दमक । झापाको कनकाई नगरपालिका कोटीहोममा ‘मेची–महाकाली वृद्धाश्रम’ निर्माण कार्य अघि बढाइएको छ ।
कष्टपूर्ण जीवन गुजारिरहेका वृद्ध माता–पितालाई व्यवस्थित गाँस–बासको व्यवस्था मिलाउन यहाँ वृद्धाश्रमको भवन बनाउन थालिएको हो । कनकाई धाम धार्मिक विकास संस्थाले प्रदान गरेको दुई कट्ठा जग्गामा कार्यालय र सभाहलसहित ४६ कोठाको वृद्धाश्रम निर्माण कार्य सुरु गरिएको संस्थाका अध्यक्ष शिवकुमार चुडालले जानकारी दिनुभयो ।
मेचीबाट सुरु भएको अभियान महाकालीसम्म पु¥याउन र आवश्यक सहयोग गर्न कुवेतमा समेत मेची–महाकाली वृद्धाश्रम नेपालका लागि कुवेत समिति बनाइएको छ ।एक करोड ३४ लाखको लागतमा निर्माण सुरु गरिएको वृद्धाश्रमका लागि कुवेतबाट मात्र रु १२ लाख बराबर सहयोग प्रदान गरिएको सो समितिका अध्यक्ष धर्मराज गिरीले बताउनुभयो ।
एनआरएनए, एनसिसी कुवेतका अध्यक्षसमेत रहेका गिरीका अनुसार प्रवासमा रहेका नेपालीलाई आह्वान गर्ने र अन्य देशमा वैदेशिक शाखा गठन गर्दै विभिन्न कार्यक्रममार्फत वृद्धाश्रमका लागि सहयोग सङ्कलन भइरहेको छ ।
वृद्धाश्रमको पहिलो तला ढलानको तयारी भइरहेको बताइएको छ । वृद्धाश्रमको गत जेठ २२ गते शिलान्यास भएको थियो । आर्थिक अभावका कारण नियमित निर्माण कार्यमा समस्या भइरहेको पनि समितिले जनाएको छ ।
झापाबाट सुरु भएको मेची–महाकाली वृद्धाश्रम निर्माण कार्यमा समस्त झापाली, स्वदेशमा बस्ने नेपाली तथा प्रवासमा रहने नेपालीलाई सक्दो सहयोग गरिदिन कुवेत समितिले आह्वान गरेको छ ।
















प्रतिक्रिया