काठमाडौं, २ मंसिर । मुलुकमा पर्याप्त उद्योगधन्दा नखुल्नु र खुलेका पनि नफस्टाएकाले राजस्वमा बढी योगादन सेवा क्षेत्रको देखिएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढीभन्दा बढी कर बुझाउनेमा सेवा क्षेत्रका तीन कम्पनी अग्रस्थानमा देखिएका हुन् ।
कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार कार्यक्रम आयोजना गर्दै सबैभन्दा बढी आयकर दाखिला गर्नेमा एनसेल रहेको जानकारी दिएको हो ।
अघिल्लो वर्ष नेपाल टेलिकम थियो । टेलिकमलाई पछि पार्दै यो वर्ष एनसेल अगाडि आएको हो । दोस्रोमा टेलिकम परेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
दुवै कम्पनीलाई बढी आयकर र बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रूपमा सरकारले सम्मानित गरेको हो ।
त्यस्तै तेस्रोमा पनि सेवा क्षेत्रकै कम्पनीले सबैभन्दा बढी आयकर दाखिला गरेको छ ।
विभागका अनुसार बैंक तथा वित्तीय क्षेत्रमध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नबिल बैंक परेको छ ।
सरकारले सेवा क्षेत्रका तीनसहित २२ संघसंस्था तथा व्यक्तिलाई आयकर बढी बुझाउनेका रूपमा सम्मानित गरेको छ ।
पारिश्रमिकतर्फबाट सबैभन्दा बढी राजस्व बुझाउनेमा सिद्धार्थ शमशेर जबरा परेका छन् ।
विभागका अनुसार व्यापार व्यवसायबाट सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सिप्रदी ट्रेडिङ, निर्यात तर्फबाट उल्लेख्य योगदान पुर्याउनेमा किरण सुज, होटल व्यवसायबाट बढी आयकर तिर्नेमा सोल्टी होटल, लघुवित्तबाट छिमेकी लघुवित्त विकास बैंक परेका छन् ।
त्यस्तै करमा बढी योगदान गरेबापत सोमबार सम्मानित हुनेमा कृषिजन्य उद्योग व्यवसायबाट सबैभन्दा बढी आयकर बुझाउनेमा चाबोविरा फिड इन्डस्ट्री परेको छ ।
स्वास्थ्य सेवातर्फबाट सबैभन्दा बढी कर बुझाउने ओम हस्पिटल, पर्यटन उड्ययन क्षेत्रबाट बुद्ध एयर, औषधि उद्योगबाट देउराली जनता, रेमिट्यान्स कम्पनीबाट आईएमई, लेखापरीक्षकबाट सीएमसी, चिकित्सकहरूबाट भोला रिजाल, शिक्षा सेवातर्फबाट काठमाडौं मेडिकल कलेज रहेका छन् ।
कानुन व्यवसायीहरूबाट पायोनियर ल एसोसियसन, मूल्य अभिवृद्धितर्फ उत्कृष्ट सहभागिता जनाउनेमा त्रिशक्ति ट्रेडर्स र संघसंस्थाबाट उद्योग वाणिज्य महासंघ सम्मानित भएको छ ।
उनीहरूलाई अर्थमन्त्री रामशरण महतले सम्मानित गरेका हुन् । संघसंस्थाबाट योगदान पुर्याउनेमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल बैंकर्स एसोसिएसन परेको छ ।















प्रतिक्रिया