बाल्टीमोर (अमेरिका), १४ कात्तिक । अमेरिकामा स्वास्थ्य उपचार गराइरहेका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
पिशाव नलीको अपरेशन सफल भएपछि पनि निमोनियाबाट ग्रस्त हुनु भएका खनालको स्वास्थ्यमा अहिले क्रमिक सुधार आइरहेको एमालेको प्रवास संगठन नेपाल लोकतान्त्रिक मञ्च अमेरिकाका महासचिव प्रभु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, चिकित्सकको सल्लाह अनुसार आराम गरिरहनुभएका खनाललाई अस्पतालले अर्को साता परीक्षणका लागि बोलाएको छ ।
खनाल थप बिरामी परेपछि खनालकी श्रीमती रविलक्ष्मी चित्रकार उहाँलाई भेट्न दुई साता अघि अमेरिका पुग्नुभएको थियो । अहिले उहाँले नै खनाललाई हेरचाह गर्दै आउनुभएको छ ।
यसअघि अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन युनिभर्सिटी अस्पतालमा शल्यक्रिया गरी अस्पतालबाट डिस्चार्ज हुनु भएका खनाललाई निमोनिया देखिएपछि सोही अस्पतालमा पुनः भर्ना गरिएको थियो । खनाललाई नेपालका लागि अवैतानिक महाबाणिज्यदूत प्रेमराजा महत, प्रवासी मञ्चका महासचिव प्रभु थापा, प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य डिल्ली पौडेल, स्थानीय पार्टी कमिटी र उहाँका निजी चिकित्सकहरुले सहयोग गरिरहेका छन् ।
















प्रतिक्रिया