नुवाकोट, १० कात्तिक । शनिवार साँझ आएको असिना पानीले नुवाकोटको विभिन्न गाविसमा भित्र्याउने तयारीमा रहेको हजारौँ रोपनी क्षेत्रफलमा लगाइएको धान नष्ट भएको छ ।
धान भित्र्याउने समयमा परेको असिना पानीका कारण किसानहरुले काट्न ठिक्क पारेको र काटेर सुकाएको धानमा असिनाले क्षति पु¥याउँदा किसानहरु चिन्तित बनेका छन् ।
असिनापानीले तारुका गाविसको तीन वटा फाँटमा लगाइएको धान पूर्णरुपमा नष्ट भएको किसानहरुले बताएका छन् । धानखेतमा एक फिटसम्म असिना जमेको किसानहरुले बताएका छन् ।
तारुकाको पसमखेलफाँट, खानीफाँट, कौसिनीफाँट पारिखेतफाँट लगायतका फाँटमा काट्न ठीक पारेको धान असिनापानीले नष्ट हुने अवस्थामा पुगेको स्थानीय शिक्षक शिवराम ढुंगानाले बताउनुभयो ।
ढुंगानाका अनुसार धानसहित कोदो र तरकारीबालीसमेत नष्ट भएको छ । तारुका गाविसका तीन हजार रोपनी जग्गमा लगाइएको धानबाली नष्ट भएको शिक्षक ढुंगानाले बताउनुभयो ।
बुधसिं गाविसको सिंगाले फाँट, अम्बटे फाँट, छत्रेफाँटलगायतका फाँटहरुमा पनि असिना पानीले ठूलो क्षति पु¥याएको किसानहरुले बताएका छन् ।
चतुराले गाविसमा पनि असिना पानीले क्षति पुगेको छ । असिनाले धान बालीमा क्षति पुग्नुका साथै काहुलीलगायतका तरकारी खेतीमा समेत क्षति शिक्षक नवराज पाठकले बताउनुभयो ।
असिनका कारण चतुराले गाविसमा ३० प्रतिशत धान उत्पादन घट्ने अनुमान स्थानीयबासीले गरेका छन् ।













प्रतिक्रिया