काठमाडौं, २४ कात्तिक । शुक्रबार दिउँसो साढे एक बजे । थानकोटबाट रत्नपार्क चल्ने बा२ख २३६३ नम्बरको मिनीबसले सुन्धरामा लेन मिच्यो ।
ट्राफिकले तुरून्त गाडीलाई रोक्यो र ड्राइभर राजेश सापकोटालाई नियन्त्रणमा लियो । ड्राइभर अघि पुग्ने बित्तिकै ट्राफिकले मापसे गरेको गन्धले नै थाहा पाइहाले । ट्राफिकले भने, ‘मापसे गरेर गाडी हाँक्ने ।’ ड्राइभर राजेशले उत्तर दिए, ‘सर यो त मैले हिजो खाएको गन्ध हो ।’
लगतै गाडीका यात्रुले पनि थाहा पाए । उनीहरूले मदिराको गन्ध थाहा थियो । तर दिउँसै भएकोले गाडीमा कसैले पोखिदिएकी भन्ने सोचे ।
थानकोटबाट बाटामा आउँदा अन्य ट्राफिक प्रहरीले पनि रोकेर चेक गरेका थिए । तर सबैले सोचे दिउँसै भएकोले गाडीमा रक्सी पोखेर गन्ध आएको होला ।
ट्राफिकले ड्राइभर राजेशलाई समाते लगतै यात्रुहरूले ट्राफिक प्रहरीलाई धन्यवाद दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
दरबार मार्गबाट खटिएको यो ट्राफिक टोली ब्रेथलाइजरमा मापसे देखिए पछि नजिकैको वीर अस्पतालमा पुनः परीक्षण लगे । ‘तर अचम्म भयो । रिर्पोट आयो, तर उनले मापसे गरेकै छैन भनेर,’ दरबार मार्ग ट्राफिक वृत्तका प्रमुख तथा प्रहरी निरीक्षक सीताराम हाछेथुले भने, ‘ड्राइभरको नजिक जादा नै रक्सी गनाइरहेको छ । डाक्टरको रिर्पोटले देखाएन ।’
ट्राफिकलाई अस्पतालको कामदेखि नै शंका लाग्यो । र ड्राइभर राजेशलाई पाटन अस्पतालमा लगियो । ‘त्यहाँ त डाक्टरको रिर्पोटले मापसे गरेको देखायो,’ हाछेथुले अचम्म मान्दै भने, ‘एउटै मान्छेको मापसेको रिर्पोट, पाटनमा एउटा, वीरमा अर्कै ।’
त्यसपछि उनी दुवै रिर्पोट लिएर वीरमा पुगे । अस्पताल प्रमुखलगायत अन्यलाई देखाए । गल्ती गर्नेलाई कारवाही गर्नुपर्ने बताए ।
‘अस्पतालले थप कुराका लागि मंगलबार आउनु भनेको छ,’ हाछेथुले भने । किन वीरका डाक्टरले त्यसो गरे भन्ने प्रश्न यहाँ उब्जन्छ । त्यसको कारण रहेछ, एक दिन बेलुकी वीरमा काम गर्ने डाक्टर मापसेमा परेका रहेछन् । उनले समातिएपछि भने छन्, ‘म वीर अस्पतालको डाक्टर हुँ । तर ट्राफिक प्रहरीले छाडेन ।’ त्यसैको रिसमा यस्तो गरेको हुन सक्ने हाछेथुले बताए ।
वीरबाट भएको यो लापरबाहीको पहिलो घटना भने होइन । ‘यसअघि पनि एक महिला डाक्टरले मापसे गरेका व्यक्तिलाई छैन भन्ने रिर्पोट दिएका थिए,’ हाछेथुले भने, ‘मैले त्यस बेलाका वीरका प्रमुख बुलन्द थापालाई फोन गरेर गुनासो गरेपछि ती डाक्टरलाई चेतावनी दिइएको थियो ।’
त्यसपछि ट्राफिक प्रहरीलाई पहिले छैन भनेको रिर्पोटमा पछि छ भन्दै लेखिदिएकी थिइन् । हाछेथुले देशमा दुर्घटना बढिरहेको र डाक्टरका यस्ता लापरबाहीले गर्दा अझ समस्या पर्ने बताए । ड्राइभर सापकोटालाई भने आइतबार म्याद थपेर हनुमान ढोकामा थुनाका लागि पठाईएको छ ।















प्रतिक्रिया