३० आश्विन २०८३, शुक्रबार

छोराले शव बुझ्न नमानेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nanda-prasad-adhikari-death-mirtu-deadbody

काठमाडौं, ११ कात्तिक । छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै झन्डै एक वर्ष लामो आमरण अनसनका क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्येष्टि सरकारले गर्ने भएको छ ।

नन्दप्रसादका छोरा नुरप्रसादले बाबुको शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनको अन्त्येष्टि सरकारले गरिदिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै ११ महिनादेखि आमरण अनशनमा बसेका नन्दप्रसादको गत असोज ६ मा वीर अस्पतालमा निधन भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

नन्दप्रसादका छोरा नुरप्रसादसहित परिवारका सदस्यले उनको शव बुझ्न नमानेपछि अहिलेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

सरकारले नन्दप्रसादको कहिले अन्त्येष्टि गर्ने भन्ने जानकारी भने दिएको छैन । मन्त्रिपरिषदले नन्दप्रसादकी पत्नी गंगामायाको जीवनयापनका लागि उचित आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

कति आर्थिक सहयोग गर्ने भन्ने जानकारीसमेत सरकारले दिएको छैन । आमरण अनसन बस्ने क्रममा गंगामायाको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकारले विशेष पहल गरी असोज ३१ मा उनको अनसन तोडाएको थियो ।