झण्डाको डण्डा केही बर्ष अघि देशको बीचमै थियो । झण्डालाई वरपर राखेर त्यही एकादेशका सैनिकहरु दैनिक परेड खेल्ने गर्थे । ज्यानलाई डिभी परेर मात्र हैन, ज्ञानलाई डिभी परेपछि बिदेश पलायन भएकाहरु त्यही एकादेशको तीन कुने झण्डा बोकेर बिदेश लाग्थे । साँच्चै त्यो झण्डा कसैको सोकेशमा सजिने सजावटको सामान बन्थ्यो । सात साल, सोह्र साल, छत्तिस साल, छयालिस साल, त्रिसठ्ठि साल जस्ता ऐतिहासिक सालमा वीरताको प्रतिकको रुपमा त्यो सतिसालझैं उभिएको थियो रे त्यो झण्डा । तर आज सदियौंपछि बिगत भन्दा पनि यो झण्डालाई आगतको पिडाले सताउँछ ।
जब राष्ट्रियताले आची खाएर राँची जान थाल्यो, तब झण्डाको डण्डा अराष्ट्रियताले हल्लाउन थालेछ । त्यो झण्डा मुनि बसेर भूमि सुधारका कर्मचारीले भूँडिसुधार गरेको मुकदर्शक बनेर त्यो झण्डा बसिरह्यो । जब यही झण्डाको डण्डा समाएर बिदेश जाने रातो पासपोर्टधारीले सुनको धन्दा चलाउन थाले, तब राष्ट्रियतामा घुन लाग्न थाल्यो अनि त्यही झण्डा मुनि राष्ट्रिय व्यक्तित्वले बिदेशी धुन बजाउन थाले । मोदीले आएर रोदी गाएपछि त झनै त्यो भूपरिबेष्ठित देश बिश्व भूमण्डलीकरणमा जानुको सट्टा खुम्चिएर रह्यो । बिदेशीले अर्काको देशमा कति सैनिक अखडा झन् भनेर स्याटेलाइटमार्फत बखेडा झिकेर गनेको बेला त्यो एकादेशको देशचाहिँ आफ्ना जनतालाई चर्पीमा दिसा निर्देश गराउन र खुल्ला दिशामुक्त देश बनाउन बिदेशीलाई गुहार मागी रह्यो । साँच्चै बिदेशीले अर्काको सैनिक क्याम्प गनेको बेला त्यो देशले भने कति जनताले चर्पी बनाए, बनाएन् भन्ने कुरामा ध्यान दिइनै रह्यो तर फगत् त्यो झण्डा नजानिँदो पाराले बिदेशीको अदृष्य परेड स्वदेशमा देखेर चकित र थकित थियो ।
बिस्तारै त्यही झण्डाको मुनि केही नेताले बिदेशी डलरमा कक्टेलको कलर मिलाए, त्यसपछि देशका राजनीतिका बलरलाई छक्का, चौकाको मौका भन्दा पनि डलरका सपनाहरुमा आफूलाई सजाएर बिदेशी भजन भजाएर त्यही झण्डाको टेबलपोस बनाएर मात्तिन थालेपछि त्यो झण्डा निकै आत्तिएको थियो । तर के गर्नु एक अमुक झण्डाले त्यो बाहेक अरु के नै गर्न सक्थ्यो र ? त्यही कक्टेल पार्टी पछि बिस्तारै त्यो झण्डाको देशको दशगजा मिचिन थाल्यो, झण्डा दक्षिणी हावा लागेपछि रिसले हुँकार गरेर फट्पटाउँथ्यो, तर अहँ आजसम्म झण्डाको भाषा कसैले बुझ्न सकेन । साँच्चै हो नि, न तपाईंले झण्डाको भाषा बुझ्नु भएको छ न मैले नै । त्यही दिन झण्डाको देशमा संघियताको खेति गरियो अनि भंगियता सुरु हुन खोज्यो । त्यो झण्डाको देशमा केही जनता नामका केही करोड किरालाई देशका बुज्रुकले के गरेका हुन् थाहा नै दिएनन् । आखिर देश चिराचिरामा बर्थ डे केक काटेझैं काटियो । अनि शुरु भयो त्यो झण्डाको देशको बिलय ।
भंगियता सुरु भएको केही समय त्यो झण्डा राज्यका प्रत्येक अंगअंगमा सजाइयो । तर बिस्तारै एक राज्यको दशगजा बिदेशी राज्यको दशगजामा समाहित हुन लाग्यो, झण्डाको सगरमाथा जत्रो सान घट्यो । भंगियतामा बिश्वास गर्नेहरु स्वर्गेबास भएपछि उन्का छोरा नातिले दशगजा बिर्से, स्वदेश बिर्से, बिदेश सम्झे । उनीहरुले देश बिर्से, भेष बिर्से, सिमाना बिर्से, लोक गाना बिर्से, लोक खाना बिर्से, कुल बिर्से, मुल बिर्से । अर्को देशको साम्राज्यमा आफूलाई बिर्से अनि झण्डा बिर्से । यसरी यौटा बिरङ्गनाको झण्डा कालान्तरमा बिदेशी भूमिको यौटा जमिनमा प¥यो न कि त्यो जमिन सदियौं अघि त्यही झण्डाको देशमा थियो । अनि झण्डाले आफू बेबारिसे भएको ठान्यो । उस्लाई मुुठ्ठी कसेर सलाम गर्नेहरु भंगियताको कुरामा मलाम गएको थाहा पायो उस्ले । अनि झण्डाले सोच्यो — राजनीतिमा थिति बिग्रेर राष्ट्रियता पोइला भाग्यो भने देशको झण्डा बेबारिसे हुनेरैछ ।














प्रतिक्रिया