३० आश्विन २०८३, शुक्रबार

वीरमा दक्ष जनशक्ति अभाव देखाएर बजेट खेर जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, २७ कात्तिक । सरकारले वीर अस्पताललाई बर्सेनि करौडौं रुपैयाँ बजेट छुट्याउँदै आए पनि अस्पतालले बजेट र दक्ष जनशक्तिको अभाव देखाएर उपचारमा अत्यावश्यक एमआरआई, सिटिस्क्यानजस्ता मेसिन किन्न सकेको छैन।

यसले गर्दा सर्वसाधारण जनता सस्तो र सहज उपचारबाट वञ्चित छन। उपचार शुल्क सस्तो भएकाले वीर सर्वसाधारणको पहिलो रोजाइमा पर्ने गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सरकारले अत्यावश्यक उपकरण खरिद गर्न अस्पतालको पुँजीगत खर्चतर्फ मात्रै आर्थिक वर्ष २०६९–७० मा आठ करोड ६४ लाख र २०७०–७१ मा ११ करोड ८० लाख रुपैयाँ छुट्याएको थियो। चालू आर्थिक वर्षका लागि १० करोड २९ लाख रुपैयाँ छुट्याएको छ।

अस्पताल व्यवस्थापन पक्ष बजेट अभावमा एमआरआई मेसिन खरिद गर्न नसकिएको भन्दै पन्छिने गरेको छ।

पछिल्लो समय बिरामी, आवासीय चिकित्सक र कर्मचारीको दबाब बढ्न थालेपछि अस्पतालले मेसिन खरिदका लागि बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन।

दुईपटकसम्म बोलपत्र आह्वान गर्दा पनि तोकिएभन्दा बढी रकमको प्रस्ताव आएपछि खरिद गर्न नसकेको न्याम्सका उपकुलपति डा.गणेश गुरुङले बताए।

वीर अस्पताल चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालनमा छ।

हामीले तोकेभन्दा बढी रकममा मेसिन ल्याउन प्रस्ताव आउँछ। त्यो गर्न हाम्रो क्षमता छैनु, गुरुङले भने, त्यही भएर अहिलेसम्म मेसिन खरिद गर्न सकेका छैनौं।

यसका लागि कि त मन्त्रालयले थप बजेट दिनुपर्छ कि त कम मूल्यको मेसिन खरिद गर्नुपर्ने हुन्छ, के गर्ने भन्नेमा छलफल जारी छ।

अस्पतालमा सिटिस्क्यान मेसिन बिग्रिएपछि स्वास्थ्य सेवा विभागले दिने भनेको नयाँ मेसिन पनि आइपुगेको छैन।

विभागले सिटिस्क्यान मेसिन ल्याइदिन्छु भनेको हो तर अहिलेसम्म आएको छैन। यसमा हाम्रो दोष छैन, अस्पतालका निर्देशक डा। स्वयंप्रकाश पण्डितले भने, हामीले मात्र प्रयास गरेर हुँदैन।

विभागका महानिर्देशक डासेनेन्द्र उप्रेतीले भने अस्पतालका लागि खरिद गरिएको लिस कम्पनीको सिटिस्क्यान मेसिन कोलकातासम्म आइसकेको र केही दिनमै नेपाल ल्याउने तयारी भएको बताए। उप्रेतीले अन्‍नपूर्णसँग भने, वीरले मेसिन सञ्चालन गर्ने कोठा २५ गतेसम्म तयार पार्छु भनेको छ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालमा अत्यावश्यक उपकरण नहुँदा रोग पत्ता लगाउन दुर्गमबाट ऋण काढेर उपचार गर्न आउने सयौं बिरामी निजी अस्पतालमा चर्को शुल्क तिर्न बाध्य छन्।

अस्पतालमा जनशक्ति अभाव भएको भन्दै क्याथ ल्याब र नयाँ आईसीयूका तीनवटा मेसिन पनि सञ्चालनमा ल्याइएको छैन।

न्याम्समा नयाँ पदाधिकारी आएपछि सञ्चालनमा ल्याउने भनिएको क्यान्सर छुट्याउन सक्ने सिलिय मेसिन र जिनेटिक ल्याब पनि अझै सञ्चालनमा आउन सकेका छैनन्।