काठमाडौं, २८ कात्तिक । बाराको गढीमाइ मेला नजिकिँदै गर्दा त्यहाँ हुने पशुवली रोक्न नेपाल भारत दुबैतिरका अधिकारवादीले चर्को पहल सुरु गरेका छन् ।
भारतीय राजनीतिज्ञ तथा आर्य समाजका संस्थापक स्वामी अग्निेवेश त्यही उपक्रममा काठमाडौं आइपुगेका छन् ।
नेपालका राजनीतिज्ञदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर विश्वकै ठूलो पशु हत्यालाई रोक्न आग्रह गर्ने उनको योजना रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘बाबुराम भट्टराईलाई त मैले भेटि पनि सकेँ, उहाँले पशुबली रोक्न सक्दो सहयोग गर्छु भन्नु भएको छ’ बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अब प्रधानमन्त्री सुशील कोइरालालाई पनि भेटैछु, जसरी पनि हजारौं निहत्था पशुको जीवन बचाउनु छ ।’
गढीमाइ मेलाका आयोजक र पुजारीहरुलाई पनि भेटेर पशु वली रोक्न आग्रह गर्ने उनले बताए । मंसिर ११ मा सुरु हुने दुई दिने मेलाको पहिलो दिनै गढिमाइ पुगेर पशुवली रोक्न अभियानै पनि छेड्ने योजनामा छन् ।
‘कानूनमा अपराध मानिएला नमानिएल’ उनले भने, ‘तर पशुवली सनातन हिन्दू वैदिक दर्शनको दुष्टिमा महा पाप हो, यो अन्धविश्वासले दिलाउने कलंकबाट नेपाल र हिन्दूधर्मलाई बचाउन मन्दिरलाई हिंसामुक्त बनाउनै पर्छ ।’
हरेक पाँच वर्ष लाग्ने गढी माइ मेलामा करिब ५ लाख पशुको वलि दिने गरिन्छ । ७० प्रतिशत पशु भारतबाट भित्र्याइने गरिन्छ ।
केही अघि दिल्लीका पशु अधिकारवादीहरुले गढीमाइ मेलामा बलि दिन भारतबाट कुनै पनि पशु नेपाल पुर्याउन रोकि पाऊँ भनेर त्यहाँको सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।
‘अदालतले त्यसमाथि आदेश दिँदै पशुको सिमापार प्रवेश पूर्णतः रोक्न भारतीय सरकारलाई आदेश दिएको पनि एक महिना भइसकेको छ’ अग्निेवशले भने, ‘त्यो कडाइका साथ कार्यान्वयन होस् भनेर मैले बिहारका मुख्य मन्त्री र विपक्षीदलका नेता दुबैलाई पटक पटक भेटिसकेँ ।’
अदालतको आदेश अनुसारै उत्तराखण्ड प्रदेशले गढीमाइका लागि पशुहरु निर्यातलाई रोक लगाएको औपचारिक घोषणा गरिसकेको छ ।
बिहारले पनि सिमाका साना ठूला सबै नाकामा कडा सुरक्षा तैनाथ गरेर सर्वोच्चको आदेशको पालना गरेको त्यहाँको स्थलगत अध्ययन गरेर फर्किएका नेपालका पशुअधिकारवादीहरुले बताएका छन् ।















प्रतिक्रिया