२८ आश्विन २०८३, बुधबार

अति भो, कति बन्नु ‘चित्रगुप्त’!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-bhattarai

कहिलेकाही त यस्तो लाग्छ, नेपाली आमसञ्चार माध्यमहरु कलियुगका चित्रगुप्त नै हुन् । उनीहरुको काम भनेकै मृत्युघटनाको समाचार बनाउने र ती घटनामा जीवन गुमाएका लाशहरुको वहीखाता राख्ने हो । दशैयता सवारी दुर्घटनामा मात्र दुई सय ८३ जनाले अकालमा ज्यान गुमाएको समाचार पढ्दा, खै किन हो, यस्तै अप्रिय सोच आयो दिमाखमा । अनि लाग्यो पनि, ब्याड न्युज इज गुड न्युज कतै नेपालकै लागि भनिएको त थिएन ? के नेपाल र नेपालीको नियति नै बनिसकेको हो त अकालमा मृत्यु ? सडक दुर्घटनाको यो भीमकाय आकडाले यस्तै सोच्न बाध्य बनायो । अनि लाग्यो, सक्रिय सञ्चारकर्मबाट विदा भएर राम्रै गरिएछ, कम्तीमा चित्रगुप्तको भूमिकाबाट त छुट्कारा पाइएछ ।

भनाइ नै छ जीवन त संजोग मात्र हो । जन्म अनि मृत्यु मात्रै हुन् सत्य त । तर, यति हुँदाहुँदै पनि जन्मलाई हार्दिकतापूर्वक स्वीकार्न तयार जो कोही मृत्युलाई भने सजिलै आत्मसात गर्न चाहदैन । नचाँहदानचाँहदै सही, कतिपय बेला असामयिक मृत्यु आत्मसात गर्नुपर्छ, कसैलाई थाहै हुदैन । आस्तिकहरु त यसलाई लेखान्त भनेर सजिलै चित्त बुझाउँछन् पनि तर नास्तिकहरुलाई त्यति पनि छुट हुदैन । त्यसैले त उनीहरु द्विविधामा परेर आफैं सामु यक्षप्रश्न तेस्र्याउँछन्, आखिर किन यस्तो हुन्छ ? यो अनन्त प्रश्नको कुनै उत्तर छैन । त्यसैले गीतकार डा. कृष्णहरि वराल लेख्छन्,

मर्ने कसैलाई रहर हुदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन

प्रकृतिको वरदान नेपाल, प्राकृतिक प्रकोपबाट यहाँ विरलै असामयिक मृत्यु हुन्छ । यहाँ अकालमा मृत्यु हुन्छ भने त्यसको मूल कारण हुन्छ, सवारी दुर्घटना । साना बाटोमा होस् या राजमार्गमा, धुलेटो सडकमा होस् या पिचरोडमा । कहाँ कहाँ मात्र भन्नु जहाँकही पनि सवारी दुर्घटना भएकै हुन्छ यहाँ । सवारी साधन, बाटो र जनसंख्या, कही कतै तालमेल नखाने संख्यामा । पहिलाभन्दा बढी, धेरैबढी । जब अलि हृदय विदारक या हाइप्रोफाइल दुर्घटना हुन्छ, त्यसपछि दुर्घटना समाचारले बज मात्र सिर्जना गर्दैन, भाइरल नै उत्पन्न गर्छ यहाँ । सामान्य हार्डन्युजदेखि सफ्ट न्युज हुँदै स्तम्भ र थिंक पिस नै लेखिन्छन् त्यस्ता परिघटनामाथि । कतिपय बेला प्रोफाइल पनि बन्छन् दुर्घटनामा जीवन गुमाउनेहरुका । अनि, नीति निर्माताहरु झल्यास हुन्छन्, ओहो नीति बनाउनुपर्ने रहेछ । सवारी चालक प्रमाणपत्र दिनेहरु टाउकोमा हात राख्छन्, ओहो, घुस खाएर जो पायो त्यहीलाई लाइसेन्स दिनु नहुने रहेछ । टफिक व्यवस्थापन गर्नेहरु भन्छन्, केही नजारानामा सिटीलाई जाकटी राख्नु नहुने रहेछ । सवारीचालकहरु पनि सोच्दा हुन्, ज्यानमारा पो भइएछ । यात्रुहरु पनि ठान्दा हुन्, सिन्की गुन्दू्रकजस्तै खाँदिदा या छतमा टहलिएर मृत्युलाई निम्तोपत्र पठाउन नहुने रहेछ । अंग्रेजी कहावत अफ्टर द डेथ डक्टर भनेझैं, ठ्याक्कै त्यस्तै ।

