२८ आश्विन २०८३, बुधबार

तिहारमा दिदीबहिनी नहुँदाको पीडा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prabin-Bhattarai

विहान उठ्नासाथ हिमाल देख्न पाईयोस… मित्र रामकृष्ण ढकालको यो गीतमा जस्तै मैले उठ्नासाथ हिमाल देख्न नपाएको लगभग ३ वर्ष भैसक्यो । हिमाल देख्न नपाए पनि नेपाल लेख्न चाँही भ्याएसम्म जानी नजानी कोसिस जारी छ । उठ्नासाथ म सामाजिक सञ्जालका भित्ताहरु पढ्छु, देख्छु जहाँ म हिमाल देख्छु, तराई देख्छु, पहाड देख्छु, दशै देख्छु, तिहार देख्छु, देउसी र भैलो देख्छु । म समग्रमा त्यहाँ नेपाल देखिरहेको हुन्छु । मलाई लाग्छ, स्वदेशमा बस्ने नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाहरु भन्दा पातालमा बस्नेहरुले ती भित्ताहरु बढी हेर्छन, बढी कोर्छन । म पनि आजकल पातलतिर रहेको अवस्था, त्यसैले ती भित्ताहरु बढि नै पढ्ने गर्छु अझ खास गरी चाडबाडको बेला ।

प्रसंग भाईटीकाको । हामी ७ जना दाजुभाई तर दिदी बहिनीहरु हुनुहुन्न । मैले सुने अनुसार हजुरबुबा, हजूरआमाले कन्यादान गर्ने र स्वर्गवास जाने उत्कृष्ट अभिलाषाले हामी जन्मदै गयौं । एकपछि अर्को गर्दै तर छोराहरु मात्र । एक पटक हाम्री दिदी जन्मनु भएको थियो रे, तर १० महिनामा नै उहाँ बित्नु भो रे, त्यसपछि प्रदीप दाई, म, प्रमीत र प्रजीव क्रमशः जन्म्यौं तर हाम्रा हजुरबुवा, हजुरआमाको चाहनाले काम गरेन । हामी लड्का ग्याङ्ग मात्र भयौं । २०१२ सालदेखि २०३९ सालसम्मको अवधिमा हामी ७ जना लड्काहरु आमाको कोखबाट निस्कन सफल भयौं । मेरी असी काटेकी आमा, कति दुख र पीडा भयो होला, ऊ बेला हामीलाई जन्माउन, हर्काउन, पढाउन, न अस्पताल थियो । म त आमाले काम गर्दा गर्दै बारीमै जन्मेको रे । कहानी जस्तो लाग्छ, यी कथा जस्ता लाग्ने वास्तविकता आमाकै मुखबाट सुन्दा । गत साल आमाबुबा मसँगै हुनुहुन्थ्यो, हामीले लक्ष्मीपूजा घुमधामले गरेका थियौं । तैपनि लक्ष्मीले हालसम्म नपत्याएको अवस्था हो । यो साल पनि लक्ष्मीपूजामा कुनै कमी रहेन, लक्ष्मीले पुनः बास गर्ने आशामा ।

दिदीबहिनी नभएपछि भाईटीकाको महत्व झन हुँदो रहेछ । गाउँघर छिमेक टोलमा साथीहरु सयपत्रीको माला गलामा भिरेर, सप्तरङ्गी ठीका निधारमा सजाएर बुट पडकाउँदै बाटोमा हिडेको देख्दा मनमनै इश्वरलाई गुनासो गर्थे, हे इश्वर मेरी दिदीलाई तिमीले किन बाँच्न दिएनौं ।

अझ सामाजिक सञ्जालमा अपलोड भएका लोभलाग्दा तस्विरहरुले मनै रुवाईदिन्छ, दिदी बहिनी नहुनेहरुका लागि । यो कुरा सबैमा लागू नभए पनि मेरोमा भने शतप्रतिशत लागु हुन्छ ।

मन बुझाउने मेलो, गाउँमा हुन्जेल फूपुहरुको हातबाट टीका लगाईयो । शहरमा आएपछि २, ३ ठाउँमा टीका लगाईयो । आफ्नै दिदी बहिनी नभएपछि बनाएका दिदीबहिनीसँगको साईनो केवल उपहारमा मात्र सीमित हुन्छ । गंगा बहिनीलाई छोडेर बाँकीसँगको साईनो केवल कस्मेटिक मात्र रहयो अर्थात गिफ्टमा मात्र सीमित । अचम्म लाग्छ ती दिन सम्झदा कति लोभी थिए, ती आत्माहरु । प्रिय गंगा बहिनी मलाई माफ गर, म तिम्रो बालाजु घरमा आउँन सकिन, अझै म २ वर्ष आउन सक्दिन् । सुने अनुसार यो वर्ष प्रमीतले पनि टीका बारेको छ रे ।

रानी पोखरीमा पनि ४ पटक भाइटीका लगाइयो । ती प्रत्येक भ्रमण सम्झनयोग्य थिए । पोखरी भित्रका माछाहरु पौडी खेलिरहेको त्यो मनमोहक दृश्य ।

पातालमा मैले लगभग १२ वर्ष विताएको छु, पोष्टिङ्ग, अध्ययन, तालिम, भ्रमण आदि गरेर । ती वर्षहरुमा मैले तिहार खासै मनाइन । पाकिस्तानमा भने मैले तिहार भरपुर मनाएँ । आफूले टीका नलगाए पनि अरुका लागि फूलका मालाहरु गाँसे, लगभग सबै नेपाली परिवारका लागि । भैली खेल्नेहरुका लागि प्लेटफर्म बनाएँ । ती दिनहरु पातालका सबैभन्दा राम्रा दिन थिए । ती परिवारहरु सबैभन्दा आत्मीय थिए । ती साथीहरु सबैभन्दा प्रिय थिए । त्यो भन्दा बढी त्यो समय पाकिस्तानमा सबैभन्दा प्रिय नेपालीहरु थिए । म गर्वका साथ भन्छु, ती दिनहरु जर्मनीमा विताएका वर्षहरु भन्दा आत्मीय थिए, अनि न्यूयोर्कमा हाल बिताईरहेका दिनहरु भन्दा उच्च थिए । ती सबै जना मिल्दाका संयोगहरु थिए । आज उहाँहरु जहाँ जहाँ हुनुहुन्छ, सवैलाई एकपटक आत्मीयतापूर्वक सम्झेको छु , मनन गरेको छु । मुटुभित्र दरोसँग सम्झनाका ती हरेकपलहरु कैद गरेको छु । अन्तमा यो किन भाईटीका मात्र, दाजुभाई टीका किन भएन ? यो फन्टुस प्रश्नको उत्तर आवश्यक छैन । सबैको जय होस ! (म्यानहाटन, न्यूयोर्क)

लेखक न्युयोर्कस्थित नेपाली मिशनमा कार्यरत छन् ।