काठमाडौं, २९ कात्तिक । सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको आगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सुरक्षा ब्यवस्था चुस्त बनाउन कार्यदल बनेको छ ।
यो कार्यदलले अतिबिशिष्ट ब्यक्तिको सुरक्षा चार घेरामा दिने तयारी गरेको छ ।
नेपाली सेनाका बिमानस्थलमा रहेको ईन्जिनियर निर्देशनालयका निर्देशक सहायक रथी बिजेन्द्र गौतमको संयोजनमा बिमानस्थल सुरक्षा समिती बनाइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, अध्यागमन बिभाग र भन्सार बिभागका प्रतिनिधी सम्मेलित छन् ।
स्रोतका अनुसार अतिबिशिष्ट ब्यक्तिको सुरक्षालाई निकटतम, भित्री, मध्य र बाहिरी गरी चार तहमा बिभाजन गरिएको स्रोतले जनायो ।
अतिबिशिष्ट ब्यक्तिको सुरक्षा जिम्मेवारी नेपाली सेनाको बिशेष कार्यदलले लिने गर्छ । यसमा पनि निकटतम घेरामा नेपाली सेनाको उक्त कार्यदल छ ।
त्यो भन्दा बाहिरको भित्री र मध्य सुरक्षा घेरा सेनाले नै सम्हाल्नेछ । बाहिरी घेरामा नेपाल प्रहरी छ । त्यसपछि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यस्तै राष्ट्रिय अनुसन्धान बिभाग (गुप्तरचर)ले आफ्नो हिसाबले सुचना संकलनको कार्य गर्नेछ ।
बिमानस्थलका साथै निवास स्थल सोल्टी होटल, कार्यक्रम स्थल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, महाराजगञ्ज, लैनचौर लगायतका क्षेत्रमा त्यहि अनुसारको सुरक्षा ब्यवस्था मिलाइएको छ ।
यस्तै रिट्रिटका लागि तय भएको धुलिखेलको द्धारिका हेरिटेजमा समेत सुरक्षा तय भइसकेको छ ।
बिमानस्थल आसपास र भित्रको क्षेत्रलाई निगरानी गर्न झण्डै २ सय २५ वटा सिसिटिभी क्यामरा तय गरिसकिएको छ ।
बिमानस्थल आसपासका उच्च स्थानमा अत्याधुनिक हतियार सहित सेनाको टोली बसेर निगरानी गर्ने छ ।
स्रोतका अनुसार उक्त टोलीले अतिबिशिष्टको आगमन तथा प्रस्थानका बेला केहि शंकास्पद गतिविधी देखे तुरुन्तै गोली हान्न सक्नेछ ।
पुल, चोक, घुम्ती लगायतका सुरक्षामा सशस्त्र र नेपाल प्रहरी बस्नेछन् । भित्रि सुरक्षा भने सेनाले नै लिनेछ ।
अतिबिशिष्ट ब्यक्तिको उडान र अवतरणका बेला आधा घण्टा पहिला देखी नै बिमानस्थलमा अन्य उडानहरु हुन दिइने छैन ।
त्यस अनुसार मंसिर ९ देखी १२ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उडान भर्ने आन्तरिक तथा बाह्रय उडान प्रभाबित हुनेछन् ।
स्रोतका अुनसार समितिले सिंगो बिमानस्थलको सुरक्षा, रनवेको सुरक्षा बिमानस्थलबाट हुने सवारीहरुको ब्यवस्थापन र अतिबिशिष्ट ब्यक्तिले ल्याउने एयर क्राफ्टको सुरक्षा हेर्नेछ ।
यस्तै अतिबिशिष्ट ब्यक्तिले बिमानस्थलमा प्रयोग गर्ने कक्षका साथै उनीहरुले साथमा लिएर आउने लगेज ब्यवस्थापनका लागि कार्य बिभाजन गरिएको छ ।
साथै बिमानस्थल आगमन र आवागमनमा कुनै कठिनाई र त्रुटि हुन नदिन कार्य बिभाजन गरेको छ ।















प्रतिक्रिया