नौ दिनमा नौलो, वीस दिनमा बिस्र्यो समाज हो हाम्रो । त्यसपछि त्यो सचेतना दिमाखको डिस्क र हृदयको कार्टेजबाट एकाएक कहाँ हराउँछ, कहाँ ? अनि फेरि त्यही कर्म दोहोरिन्छ र जानेर या नजानेर यमराजलाई निमन्त्रणा दिइन्छ । जब यमराजले सुन्छ, त्यसपछि कसको के लाग्छ र ? अनि फेरि कारण गन्ने काम सुरु हुन्छ, कहिले नीति, कहिले घुस्याहा हाकिम, कहिले बेपरवाह चालक, कहिले फौबन्जार सवारी साधन साहु, कहिले ठीकठाक अवस्थामा नभएको सवारी साधन, कहिले राजमार्ग छेउमै रहेको खोयाविर्के, अनि कहिले सडकमा झुण््याइएका ढालबहादुरका बडेमानका कटआउटहरु । आदि इत्यादि, कारण जे हुन्, फेरि कसैको जीवन अकालमा जान्छ । मुखबाट फिस्स निस्कन्छ, विचरा अकालमै मर्यो । यस्तो मरण त सत्रुको पनि नहोस् ।

यो अकाल मृत्युले हुनसम्म गर्छ । कसैको सिउँदो उजाडी दिन्छ, कसैको काख रित्याइदिन्छ, कसैको अभिभावक चुडिदिन्छ, कसैको बैतरणी तार्ने लाठो नै सिध्याइदिन्छ । जे होस्, व्यक्तिगत रुपमा कसैको नियर एन्ड डियर नै विदा गरिदिने हो यस्तो घटनाले । अझ समाज र मुलुकको कोणबाट हेर्दा, कहिले योग्य डाक्टर त कहिले सुयोग्य इञ्जिनियर, कहिले कुशल प्रशासक त कहिले होनहार श्रष्टा आदि इत्यादि नै अलविदा हुने हो यस्तो घटनामा । यस कोणबाट हेर्दा त हुने हानी नोक्सानीको लेखाजोखा गरेरै साध्य हुदैन ।

सन्दर्भ पछिल्लो शनिबार मकवानपुरको बसामाडी २ बस्तीपुरमा भएको निर्मम दुर्घटनाको हो । इलामबाट काठमाडौं आइरहेको मेटे डिलक्स र काठमाडौबाट विराटनगर गइरहेको शुभश्री यातायातको यात्रुबस जुधे । यसअघि बस धनी र चालकबीच फोनमा खटपटी भयो, टेन्सनमा आएको चालकले खोयाबिर्के चढायो । खोयाविर्केको नसामा स्टेयरिंगमा हातमा, बढ्दो गियर अनि गति के चाहियो र ? बस जुधे आपसमा, १० जनाको अकालमा ज्यान गयो । यात्रामा एक विदेसीसहित इलामका ६ किशोर वयका विद्यार्थीले जीवन गुमाए । दसैतिहार विदा सकेर पढ्नका लागि राजधानी काठमाडौं फर्कदै गरेका । तर, विचरा अब ती कहिल्यै न दसै तिहार मान्न इलाम जान सक्छन् न अब साथी संगीसँगै कक्षाकोठामा फेरि भेटिन सक्छन् । एकक्षण उनीहरुका आमाबाबु भएर सोचौं त, सुमधुर भविष्यका लागि उच्च शिक्षा पढ्न विदा गरेर पठाएका छोराछोरीको २४ घण्टा पनि नबित्दै रगताम्य लाश आउँछ र उसको लाशमाथि विलोममा दागबत्ती दिनुपर्छ । त्यो परिस्थिति कति सहज र सह्य हुन्छ ? सामान्यतः कल्पना पनि गर्न गाहे हुन्छ । त्यो दृश्य र त्यो समवेदनामाथि शोक साहित्य नै लेख्न सकिन्छ, एउटा मुटु छुने चलचित्रको कथा मात्र हैन, एउटा बायोपिक वृत्तचित्र नै बन्छ । यसअघि असोज २० गते डोटीको छतिवनमा भएको दुर्घटनामा दसै मनाएर फर्केका सरस्वतीनगरका २० जनाले ज्यान गुमाएका थिए । कात्तिक ७ गते नुवाकोटमा १४ जनाको ज्यान गएको थियो । मानौं वसामाडी दुर्घटना त्यसको सिक्वेल हो, फरक पात्र र परिस्थितिमा ।

