बर्लिनको पर्खाल भत्काइएको अहिले २५ बर्ष पूरा हुँदैछ । यस उपलक्ष्यमा जर्मनीमा एक पर्वको रुपमा मनाइरहँदा पूर्व जर्मनहरु भने त्यति खुसी देखिँदैनन् । सिमेन्ट र इँटाद्धारा बनाइएको पर्खाल २५ बर्ष अघि भत्काइए पनि जर्मनहरुको मनभित्रको पर्खाल भने माथी माथी अक्कासिँदो छ । पूर्वजर्मनीमा लोकतन्त्रको मान्यता थिएन, पश्चिमाहरुको भनाइ अनुसार त्यहाँ कानूनी राज्य थिएन । तर पूर्वजर्मनहरुले भने पर्खाल भत्काइएपछिको आज २५ बर्ष हुँदासम्म पनि बिभेदको अन्त नभएकाले आफूहरुलाई निराश गराएको बताउँछन् । उनीहरुका अनुसार जर्मनी एकता भनियो । तर, एकताको नाममा पर्व जर्मनीका राम्रा पक्ष्यहरु पनि फालियो र पश्चिमका गलत पक्षहरुलाइ पूर्ब जर्मनीमा जबर्जस्ती लादियो । जस्तै बालबच्चाहरुको रेखदेख, पारिबारिक एकता, शिक्षनीति एवं महिला र पुरुषबीचको समानतालाई जर्मनी एकतासंगै स्वीकार गरिएको भए जर्मनी एकतामा अरु बल पुग्थ्यो । अहिलेसम्म पनि पूर्ब जर्मनीका पाँच प्रान्त (राज्य)हरुमा सरकारी कार्यालय लगायत कुनै पनि संघसंस्थामा कर्मचारीहरुको तलबमा समानता छैन । पूर्बतिरकाले अझैपनि पाँच देखि दश प्रतिशत कम तलब पाउने गरेका छन् ।
यस्तै पूर्ब जर्मनीमा त्यतिबेला जीविकोपार्जन गर्नसहज थियो भने अहिले त्यहाँ मानबीयता भन्दा पनि ब्यक्तिगत स्वार्थ अक्कासिएको बताउँछन् । मैले यसबीच पूर्ब बर्लिन पुगी त्यहाँका बासिन्दाहरुलाइ त्यतिबेला र अहिलेको अबस्थामा के फरक छन् भनी दश बुँदाहरु एक एक गरी सोधेको थिएँ । जस्तैः १) बिश्वमा देखा परेको खुलापन, २) वाक एवं प्रकाशन स्वतन्त्रता, ३) बन्द ब्यापारमा स्वतन्त्रता, ४) गास, बास र कपासको निश्चितता, ५) स्वास्थ्य र शिक्षाको ग्यारेन्टी, ६) छरछिमेक र पारिवारिक एकता, ७) प्रकृतिक बाताबरणीय अवस्था, ८) मानब अधिकारको संरक्षण, ९) पेशा र जागिर पाउने अबसर र १०) बालबच्चाहरुको रेखदेखको सवाल ।
धेरैजसोको उत्तर यसप्रकार थियो, त्यतिबेला बालबच्चाहरुको रेखदेख एवं शिक्षाको पूर्ण जिम्मेवारी सरकारले लिन्थ्यो । त्यसैले त्यतिबेलाका बालबच्चाहरु अनुशासित थिए । उनीहरुको क्षमता अनुसार शिक्षामा लगानी गरिन्थ्यो र धेरैजसोले शिक्षा हासिल गर्ने मौका पाए । तर अहिलेका बच्चाहरुमा त्यसो हुन सकिरहेको छैन । त्यतिबेला बेरोजगारी थिएन । अहिले कुनै कुनै ठाउँमा त २५ प्रतिशत जनता बेरोजगार छन् । यो ठीक हो कि अहिले बोल्न र हल्ला गर्न सबैलाइ छुट छ तर भोको पेट लिएर हल्ला गरेरमात्र पेट भरिने होइन । स्वास्थ्यको कुरा गर्ने हो भने बिरामी परेर डाक्टर कहाँ जान वा अस्पताल जान अहिले भन्दा त्यतिबेला सहज थियो । अहिले त्यसका निम्ति स्वास्थ्य बिमा गराउनु पर्छ तर त्यतिबेला सबैकुरा सरकारले जिम्मा लिन्थ्यो ।
यदि तपाईँले अहिले जर्मनीभरका बिश्वविद्यालयहरुमा हेर्नुभयो भने कुनै पनि यस्तो बिश्वबिद्यालय भेट्नुहुने छैन जहाँ त्यतिबेला पूर्बजर्मनीमा अध्ययन गरेको ब्यक्तिहरु प्रोफेसरका रुपमा काम गर्ने कमसेकम पचास प्रतिशत नभएको होस् । जबकि त्यतिबेला जर्मनी एक हुँदा छ करोड पश्चिम जर्मनीमा जनसंख्या थिए भने दुई करोड पूर्बबाट मिसिएको हो । प्रतिशतको आधारमा कमसेकम दुइतिहाइ प्रोफेसर पश्चिम जर्मनीमा जन्मे हुर्के र पढेका हुनुपर्ने हो तर त्यसो छैन । झण्डै आधाआधी छन् । यस्तै राजनीतिक नेतृत्वमा हेर्नुभयो भने प्रायः सबै पार्टीका माथिल्ला नेताहरु पूर्ब जर्मनीबाट आएकाहरु छन् । चाहे तपाईँ कन्जरभेटिब पार्टी सिडिउ भन्नुस, चाहे सोसल डेकोक्रेट भन्नुस् । यसले के प्रष्ट पार्छ भने पूर्ब जर्मनीका पालामा शिक्षा क्षेत्र निकैमाथि थियो । अब रह्यो पूर्ब जर्मनीका पालामा बिश्व भ्रमण गर्न प्रतिबन्ध थियो भन्ने ? तपाईँ आफै बिचार गर्नुस् जब रोजगार छैन, अनि हातमा डमडु छैन भने तपाइ बिश्व भ्रमण गर्न पाउने अधिकार हातमा लिएर बस्नुस्, के त्यो अधिकारले तपाइलाइ बिश्व घुमाउँछ ?
