उत्तम अधिकारी
आबुधाबी । यूएईमा रहेका नेपाली इसाई धर्मालम्बीहरुले संयुक्त रुपमा नेपाली प्रवासी इसाई संगतीको दशौँ वार्षिकोत्सव तथा चांगी सम्मेलन मनाउने भएका छन् ।
यूएईमा छरिएर रहेका इसाई धर्मालम्बीहरुलाई एकत्रित गरी एकै छानोमुनि गोलबन्द गर्दै हरेक बर्ष यो कार्यक्रम मनाउदै आएको नेपाली ओभरसिज क्रिस्चियन फेलोसिपले यस बर्ष पनि निरन्तरता दिएको हो ।
दुबईको अलकुज स्थित डुल्सको भिलेजमा नोभेम्बर ७, २०१४ का दिन ‘तिम्रो बिस्वासले तिमीलाई निको पारेको छ ’ भन्ने मुख्य नाराका साथ चंगाई सम्मेलन स्वरूप उक्त कार्यक्रम गर्न लागेको नवजागृति नेपाली मण्डलीका डिकन अमृत पुनले बताएका छन् ।
उक्त कार्यक्रममा आबुधाबिको नवजागृति नेपाली मण्डली आबुधाबी, शारजाहको असल गोठालो मण्डली शारजाह, अलऐनको नेपाली बाइबल संगती लगायत बिभिन्न मण्डलीका नेपाली इसाईहरुको सकृय संलग्नता रहने आयोजकले बताएका छन् । नेपाली प्रवासी इसाई संगतीले प्रत्येक ४ महिनामा यूएईमा नेपाली संलग्नमध्येका इन्टर चर्च हाजिरी जवाफ प्रतियोगिता संचालन गर्दै आइरहेको छ । त्यसैगरी केहिसमय अघिसम्म बिभिन्न खेल प्रतियोगिताहरु आयोजना गरिदैं आएको डिकन पुनले बताए ।
नेपालका पिछडिएका बिभिन्न क्षेत्रमा सिलाइबुनाइ लगायत तालिम तथा अशक्त नागरिकका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण पनि यो संस्थाले गर्दै आइरहेको छ । यी सबै सहयोग नेपालमा पनि विस्तार भएको उही नामको शाखाले वितरण गर्ने गरेको बताइएको छ ।
पास्टर पिटर गुरुङको सभापतित्व रहने उक्त कार्यक्रममा यूएईमा कृयाशील बिभिन्न संघ संस्थाका प्रमुख तथा समाजसेवीहरुलाई पनि निमन्त्रणा गरिएको बताइएको छ । यूएईका सबै फरक शहरहरुबाट बसको ब्यबस्था मिलाइएको र त्यसका लागि स्थानीय संगतीका सदस्यसंग सम्पर्क गर्न समेत आयोजकले आग्रह गरेका छन् ।














प्रतिक्रिया