काठमाडौं, १२ कात्तिक । उद्योगमन्त्री महेश बस्नेतले मन्त्री भएपछि आफू ऋणमा फसेको बताउनुभएको छ ।
मंगलबार साँझ मन्त्री निवास पुल्चोकमा संचारकर्मीहरुसँगको अन्तरक्रियामा मन्त्री बस्नेतले मन्त्री भएपछि बितेको एक महिनामा आफूलाई तीन लाख ऋण लागेको बताउनुभएको हो । ‘गरिबको छोरो मन्त्री हुँदा अप्ठेरो रहेछ, निवासको सामान किन्दा, दशैं, तिहार र सचिवालय व्यवस्थापन गर्दा तीन लाख जति ऋण लागेको छ ।’, मन्त्री बस्नेतले भन्नुभयो, ‘कतिपयले भन्छन् भन्त्री भएपछि टन्न कमाइन्छ, तर म सँधै कसरी उद्योगको विकासमा लाग्न सकिन्छ भनेर मात्रै लागिरहेको छु ।’ उहाँले तिहारमा मात्रै देउसी भैलोका लागि एक लाख रुपैंया जति खर्च गरेको अनुभव सुनाउनुभयो ।
आफू कहिल्यै गुण्डागर्दीमा नलागेको भन्दै उहाँले बरु नराम्रो बाटोमा लागेकालाई सुधार्नेतर्फ महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा पनि यस्तै सकारात्मक भूमिका खेल्ने उहाँको कथन थियो । ‘हिजो युद्धको बेलामा थियो, युद्ध र चुनावको नियम भनेको प्रतिस्पर्धीलाई जित्नु हो, त्यतिबेला ढुंगामुढा पनि हानेकै हो ।’, उहाँले भन्नुभयो, ‘मलाई कतिपयले यो मान्छे गुण्डा गर्दीलाई संरक्षण गर्छ, आलोचित मान्छे छ भन्नेखालका आरोपहरु लगाउँदै आएका छन्, म यसलाई चिर्दै आफ्नो इमेज बदल्ने प्रयासमा छु ।’
मन्त्री बस्नेतले आफू उद्योगको विकासका लागि दिलोज्यानले लागि परेको सुनाउनुभयो । त्यसका लागि सहयोग गर्न उहाँले संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । अन्य मन्त्रालयजस्तो उद्योग मन्त्रालय अधिकार सम्पन्न नभएको भन्दै उहाँले आफू उद्योगमन्त्री भएपनि निरन्तरताभित्र नबिनता खोज्नु बाहेक अर्को कुनै विकल्प नभएको बताउनुभयो ।
‘निरन्तरताभित्र नबिनता खोज्नुबाहेक मेरो अरु विकल्प छैन, उद्योग मन्त्रालयको बजेट ३ अर्बको हाराहारीमा छ, यसले देशको उद्योग धन्दाको विकास र विस्तारमा एक छेउपनि लगानी गर्न पर्याप्त छैन । म विभिन्न स्थानमा उद्योगमन्त्रीको हैसियतले पुग्छु तर कुनै सामान्य बाटो बनाउन पनि १ लाखमात्रै सहयोग गरौं न त भन्ने हैसियतै छैन । उद्योग मन्त्रालय यस्तो कमजोर अवस्थामा छ ।’ उहाँको गुनासो थियो ।
निकै चुनौतीको बीच मन्त्रालयको जिम्मेवारी पाए पनि त्यसलाई सामना गर्दै उद्योग क्षेत्रको विकासका लागि केही गर्न चाहेको उहाँले दाबी गर्नुभयो । उद्योगको विकासका लागि आफूले सम्बन्धित ऐन कानुन ल्याउन पहल गरिरहेको भन्दै उहाँले विभिन्न उद्योगको लाइसेन्स होल्ड गरी बस्ने तर काम गर्नेहरुको लाइसेन्स खोजीका लागि आफूले तयारी गरिरहेको बताउनुभयो ।
मन्त्री बस्नेतले २ अर्ब बजेट पाए हरेक निर्वाचन क्षेत्रबाट पारदर्शी ढंगले २०० जनाका दरले युवाहरु छानेर तालिम दिने र बेरोजगारलाई विभिन्न सिपमूलक तालिम दिएर आत्म निर्भर बनाउने काममा लाग्ने आफ्नो योजना रहेको बताउनुभयो ।
















प्रतिक्रिया