म्याग्दी, ११ कात्तिक । म्याग्दीको बेनी नगरपालिका वडा नं ११ बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्टे«लियाबाट सहयोग प्राप्त भएको छ ।
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने र सामाजिकीकरण गराउने उद्देश्यले बालजागृति प्राविले सञ्चालन गरेको स्रोत कक्षालाई अस्टे«लियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ अस्ट्रेलियामार्फत ५० हजार र म्याग्दी सेवा समिति अस्ट्रेलियाबाट १ लाख सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले जानकारी दिनुभयो । सहयोग जुटाउने पहल गर्ने बेनी नगरपालिका वडा नं ६ घर भई हाल अस्ट्रेलियामा कार्यरत सुमन बानियालाई विद्यालयले सोमबार सम्मान गरेको छ ।
विद्यालयले आन्तरिक स्रोत र चन्दा जुटाएर २०६९ सालदेखि सञ्चालन गर्दै आएको उक्त स्रोत कक्षामा हाल म्याग्दी र बागलुङ जिल्लाका २१ जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् । प्राप्त सहयोग बालबालिकाको आवास व्यवस्थापन र शैक्षिक एवम् खेलकुद सामग्रीमा प्रयोग गरिने विद्यालयले जनाएको छ ।













प्रतिक्रिया