काठमाडौँ, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको बाटो आगामी साताभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता सडक निर्माणमा संलग्न निकायका पदाधिकारीहरूले व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदी नेतृत्वको सडक निर्माण अनुगमन टोलीलाई निर्माणमा संलग्न निकायका पदाधिकारीले एकसाताभित्रै उक्त बाटो पूर्णरुपमा कालोपत्र भइसक्ने जानकारी आइतबार दिएका हुन्।
आगामी महिना राजधानीमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को १८औँ शिखर सम्मेलनमा सहभागी हुन आउने सदस्य मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखका निम्ति सरकारले उक्त होटलमा आवासको व्यवस्था गरेको छ। सोही होटलमा शिखर सम्मेलनबाहेक सार्कका सम्पूर्ण बैठक हुनेछन् भने सार्कका अन्य विशिष्ट पाहुनालाई पनि त्यही बस्ने प्रबन्ध भएको छ।
अनुगमन टोलीले कोटेश्वर–तीनकुनेको खाली जग्गाको मुआब्जासम्बन्धी विवाद काुननी र व्यावहारिक रुपमा शीघ्र समाधान गर्न स्थानीय विकास मन्त्रालयसँग समन्वय गरी महानगरपालिकालाई त्यहाँ तत्काल उद्यान निर्माण गर्न निर्देशन दिएको छ।
त्यसैगरी नक्साल नारायणचौर उद्यान निर्माणका साथै कमलपोखरीको मर्मतसम्भार निर्धारित समयमा नै सम्पन्न गर्न अनुगमन समितिले दिएको छ। तोकिएको समय र लागतमा काम पूरा नगर्ने ठेकेदार र जिम्मेवार कर्मचारीलाई कारबाही गर्ने चेतावनी सचिव सुवेदीले दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
उक्त कार्यालयका अनुसार अनुगमन टोलीले सार्क शिखर सम्मेलनका क्रममा प्रयोग हुने अन्य सडक तथा पूर्वाधारहरूको अनुगमन गर्दै बिजुली र टेलिफोनका तार व्यवस्थापनका साथै तिनका पोल, होर्डिङ बोर्ड तत्काल हटाउन पनि निर्देशन दिएको छ।
आइतबारको अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, राष्ट्रिय सतर्कता केन्द्रका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त, सूचना तथा सञ्चार र स्थानीय विकास मन्त्रालयका सहसचिव, सडक, खानेपानी तथा ढलनिकास, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुख र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सहभागी थिए। रासस















प्रतिक्रिया