हरेक दुर्घटनाले लगभग यस्तै दृश्य निम्त्याउँने हो । यस्ता दृश्य, यही वर्षको दसै यतामात्र एक सय ५६ पटक दोहोरिसके, तथ्यांकले यही भन्छ । यी दुर्घटनामा पर्ने अभागीहरुका आफन्तका आसु मात्र भेला पार्ने हो भने पनि सानोतिनो खोली नै बनिसक्थ्यो । दिवंगतहरुको सपना भेला पार्न सकेको मात्र भए वर्षौ दिनसम्म देख्न सकिने गरी लामो सपना हुन्थ्यो । खै के के को मात्र हिसाब गर्ने ? जब सारा हिसाव नै जीवनका लागि हो र त्यो नै रहेन भने बाँकीका लागि त हिसाव गर्नुको अर्थ नै के रहन्छ र ? प्रश्न सूलझैं आफैंतिर तेर्सिन्छ ।

दुर्घटनापछि फेरि एकपटक बज मिल्यो । सडकदेखि संसदसम्म, सोसल साइटदेखि आमसञ्चारका साधनसम्म । सम्वन्धित पक्षहरुले दन्तबजान गरे । एकले अर्कोलाई दोष दिएर पानीमाथिको ओभानो बन्ने गरीव अभिनय गरे । ट्राफिकले भने, सवारी चालक, नीति निर्माता, सवारी धनी नै दोषी छन् । चालकले भने, थोत्रा सवारी साधन, खाल्डैखाल्डा भएका सडक र कोच्चिन आउने यात्रु दोषी छन् । सवारीधनीले भने, बाटो, नीति नियममै त्रुटी छ । सरकारले भन्यो, नियमको पालना नगर्ने सबै दोषी छन् । धन्न, कालले बोलाएर ल्याएका मर्नेहरु नै दोषी हुन् भनेर सिधै चाँहि कसैले भन्न सकेनन् ।

