२८ आश्विन २०८३, बुधबार

एमाले प्रवास संगठनमा चुनाव हुँदैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dil-kiran-khajum

तेह्रथुम पञ्चकन्या गाविस वडा नं २ मा जन्मेर विधार्थी जीवनदेखि नै राजनीतिमा प्रवेश गरेका दिलकिरण खजुम सन २००७ सालदेखि नै एमालेको प्रवास संगठन कतारमा सक्रिय छन् । सन २०१० बाट संगठनको नेतृत्व लिएका उनले दुई कार्यकाल सम्हालेका हुन । एमालेका प्रवासका नेतामध्ये अति नै कुशल मानिने उनै खजुमसँग दैनिक नेपाल डटकमका लागि घनश्याम पराजुली (कृष्ण) ले कतारमा गरेको कुराकानी:

प्रवासी नेपाली मञ्च कतारको अधिवेशन आगामी डिसेम्बरमा हुँदैछ । तयारी कहाँ पुग्यो ?

हामी अहिले चौँथो अधिवेशनको तयारीमा जुटिरहेका छौं । अधिबेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी तीव्ररुपमा वढिरहेको छ । यसका लागि हामीले केही उपसमितिहरु निर्माण गरिसकेका छौं र अब बाँकी जिम्मेवारीहरु बाँडफाट गरेर काम अगाडि वढाउने छौं ।

तपाई आफ्नो नेतृत्वलाई निरन्तरता दिनुहुन्छ वा नयाँ नेतृत्व आउँछ ?

म लामो समयदेखि नै मञ्चको नेतृत्वमा रहेर काम गरिरहेको छु । अब यो अधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु, त्यसलै नयाँ नेतृत्व आउँछ ।

यो अधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन हुन्छ ?

हामी प्रवासमा छौं । विगतको इतिहासलाई हर्ने हो भने पनि अहिलेसम्म मञ्चको सर्वसम्मतिवाटै नेतृत्व चयन हुँदै आएको छ । त्यसैले यसपटक पनि सर्वसम्मत नै नेतृत्व चयन हुन्छ ।

तपाईँको कार्यकाल कस्तो रह्यो ?

मेरो कार्यकाल कस्तो रहयो भन्ने कुरा चाहि संठगनका साथीहरुले विश्लेषण गर्ने कुरा हो । लामो समयसम्म प्रवासमा एउटा वैचारिक संगठनको नेतृत्वमा रहेर काम गर्ने अवसर पाएँ, यो नितान्त मेरो जीवनमा नयाँ कुरा सिक्ने अनुभुति गर्ने अवसरको रुपमा लिएको छु । खासगरी यो पछिल्लो २ वर्षको कार्यकाल तेश्रो अधिबेशन पश्चात हाम्रो संगठनको संरचनालाई व्यवस्थित गर्ने काम भयो ।

प्रवासी नेपाली मञ्च कतारको नेतृत्वमा कस्तो व्यक्ति आवश्यक छ ?

नेतृत्व भनेकै सवैलाई समेटेर मिलाएर लान सक्ने खालको हुनुपर्छ । हामीले यहाँ मेचीदेखि महाकालीका एउटै विचार वोकेका साथीहरुलाई समेटेर लानुपर्ने हुन्छ त्यो संयोजनकारी भुमिका निर्वाह गर्न सक्ने हुनुपर्दछ ।

कस्लाई अगाडि सार्दै हुनुहुन्छ ?

अहिले नै मैले कस्को सम्भव छ र कस्को छैन भन्नु उपयुक्त हुँदैन । प्रवासमा स्थापित संगठनको हिसावले नेतृत्व गर्न सक्ने क्षमता भएका धेरै साथीहरु हुनुहुन्छ यद्यपी एक जनालाई हामीले नेतृत्व मानेर जानुपर्ने हुन्छ ।

कतारमा एमालेको अवस्था कस्तो पाउनुहुन्छ ?

यो संस्था वैचारिक संस्था हो यद्यपि यो संस्था कतारमा सामाजिक संस्थाको रुपमा स्थापित भएको छ र यसले गर्ने गतिविधिहरु सामाजिक क्रियाकलाप नै हुन्छन । यहाँ वैचारिक हिसावले भन्ने हो भने हाम्रो संस्थालाई माया गर्ने समर्थकहरुको वाहुल्यता रहेको पाएको छु । तथापि समय प्रतिकुलताका कारण संस्थामा आवद्ध हुन साथीहरुलाई कठिनाई परेको मैले महसुस गरेको छु ।

कतारको कानुनले यहाँ राजनीति गर्न दिँदैन । तपाईँहरु किन राजनीति गर्दै हुनुहुन्छ ?

