२९ आश्विन २०८३, बिहिबार

मैले भन्दा सभासद्ले मानेनन्, अब युवाहरुले खवरदारी गर्नुहोलाः सभामुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौँ, २६ कात्तिक । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको कामलाई थाती राखेर विदेश र जिल्ला दौडाहामा लागेका सभासद्लाई खवरदारी गर्न युवाहरुसँग आग्रह गर्नुभएको छ ।

समयमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले बुधबार ज्ञापनपत्र बुझाउन सिंहदरवार पुगेका युवा संघ नेपालका प्रतिनिधीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
संविधान निर्माणको कामलाई नै थाती राखेर विदेश र जिल्ला दौडाहामा कुद्ने सभासद्लाई संविधानसभाले कारवाही गर्ने कुनै प्रावधान नभएको भन्दै युवाहरुलाई नै खवरदारी गर्न उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

‘तपाईहरुले नै बनाएको कार्यतालिका र नियमावलीलाई छाडेर तपाईहरु किन विदेश र जिल्ला दौडाहामा कुद्नु भएको ? भनेर तपाई युवाहरुले सभासद्हरुलाई भन्नुहोला उहाँहरुका लागि सबै भन्दा ठूलो कारवाही नै त्यही हुन्छ,’  उहाँले भन्नुभयो ।
शीर्ष दलका शीर्ष नेताहरुसँग निक्कै आक्रमक देखिनु भएका नेम्वाङले आफुले पटक–पटक सभासदहरुलाई संविधान जारी नगरुञ्जेलसम्म जिल्ला र विदेश भ्रमणमा ननिस्कन आग्रह गरे पनि वेवास्था गरेको आरोप लगाउनु भयो ।

उहाँले आफु सभासद् भए पछि एक पटक पनि विदेश नगएको र जिल्ला पनि निक्कै कम मात्र गएको भन्दै अन्य सभासदलाई पनि विदेश र जिल्ला भन्दा संविधान निर्माणलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । ‘दलहरुले छलफल र सहमतिबाटै संविधान निर्माण गर्छौ भनेको ४ वर्ष ९ महिना वितिसक्यो, उहाँहरु अहिले पनि २ घण्टामा सहमति गर्छौ भन्नुहुन्छ, तर व्यवहारमा त्यो कहिल्यै देखिएन,’ उहाँले तीन दलका शीर्ष नेताप्रति लक्षित गर्दै भन्नुभयो, ‘एक थरी फिदिमदेखि रोल्पासम्म कुद्ने अनि अर्को थरी पत्रकार सम्मेलन गर्दै हिड्ने यो तरिकाले समयमा संविधान जारी हुन्छ ?’
उहाँले सार्क सम्मेलन अघि दलहरुबीच सहमति नभए त्यसले सार्क मुलुकमा पनि नराम्रो सन्देश जाने भन्दै आगामी कात्तिक मसान्ताभित्र जसरी पनि सहमति गर्न दलहरुलाई आग्रह गर्नुभयो ।  ‘आगामी माघ ८ भित्रमा नयाँ संविधान जारी भएन भने देश असहज अवस्थामा प्रवेश गर्नेछ,’ उहाँले भन्नुभयो ‘जनताका बीचमा गएर दलहरुले एक वर्ष भित्रमा संविधान जारी गछौँ भनेर बाचा–कसम खाएकाले जनताले जनादेश दिएका हुन, अब यसबाट कुनै पनि राजनीतिक दलहरुले भाग्न पाउँदैनन् ।’

युवा संघ नेपालले समयमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले सुरु गरेको ‘संविधान निर्माणमा युवा दववा अभियान’ अन्तर्रगतको यो पहिलो चरणको आन्दोलनमा विभिन्न दलका प्रमुखलाई पनि ज्ञापन पत्र वुझाउने तयारी गरेको संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

‘हामीले यो पहिलो चरणको आन्दोलन आगामी मंङ्सिर  ५ सम्म जारी राख्ने तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘यस आन्दोलन अन्र्तरगत संविधानसभामा रहेका सबै सभासद्लाई एसएमएस पठाएर उनीहरुलाई संविधान निर्माणमा केन्द्रित गराउने छौँ ।’  एसएमएसमा ‘जनमतको कदर गर माघ ८ भित्र संविधान जारी गर्’ लेखिने उहाँले जानकारी दिनुभयो ।