२९ आश्विन २०८३, बिहिबार

लासमाथि उत्सवै उत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gajendra-Budhathoki

शनिबार साहित्य

गजेन्द्र बुढाथोकी

ओमप्रसाद उपाध्याय, वनमालाका नामी पण्डित थिए । उनका २ भाइ छोरामध्ये जेठा श्रीभक्त ०४६ सालको आन्दोलनपछि जनमोर्चामा लागे । गाउँमा सहभोजका आयोजना भयो, दलितहरूसँगै बसेर भोज खाएका आरोपमा श्रीभक्तलाई गाउँमा पानी काढे । उनीबाट पुजापाठ चल्न छाड्यो ।

०५२ सालमा मशालको एउटा हाँगो, भूमिगत भयो । माओवादीका नाममा जनयुद्ध शुरू गर्यो । श्रीभक्त अचानक गाउँबाट हराए । माओवादीलाई निमिट्यान्न पार्न किलोशेरा टू सर्च अभियान चलाइयो ।

०५३ साल जेठ ८ गते, हरिनाथ गाउँका जजमानी सकेर साइकलमा फर्किँदै थे । धोती, पुरानो फाटेको कुर्ता, टाउका टोपी, रबरका चप्पल, पहेंलो कपडाका पोकामा जजमानले दिएका तुलफूल, चामल र राेटीहरू, गोजीमा ८५ रूपैयाँ नगद ।

एउटा गाडी आएर नजिकै रोकियो ।

बाजे…..

deathfeastsketchहजुर, भन्न नपाउँदै कालो बोराजस्तो केही चिजले मुख छोपियो र गाडीमा हालियो ।

भोलि पल्ट बिहानै सिरपालीका जंगलमा लास भेटियो ।

पुलिससँग मुठभेठमा माओवादी मारिएको रे, हल्लाखल्ला हुन थाल्यो । राजमार्गकै जंगल मान्छेहरू भकाभक उत्रन थाले । एउटा कट्टुमात्र लगाएको, लगभग अर्धनग्न लास लडिरहेको छ । नजिकै भरूवा बन्दुक छ, एउटा प्लास्टिकका पोकामा बारूद र केही छर्राहरू राखिएको छ ।

प्रहरीले मुचुल्का उठायो- वनमालाका ओमप्रसादको छोरा श्रीभक्त । मुठभेडमा मारिएको ।

अबुई, हरिनाथ काका……अचानक ५-७ वर्षकी एउटी केटी कराइन ।

बेलुका जिल्ला प्रहरी कार्यालयमा भोज चल्यो ।

……..

५ वर्षपछि

जंगलमा पाता फर्काएर सई नगेन्द्र यादवलाई राखिएको छ । ८-१० जना छापामारहरू बन्दुक लिएर उभिएका छन ।

साला कुकुर, तँ पनि थिइस हैन, शहिद कमरेड हरिनाथका हत्या गर्ने…. १८-१९ वर्षको छापामार शालिन, आगोमा तताइएको बाँसका भाटाले बजाउँछ ।

मैले हैन हजुर, सुरेन्द्र इनिस्पेक्टरले गोली हानेको….सई यादव याचना गर्छ ।

नचाहिँदो बोल्छस, कुकुर….तैले नै गोली चलाएको हामीलाई था छ… कमरेड बलवीर, खुकुरी लिएर अगाडि सर्छ ।

हजुर मलाई नमार्नुस, सई यादव पाइन्टमै खुस्काउँछ ।

ड्याङ, ड्याङ गोली चल्यो ।

साला हत्याराका सफाया गरियो, कमरेड बलवीरले स्याटेलाइट फोनमा कसैलाई सुनायो ।

नेकपा माओवाद जिन्दावाद, अमर शहिद अमर रहुन ।

गुटुटु कुद्दै कमरेडहरू जंगलमा अलप भए ।

उता सेल्टरमा खसी काटियो । कमरेडहरूले विजय उत्सव मनाए ।