गोरखाबजार, १२ कात्तिक । गोरखाका किसानले बेलै नभई सुन्तला बिक्री गरेका छन् ।
गत वर्षभन्दा प्रतिकेजी सुन्तलाको भाउ महँगो पाएपछि किसानले काँचो सुन्तला बिक्रीका लागि बजार झारेका हुन् ।
प्रतिकेजी मूल्य रु ७० पाएपछि किसानले अलिअलि पहेँलो भएको सुन्तला पनि बिक्री गरेका छन् । त्यस्तै प्रतिकेजी ५५ मा किसानले घरैबाट ठेकेदारलाई काँचो सुन्तला बिक्री गर्न थालेका छन् । गोरखाको मनकामना, ताङ्लीचोक, ताक्लुङ, मकैसिङ, नारेश्वर, फिनाम, हर्मीका किसानले बेलै नभई सुन्तला बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
थोरै बोट सुन्तला लगाएका किसानले आर्थिक समस्या हल गर्नका लागि काँचो सुन्तला बजारमा बिक्री गरेको कार्यालयका योजना अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
“साना तथा मझौला किसानले बेलै नभई काँचो सुन्तला बिक्री गरे”, पौडेलले भन्नुभयो, “दसैँ, तिहारको खर्च जोहो गर्नका लागि किसानले सुन्तला बेचेका छन् ।” स्याउको मूल्य बढेपछि व्यापारीले काँचो सुन्तला खरिद गरी बिक्री गर्न थालेको अधिकृत पौडेलको भनाइ छ ।
“बजारमा फलफूलको माग बढ्दो छ”, उहाँले भन्नुभयो, “चाडबाडले गर्दा अमिलो सुन्तला पनि बिक्री भएको छ ।” किसानले पाकेको सुन्तलाको भाउमा काँचो सुन्तला बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।














प्रतिक्रिया