३० आश्विन २०८३, शुक्रबार

मैदानमा उत्रियो नेपाली सेना, विभिन्न उपसमिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Armyकाठमाडौं, २४ कात्तिक । सरकारले सार्क शिखर सम्मेलनका क्रममा सुरक्षालगायतका व्यवस्था मिलाउन उपप्रधान तथा गृहमन्त्री वामदेवको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात व्यवस्था समिति गठन गरेको छ ।

त्यसैगरी नेपाली सेनाका बलाधिकृतरथी पवनबहादुर पाण्डेको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात नियन्त्रण समन्वय समिति’ गठन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ती अनुसार मूल समितिअन्तर्गत सुरक्षा परिवहन तथा यातायात व्यवस्था अनुगमन तथा समन्वय, अति बिशिष्ट व्यक्ति सुरक्षा, विमानस्थल, बायुयान, भीभीआइपी लाउन्ज आगमन तथा प्रस्थान कार्यक्रम तथा व्यागेज सुरक्षा, ट्राफिक व्यवस्था, खतरा मूल्यांकन, सम्पर्क तथा बन्दोवस्ती व्यवस्थापन, सुरक्षा पास तथा मिडिया व्यवस्थापन, मेडिकल कभर समन्वय तथा सुरक्षा, प्रथम महिलाको कार्यक्रम, र यातायात व्यवस्थालगायतका उपसमितिहरु गठन भएका छन् ।

उपसमितिहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत गृह, परराष्ट्र, संचार, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति छ ।

संयुक्त सुरक्षा तथा बन्दोबस्ती कार्ययोजना तयारीको क्रममा रहेको र उपसमितिहरुले आ आपनो जिम्मेवारीअनुसारका स्थान विशेषको सुरक्षा सुदृढिकरणको लागि रेकी गर्नुका साथै समिति उपसमितिहरुबीच समन्वय गर्ने कार्य भईरहेको निर्देशनालयले जनाएको छ ।

हालसम्म विभिन्न उपसमितिहरुबाट विमानस्थल, आवासस्थल, रिट्रिटस्थल, सवारी मार्ग र अतिरिक्त कार्यक्रम स्थलहरुको रेकी तथा समन्वय गर्ने कार्य भईसकेको जनाइएको छ ।

त्यसैगरी आवासस्थल, रिट्रिटस्थल र समारोहस्थलको कार्ययोजना तयार भईसकेको छ ।

आवासस्थल र रिट्रिटस्थलको सुइट एलोकेसनको कार्य सम्पन्न भईसकेको तथा १८ औं सार्क शिखर सम्मेलनको सुरक्षा योजना तयारी अवस्थामा रहेको निर्देशनालयले जनाएको छ ।