त्यतिबेला यदि तपाईलाइ केही दुख संकट आइलाग्यो भने तपाईका छिमेकीहरु तपाईँलाइ सहयोग गर्न हरपल तयार हुन्थे । तर अहिले “छ दाम हुन्छ सबै काम, छैन, दाम तपाईको छैन काम” को अबस्था छ ।
अझ अर्को अत्यन्त चाखलाग्ने कुरा त के हो भने पूर्ब जर्मनीको संस्कृति, यसको चिन्तन र सोचाइ । नभेम्बर १९८९मा जव बर्लिनको पर्खाल भत्काउन दशौंलाख मानिसहरु सडकमा उत्रिए, उनिहरुले समाजिक संरक्षण, राजनैतिक स्वतन्त्रता र आर्थिक सम्पन्नताको सपना देखेका थिए । अर्थात पश्चिमेलीहरुले उपरोक्त तीन कुराहरुको सपना बाँडेका थिए । अहिले त्यो सपना पूरा नभए पछि जर्मन संसदमा प्रतिपक्षी नेता ग्रेगोर गीजी भन्छन् सामाजिक संरक्षण बिना र आर्थिक ग्यारेन्टी बिनाको स्वतन्त्रताले त्यो समाजको, त्यो मुलुकको मानबीयता, संस्कृति र अनुशासनको जगेर्ना गर्न सक्तैन । अहिले जर्मनीमा त्यही भैरहेको छ, त्यसैले महत्वपूर्ण कुरा के हो भने हाम्रो एकतामा सामाजिक प्रजातन्त्र, सामाजिक सुरक्षा र आर्थिक ग्यारेन्टी हुनुपर्ने हो । हो मलाइ थाहा छ, हामी यहाँ संसद भवनमा जो बसिरहेका छौं, हामी कुनैपनि बेला लण्डन, पेरिस वा न्यूयोर्क पुग्न सक्छौं । तर पचास प्रतिशत भन्दा बढी जर्मनहरुले यदि त्यसप्रकारको यात्रा गर्न चाहे भने पनि सम्भव छैन । किनभने उनीहरु आर्थिक रुपमा सक्षम छैनन् । हामीले मागेको के मात्र हो भने पूर्ब र पश्चिममा एकै स्तरको लिभिंग स्टायण्डर्ड, यो हामीले धेरै मागेका छैनौ । यदि हामीले पूर्ब र पश्चिममा एउटै कामको एउटै तलब र एउटै कामको एउटै समय माग गर्यौं भने । हामीले धेरै त मागेका छैनौं यदि हामीले पूर्ब र पश्चिममा एउटै कामबाट पेन्सन गएकाहरुलाई एउटै पेन्सन दिइयोस् भन्दा । यो पनि त हामीले धेरै मागेका छैनौं यदि हामीले बच्चा हुर्काए बापत आमालाई राज्यद्धारा दिइने पेन्सन पूर्ब र पश्चिममा एउटै होस् भन्दा ।
यस पंक्तिकारको आशय त्यो पर्खाल नभत्काइनु पथ्र्यो भन्ने होइन वा फेरी अर्को पर्खाल बनाउनुपर्छ भन्ने पनि होइन । यसप्रकारका पर्खाल कहींपनि र कहिल्यै पनि हुनु हुँदैन । त्यतिमात्र होइन, पर्खाल गरिब र धनीबीच पनि हुनु हुँदैन । पर्खाल मालिक र मजदूरबीच पनि हुनुहुँदैन । पर्खाल सरकार र जनताबीच पनि हुनुहुँदैन । पर्खाल नेता र कार्यकर्ताबीच पनि हुनुहुँदैन । त्यसैले ९ नोवेम्बर १९८९ बाट सिक्नुपर्ने पाठ के हो भने व्यक्तिगत र राजनैतिक स्वतन्त्रता बिनाको सामाजिक सुरक्षा र आर्थिक ग्यारेन्टी सायद अबका दिनहरुमा अकल्पनीय हुने छ र त्यस्तै सामाजिक सुरक्षा र आर्थिक ग्यारेन्टीबिनाको स्वतन्त्रताले समाजलाई गलतबाटोतिर डोर्याउने छ ।














प्रतिक्रिया