विजय थापा
भर्जिनिया, २८ कात्तिक । डिसी महानगर क्षेत्रको बाल्टिमोरमा प्रवासी नेपाली मञ्च अमेरिकाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले उहाँको स्वास्थ्य लाभको कामना गरेका थिए । कार्यक्रममा महा वाणिज्यदुत प्रेमराजा महतले पनि खनालको स्वास्थ्य लाभको शुभकामना दिनुभयो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले सबैलाई धन्यबाद दिनुभएको थियो । आफू अमेरिकामा आएर पूर्ण स्वाथ्य लाभ गरी स्वदेश फर्कदैँ गरेकोले देशलाई अझै नयाँ जोश र जाँगरका साथ अघि बढाउने र मात्रीभूमिको रोग निको वनाई सुन्दर ,शान्त र विकसित नेपाल निर्माण कार्यमा लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘हाम्रो देश नेपालले राजनैतिक क्रान्ति सम्पन्न गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘अब देशको सम्पूर्ण शक्ति आर्थिक क्रान्तिको लागि तयार हुनु पर्छ ।’
प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापाले विदाई कार्यक्रममा उपस्थित हुने सम्पूर्ण संघ–संस्थाका प्रमुखहरू, महावाणिज्यदुतावास, नेपाली दुतावास, जन हप्किन्स अस्पताल र उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्य कर्मीहरुलाई मञ्चको तर्फबाट विशेष धन्यवाद दिनुभयो ।
मञ्चका केन्द्रीय सदस्य डिल्लीराज पौड्यालले नेता खनाल पूर्ण स्वाथ्य भएर स्वदेश फर्कनु भएको भन्दै देशको निकास र नयाँ संबिधान दिने कुरामा महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । नेपाल फर्कनु अघि पूर्व प्रधानमन्त्री खनालले शुक्रबार नै वाशिंगटन डिसीस्थित नेपाली दुतावास जानु भै भेटघाट गर्नु भएको थियो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता खनाल विगत डेढ महिनादेखि अमेरिकाको मेरिल्यान्डको जान हप्किन्स अस्पतालमा मुत्रनलीको शल्यक्रिया गरी स्वास्थ्यलाभ गर्दै आउनु भएको थियो । उहाँ आज साँझ नोभेम्वर १३ तारिख टर्किज बिमानबाट नेपाल फर्कदै हुनुहुन्छ ।



















प्रतिक्रिया