काठमाडौ, ५ कात्तिक । सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने वैदेशिक रोजगार, मालपोत, यातायात, जिल्ला प्रशासनजस्ता कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न दैनिक १२ घन्टा काम सुचारु राख्ने र नागरिक सहायता कक्ष खोल्ने भएको छ ।
यस्ता कार्यालयहरू बिदाका दिनमा समेत खोलेर सेवा प्रवाह गरिनेछ ।
पूर्वसचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गठित प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा सरकारले आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयहरूमा दिनको दुई सिफ्ट बिहान ७:३० देखि १:३० सम्म तथा दिउँसो १:३० देखि साँझ ७:३० सम्म जनतालाई छिटोछरितो र भ्रष्टाचाररहित सेवा दिने तयारी गरेको हो ।
यातायात, वैदेशिक रोजगार, कम्पनी रजिस्टारजस्ता कार्यालयमा विचौलियाको चलखेलका कारण आमजनताले सरकारी सेवा लिनसमेत घूस खुवाउनै पर्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले नागरिक सहायता कक्ष खोल्ने भएको छ ।
आमजनतामा प्रत्यक्ष सेवा प्रवाह गर्ने सबै कार्यालयहरूलाई विचौलियारहित बनाउन जनताका निवेदनसमेत स्वयं कर्मचारीले तयार पारिदिने गरी नागरिक सहायता कक्ष खोल्न लागिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
समितिले मंगलबार बुझाएको सिफारिस प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषदमा तत्काल प्रस्ताव ल्याउन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई निर्देशन दिएका छन् ।
कोइरालाले मन्त्रिपरिषदबाट तत्काल निर्णय गरी सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समितिले दुई सिफ्टमा सञ्चालन गर्न र नागरिक सहायता कक्ष राख्न सिफारिस गरेका कार्यालयहरूमा नागरिकता जारी गर्ने, प्रतिलिपि दिने, राहदानी जारी गर्ने, घरजग्गाको स्वामित्व हस्तान्तरण गर्ने, जग्गाजमिनको कित्ताकाट गर्ने, उद्योग र व्यापार सञ्चालनका लागि कम्पनी दर्ता र नवीकरण गर्ने, सवारी साधन दर्ता, स्वामित्व हस्तान्तरण, राजस्व असुली, सवारी चालक अनुमतिपत्र जारी गर्ने, वैदेशिक रोजगारीमा जाने अनुमतिपत्र र श्रम स्वीकृति जारी गर्नेसम्बन्धी काम, धारा, बत्ती, टेलिफोनलगायतको महसुल बुझ्ने र जिविस, नगरपालिकासहितका स्थानीय निकाय छन् ।
आमजनता विभिन्न सरकारी कार्यालय जानुपूर्व नै त्यसले कति समयमा कसरी र कति शुल्कमा सेवा प्रवाह गर्छ, त्यसका लागि के(के कागजपत्र चाहिन्छ भन्ने ुनागरिक बडापत्रु गाविस र नगरको वडा कार्यालयमा समेत राखिने भएको छ, जसले गर्दा आमजनताले सेवा लिन जानुपूर्व नै आवश्यक जानकारी पाउनुका साथै तयारी गरेर जान पाउनेछन् ।
जिल्ला प्रशासन, मालपोत, वैदेशिक रोजगारजस्ता कार्यालयमा राखिने नागरिक बडापत्र आमजनताले ती कार्यालयमा सेवा लिन जानुपूर्व नै हेर्न पाउने गरी अब गाविस र नगरका वडामा समेत राखिनेछ ।















प्रतिक्रिया