हामीले स्थानीय कानुनको सम्मान गर्छौं । यो सामाजिक संस्थाको रुपमा स्थापित भएर काम गर्दै आएको छ । दुःखमा परेका नेपालीहरुको पक्षमा काम गर्दै आएको छ । हामीले यहाँ स्थापित भएका सामाजिक संघसंस्थाहरुसंग हातेमालो गर्दै आएका छौं । हाम्रो संस्थाले सामाजिक सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिएर सर्वसाधारणलाई चेतनामुलक काम समेत गर्दै आएको छ । हामीले प्रवासवाट आफ्नो मुलुकप्रतिको कर्तव्यलाई वोध गराउने, एउटा नागरिकले आफ्नो देशप्रति गर्नुपर्ने दायित्व र जिम्मेवारीप्रति सचेत गराउने पहलकदमी गरिरहेका छौं ।

प्रवासी नेपाली मञ्चले कतारमा श्रमिकका समस्यालाई कसरी हेरेको छ ?

हाम्रो संस्थाले यहाँ रहेका नेपाली श्रमिकहरुको समस्यालाई नजिकवाट नियालेर हेरिरहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा धेरै समस्याहरु छन् । त्यो समस्या यहाँ पनि छन्, खास गरेर यो समस्या नेपालवाट नै शुरु भएको पाइन्छ । नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित वनाउनुको सट्टा म्यानपावरलाई सवै जिम्मा लगाई दिने परिपाटी छ त्यो गलत हो । कमसेकम राज्यले एउटा मापदण्ड वनाएर तत् अनुरुप वैदेशिक रोजगारीमा पठाउने मात्र काम भयो भने समस्या स्वतः कम हुन्छ ।

खाडीमा काम गर्ने नेपालीहरुका समस्या बारे प्रवासी नेपाली मञ्चले आजसम्म के पहल गर्यो ?

अहिले हाम्रो मुलुक संक्रमणकालिन अवस्थामा गुज्रिरहेको छ । त्यसैले मुलुकभित्र पर्याप्त मात्रमा रोजगारीका अवसरहरु सिर्र्जना भएका छैनन् जसले गर्दा नेपाली युवा शक्ति अवसरको खोजीमा खाडीको विभिन्न मुलुकमा आउन विवश छौं । स्वभाविक रुपमा यहाँका समस्याहरु विशेष गरेर खाडी मुलुकमा मिल्दोजुल्दो खालका छन् । हामीले नेपाल सरकारको सम्वन्धित निकायका प्रतिनिधिहरु, नेपाली नियोगमार्फत विभिन्न समयमा ज्ञापनपत्रहरु दिने, सुझावहरु दिने र सम्वन्धित निकायलाई झक्झक्याउने काम गरिरहेका छौं । विभिन्न समयमा समय र परिस्थिति अनुसार श्रमिकहरुको तलवमान सुविधा वृद्धि गर्न नेपाल सरकारलाई दवाव दिने काम गरेको छ र त्यही मुताविक बृद्धि पनि भएको छ । यहाँ आपतविपतमा परेका नेपालीहरुको सकुशल उद्दार गर्ने काम राज्यको हो त्यसैले राज्यलाई उत्तरदायी वनाउनुपर्छ भन्ने मान्यता मञ्चले राख्दै आएको छ । त्यसको लागि पहलकदमी गरी रहेको छ । अहिले खाडी मुलुक, मलेसिया लगायत जुन ठाउँमा रोजगारीको लागि नेपाली श्रमिकहरु काम गरिरहेका छौं ती देशहरुमा दुईपक्षीय श्रम सम्झौता गरिनुपर्छ, त्यसको लागि नेपाल सरकारले पहल गर्नु पर्छ ।

दलहरुको अडानलाई हेर्ने हो भने माघ ८ मा नै संविधान बन्ने कत्तिको सम्भावना छ ?

दलहरुले सहमतिमा संविधान जारी गर्ने अधिकतम प्रयास गरिरहेका छन् । सकेसम्म सहमतिमा नै संविधान जारी गर्दा उत्तम हुन्छ, अहिले दलहरुको प्रयास पनि त्यही देखिएको छ यो सकरात्मक पक्ष हो । तर, सहमति भएन भने प्रक्रियामा गएर पनि संविधान जारी गर्नुपर्छ र निर्धारित समयमा नै संविधान बन्छ ।

संविधानका लागि नेकपा एमालेको अडानलाई के भन्न चाहनुहुन्छ ?

हिजोको संविधानसभा किन विघटन भयो, २ वर्षको लागि गठन भएको संविधानसभाले किन ४ वर्षसम्ममा पनि संविधान दिन सकेन ? यो ऐना जतिकै छर्लङ्ग छ । त्यसैले ती विवादित विषयहरुमा दलहरुबीच कहाँनेर सहमतिको विन्दुमा आउन सकिन्छ कुन ठाउँमा साझा अवधारणा निर्माण गर्न सकिन्छ भन्ने सन्दर्भमा एमालेले आफ्नो स्पष्ट दृष्टिकोण राखेको छ । खास गरी दलहरुवीच संघियताको स्वरुप र प्रदेशको संख्यामा सवैलाई मान्य हुने किसिमको वहुपहिचानको आधारमा बढीमा ७ प्रदेश वनाउने एजेण्डा जायज छ ।