एउटा तथ्यांकले भन्छ, काठमाडौं उपत्यकामा मात्र दैनिक १३ सवारी दुर्घटना हुन्छन् र ती दुर्घटनामध्ये ८२ प्रतिसतमा चालकको लापरवाही कारण बन्छ । अधिकांश दुर्घटना तिब्र गति, लेन अनुसासन उलंघन, जिकज्याक डइभिंग, ओभरटेक जस्ता क्रियाकलापमा आधारित भेटिन्छन् । सम्वन्धित पक्ष भन्छ, हाइपोथेसिस हैन, अब त हामीसँग अनुसन्धानबाट तथ्य नै आइसक्यो । यदि उनीहरुले भनेकै सही हो भने त्यसलाई लागू गरेर निर्दोषहरुको जीवन बचाउन कुन तगारोले रोकिरहेको छ त ?
अझ यसो भनौं, त्यो रोक्ने तत्वलाई हाइपोथेसिसमा मात्र सीमित राख्न चाँहि के ले काम गरिरहेको छ ? उत्तर खोज्दै जाँदा कुनै अध्ययन अनुसन्धान नै गर्न नपरी सिधै भन्न सकिन्छ लोभ, गलत नियत र स्वार्थ । पहिलो त मुलुकमा सवारीसम्वन्धी समसामयिक नीति र ऐन नै छैन । बनाउने संसद हो, सांसदलाई संविधान देखाएर पन्छने बानी नै परिसक्यो । भएको नीति कार्यान्यवयन गर्ने सरकारी निकायमा घुस्याहाहरुको सञ्जाल छ, लाइसेन्स लिन घुस, जिल्ला स्थान्तरण गर्न घुस, सवारी प्रदुषण स्टिकर लिन घुस, मापसेबाट जोगिन अध्यारो कुनातिर टफिकलाई घुस । अव यी पलपलमा नियत खराव भएकाहरुबाट कसरी नियमन सम्भव छ ? योग्य र सक्षम सवारी चालक खाडीतिर लागिसके, खलासीहरु गुरुजी भैरहेका छन्, गाडी साहूहरु सस्ता गुरुजीबाटै काम चलाउँछन् । अझ, गजवको कुरा त लाइसेन्स लिन लायक नै नभई गौडा गौडामा लाइसेन्स मिल्छ यहाँ । कति छन् कति कारण खोज्दै जाँदा । सारमा, मात्रामा थोरै धेरै होला, हामी सबै आआफ्नो तहबाट अकाल मृत्यु निम्त्याइरहेकै हुन्छौं । निम्तो दिएपछि ढिलो चाँडो जब उसलाई फुर्सद हुन्छ, लिन त आउने नै भैहाल्यो अकाल मृत्यु । त्यसैले कहिले मकवानपुरमा डेट गर्नुपर्ने हुन्छ त कहिले डोटीमा या नुवाकोटमा डेट फिक्स्ड गर्नुपर्ने हुन्छ मृत्युसँग ।

सारमा, मृत्यु सास्वत सत्य हो तर पनि अकालमा त शत्रुको पनि मृत्यु नहोस् । हामी एक पटक हैन, पटक पटक यसै भनिरहेका हुन्छौं र कोही पनि मृत्युलाई आलिंगन गर्न चाहिरहेका हुदैनौं । यो सत्य हो । यद्यपि, कुनै न कुनै भूमिकामा मृत्युलाई जानी नजानी आमन्त्रण गर्न भने छोड्दैनौं ।

इलामेली मित्र विष्णु निष्ठुरीले वसामाडी दुर्घटनामा निधन भएका जिल्लावासीको समवेदनामा फेसबुकको भित्तामा लेखे, इलाममा परेको गम्भीर शोकका बारेमा एक शव्द पनि लेख्न निकै गाह्रो भयो, अनेक पटक कोशिष गर्दा पनि आँट आएन । हे इश्वर यस्तो अकल्पनीय र कठोर सजाय कसैलाई नदेऊ ।

म उनको भावनालाई अभिवादन गर्छु र सहमतिमा लेख्छु, अति भो कति लेख्नु अबिचुअरी । अब त, यो चित्रगुप्तको भूमिकाबाट छुट्कारा पाए पनि त हुन्थ्यो नि । प्रिय चाहना हो । तर, सबै प्रिय चाहना कहाँ पूरा हुँदारहेछन् र ? त्यसैले एकथान अबिचुअरी लेख्नु नै पर्यो । जो अकालमा गए, उनीहरुको आत्माले शान्ति पाओस् । जसले त्यो परिस्थिति निर्माण गरे, उनीहरुले सजाय त पाउन् तर पनि जस्तालाई तस्तै भनेझैं त्यस्तो क्रुर मृत्यु भने उनीहरुलाई पनि नमिलोस् । कामना न हो । बाँकि त के भन्न सकिन्छ र ?, आगे उनीहरु नै जानुन् ।