३० आश्विन २०८३, शुक्रबार

कार्यालयको वाषिर्क आम्दानी ५० करोड, गोजिमा शैक्षिक क्यालेन्डर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU_buildingकाठमाडौ, १९ कात्तिक । त्रिभुवन विश्वविद्यालय सुधारको मुख्य बुँदा नै शैक्षिक क्यालेन्डर हो ।

तर, राजनीतिक दलको निगाहमा नियुक्त पदाधिकारीहरू क्यालेन्डर गोजीमै सीमित हुने गरेको छ ।

पदाधिकारीहरूको पदावधि वर्षदिन बाँकी हुँदासम्म शैक्षिक क्यालेन्डर सार्वजनिक हुनसकेको छैन ।

पदाधिकारीले आन्तरिक जानकारीका लागि शैक्षिक क्यालेन्डरको कम्प्युटर प्रिन्ट गोजीमा बोक्ने गरेका छन् ।

‘हामीले विद्यार्थी भर्ना, पठनपाठन, परीक्षा, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन गर्ने लक्ष्य राखेका छौं,’ बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय कक्षमै भेटिएका नियन्त्रक केशव बाँस्तोलाले गोजीमा सीमित क्यालेन्डर देखाउँदै भने, ‘विद्यार्थी भर्ना भएको दस महिनाभित्र नतिजा प्रकाशन गर्नेछौं । तैपनि भनेजस्तो मिलेको छैन ।’

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल ढिलो प्रकाशन गरेकाले यो वर्ष स्नातकोत्तर तहको भर्ना तालिका बिग्रिएको नियन्त्रक बाँस्तोलाले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ  ।

नियन्त्रण कार्यालयले उत्तर पुस्तिका परीक्षणका निम्ति रकम बढाउने निर्णय गरेको छ । हालसम्म एउटा उत्तरपुस्तका जाँच्न २० रुपैयाँ दिइन्थ्यो भने अबदेखि ३५ रुपैयाँ दिइने छ ।

‘तर उत्तरपुस्तिका जाँच्ने समय बढीमा ४५ दिनभित्र बुझाउँनु पर्छ, नत्र उही बीस रुपैयाँमात्र दिइनेछ,’ उनले भने, ‘ढिलो गरेमा कपी फिर्ता ल्याउने शिक्षकलाई अर्को पटकबाट परीक्षण गर्न दिइने छैन ।’

नियन्त्रक बाँस्तोलाले आफ्नो नियुक्तिको एक वर्षभित्र २०६६ सालदेखि थन्किएको विद्यार्थी रजिस्ट्रेसन काम अतिरिक्त समयमा कर्मचारी खटाएर सकेको बताए ।

त्यसैगरी अबदेखि ट्रान्सक्रिप्ट पाँचदिनमा, सक्कल प्रमाणपत्र दस दिनभित्र दिनसक्ने व्यवस्था मिलाएको जनाए । परीक्षा सुधारका निम्ति जनशक्ति थपिएको जनाइए पनि प्रभावकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ ।

‘कहिले यो कोठा, कहिले त्यो गर्दै सातादिन बित्दैछ,’ बीरगन्जबाट आएका एक सेवाग्राही युवाले भने, ‘कर्मचारीले राम्ररी बुझाउँदैनन् । सोध्यो कि रिसाउँछन् । नबुझेर एउटै शीर्षकमा दोहोरो दस्तुर तिर्नु पर्दा साह्रैदुःख लागिरहेको छ ।’

केही काम अझै बाँकी रहेकाले उनले आफ्नो नाम उल्लेख गर्न मानेनन् ।  हरेक दिन भीड लाग्छ । घण्टौं लामवद्ध भएर कम्तिमा ७५ रुपैयाँदेखि विभिन्न शीर्षकमा हजार रुपैयाँ भन्दा बढी रकम बुझाउँछन् । आफ्नो शैक्षिक भविष्य सुनिश्चित गर्न यसरी लामवद्ध हुनुबाहेक विकल्प छैन ।

नियन्त्रण कार्यालयले यसरी दैनिक लाखौं रुपैयाँको आम्दानी गर्दैआएको छ । उसले परीक्षा शुल्क, रजिस्टे्रसन, विलम्ब शुल्क, ट्रान्सक्रिप्ट, प्रमाणपत्र, अन्य आम्दानी र विविध आम्दानी शीर्षकमा रकम अशुल्ने गर्दछ ।

नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०६९र७० मा ४९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको सहआर्थिक प्रमुख जितेन्द्र प्रधानले जनाए । ‘अर्को आर्थिक वर्षको लेखा परीक्षणका क्रममा छ,’ उनले भने, ‘नियन्त्रण कार्यालयले वाषिर्क सरदर ५० करोड रुपैयाँ आम्दानी गर्छ ।’