काठमाडौं, २० कात्तिक । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका जहाज उडाउने क्याप्टेनकै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका नक्कली शैक्षिक प्रमाणपत्रधारी क्याप्टेन दीपेन्द्र प्रधानविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रधानले सेवा प्रवेश प्रयोजनका लागि पेस गरेको शैक्षकि योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
प्रधानले भारतको बिहारस्थित इन्टरमिडियट एजुकेसन काउन्सिलबाट आईएस्सी उत्तीर्ण गरेको भनि पेश गरेको शैक्षकि योग्यताको प्रमाणपत्र छानबिनका क्रममा नक्कली भेटिएको अख्तियारले उल्लेख गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
यसैगरी अख्तियारले जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर शिवजीप्रसाद राय, लक्ष्मणकुमार सेठ तथा मर्यादापुर गाविसका सचिव विश्वनाथप्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
उनीहरूले आर्थिक वर्ष २०६७/६८ देखि २०७०/७१ मा सरकारी, अर्धसरकारी अनुदान रकम, सामाजिक सुरक्षा भत्ता तथा स्थानीय पूर्वाधार विकासको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरूविरुद्ध ४ लाख ७० हजार रुपैयाँ बिगो कायम गरी हदैसम्मको सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।















प्रतिक्रिया