातपात गरेका हुन्।
सचिव थापाले वडा नागरिक मञ्चबाट सिफारिस आएका सबैलाई दिए पनि सिफारिसै नआएकाको सिफारिस नदिएपछि आफूमाथि हातपात भएको बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सोही विषयमा छलफलका लागि बस्दै गर्दा मलाई जर्बजस्ती सिफारिस गर्न लगाइयो उनले भने।
स्थानीयले वडा नागरिक मञ्चबाट प्रमाणित नभएकालाई सिफारिस नदिन तथा दिएमा आफूहरु विरोधमा उत्रने बताए पछि आफूले मञ्चबाट नाम आएकालाई मात्र सिफारिस दिएको थापाले बताए।
गाविसका आठवटै वडाको सिफारिस दिए पनि वडा नम्बर तीनबाट सिफारिस नआएकाले आयोगलाई सिफारिस पठाउन नसकिएको थापाले बताए।
सोही विषयमा छलफल गर्दा गल्हत्याएका अधिकारीले जसरी पनि सिफारिस दिन तथा नदिए जे पनि हुनसक्ने भनेपछि आफूले ज्यानको असुरक्षाका कारण बाध्य भएर सबै सिफारिस गर्नुपरेको उनले बताए।
हातपात पछि सचिव थापाले असुरक्षाका कारण काम गर्न नसक्ने जनाउँदै काम छाडेका छन्।
काम गर्न नसक्ने बताएपछि थापालाई जिविसमा काजमा हाजिर गराएको स्थानीय विकास अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए।
‘आफूमाथि हातपात भएकाले काम गर्न नसक्ने भन्दै उहाँले भनेपछि मैले जिविसमा हाजिर गर्न भनेको छु’ उनले भने।
थापाले जिल्ला प्रशासन कार्यालयमा पनि असुरक्षा भएको तथा हातपात भएको भन्दै सुरक्षाका लागि निवेदन दिएका छन्।















प्रतिक्रिया