काठमाडौं, १३ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन पछिल्लो समय यस क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखहरुले दुई या तीन बर्षमा मनाइने होलिडे बैठक जस्तो बन्न थालेको छ ।
सम्मेलन पुरानै विषयमा फरक ढंगले प्रतिवद्धता ब्यक्त गर्ने, साइड सिन, घुमघाम र रिफ्रेस भएर फर्कनेमा नै केन्द्रित छ ।
सम्मेलनपछि केही वर्ष विर्षने अनि पुनः एकपटक जम्मा हुने अभ्यास अहिले देखिएको छ ।
आगामी मंसिर १० र ११ मा हुने १८ औं शिखर सम्मेलनमा सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखले ब्यक्त गरेको इच्छाले पनि यो सम्मेलन त्यहीअनुरुपको हुने भएको छ ।
शिखर सम्मेलनमा आउने राष्ट्र प्रमुखहरु तथा उनका स्पाउजले हिमाल अवलोकन, पुराना धरोहर, धार्मिक स्थल भ्रमणको इच्छासमेत ब्यक्त गरेका छन् ।
यसअघि शिखर सम्मेलनमा सामान्यतया रिट्रिट र दुईपक्षीय छलफल बाहेक अन्य बाह्य कार्यक्रम हुदैन थिए ।
अहिले भने सबै राष्ट्र प्रमुख भिन्न भिन्न रुपमा आफ्नै तवरले घुम्न पाउने ब्यवस्था आयोजक मुलुकले मिलाउने बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
सार्कको तयारी तालिका हेर्दा शिखर सम्मेलनमा गहन छलफलमा राष्ट्र तथा सरकार प्रमुखहरुले बढिमा ४ घण्टा र दुई पक्षीय अनौपचारिक छलफलमा दुई घण्टा बिताउने छन ।
अन्य सबै समय हाईफाईमै बित्ने छ । कूटनीतिक रुपमा निकै महत्वपूर्ण भए पनि सार्कको स्थापनाले यसक्षेत्रका जनतालाई दक्षिण एसियाली जनता बनाउनेबाहेक अन्य काम गर्न नसक्दा नकारात्मक प्रश्न उब्जने गरेको छ ।
शिखर सम्मेलनमा भाग लिन आउनेमध्ये चार विदेशमन्त्रीहरुले माउन्टेन फ्लाइटमा जाने इच्छा ब्यक्त गरेका छन् । त्यस्तै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पनि माउन्टेन फ्लाइटमा चासो देखाएको जानकारी परराष्ट्रमा आएको छ ।
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेले स्वयम्भु र लुम्विनी जाने इच्छा ब्यक्त गरेका छन । केहीले गोकर्णमा गल्फ खेल्ने इच्छासमेत देखाएका छन ।
सार्कको आकर्षणका रुपमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने रामजानकी मन्दिर, मुक्तिनाथ मन्दिर र लुम्बिनी जाने तथा पटनाबाट जनकपुरसम्म सडकमार्गबाट आउने चाहना ब्यक्त गरेका छन।
अफगानिस्तान र माल्दिभ्सका राष्ट्रपतिबाट भने अहिलेसम्म बाह्य भ्रमणको इच्छा ब्यक्त भएको छैन । तर समय अझै बाँकी रहेकाले उनीहरुले पनि भ्रमणको चाहना राख्न सक्ने स्रोतले बतायो ।
त्यस्तै बंगलादेशकी प्रधानमन्त्री हसिना वाजेदले कोइराला परिवारसंग छुट्टै भेटवार्ता गर्ने इच्छा ब्यक्त गरेकी छन । धुलिखेलको रिट्रिटमा भने सबैले चासो राखेका छन ।
सार्क सफल भए यस्ता गतिविधि सामान्य हुने थिए । यसबाट मुलुकको पर्यटकीय तथा धार्मिक स्थलको प्रबर्द्धनसमेत हुन्छ ।
तर आम जनतामा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव नपर्ने अवस्थामा घुमघामले सार्कको मुख्य मुद्दा ओझेलमा पर्ने देखिन्छ ।
सार्क सचिवालय संचालनको नियमित खर्चबाहेक शिखर सम्मेलनको लागि सवा अर्बभन्दा बढी खर्च हुनेछ । सार्क क्षेत्रमा अहिलेसम्म विश्वको एक सयभित्र पर्ने विश्वविद्यालय समेत छैनन् ।
निकै पहलपछि पाँच वर्ष अघि संचालनमा आएको दक्षिण एसिया विश्व विद्यालय पनि खासै प्रभावकारी बन्न सकेको छैन ।















प्रतिक्रिया