काठमाडौं, ४ कात्तिक । अदालतको आदेश नमान्ने आईजीपीलाई आफूहरूले समेत नमान्ने भन्दै एआईजी राजेन्द्रसिंह भण्डारीले आईजीपी उपेन्द्रकान्त अर्याललाई खुल्ला चुनौती दिएका छन् । सेनामा कसैले यस्तो बोलेको भए संगठन प्रमुखविरुद्ध यसरी बोल्ने अधिकारीलाई ‘कोर्टमार्शल’ भइसक्यो । तर आईजीपी अर्याल आफैं निरिह बनेपछि एआईजीले मात्र होइन, हवल्दारले समेत आईजीपीलाई नटेर्ने अवस्था नेपाल प्रहरीमा सिर्जना भएको छ ।
प्रहरी दिवसको पूर्वसन्ध्यामा एआईजी भण्डारीले एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आईजीपीको आदेश आफूहरूले नमान्ने भन्दै अर्याललाई खुल्ला चुनौती दिएका थिए । एआईजी भण्डारीको उक्त कुराकानीलाई धेरै प्रहरीले संगठनभित्रको विद्रोहका रुपमा लिएका छन् । खासगरी अदालतले चार डीआईजीलाई एआईजीमा बढुवा गर्न परमादेश दिँदा पनि आईजीपी अर्यालले लबिङ गरेर बढुवा रोकेर चार डीआईजीलाई अन्यायपूर्वक अवकाश दिलाएका थिए । डीआईजी यादव अधिकारी, परशुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबरसिंह थापालाई आईजीपी अर्यालले बढुवा हुनबाट रोकेको आरोप छ । कांग्रेस मन्त्रीहरूलाई बिन्ती गरी बढुवा रोकाएपछि सरकारले चार जनालाई बढुवा गर्ने परमादेशउपर पुनरावलोकनमा गएको छ । सर्वाेच्चले गृह मन्त्रालयलाई बढुवा नगर्नुृको कारण सोधेको छ । यही प्रकरणलाई लिएर एआईजी भण्डारीले आईजीपी अर्यालको निर्देशन नमान्ने कुरा बताएका हुन् ।
एआईजी भण्डारी मात्र होइन अधिकांश प्रहरी यतिबेला आईजीपी अर्यालविरुद्ध रुष्ट छन् । कार्यविभागमा रहेका गणेश राईले पहिले नै आईजीपीविरुद्ध अन्तर्वार्ता दिएका थिए । आफूलाई हटाउन सक्ने त्रासले अर्यालको एआईजी सुरेन्द्रबहादुर शाहसँग समेत राम्रो छैन । आयुक्त कार्यालयका प्रमुख रहेका विज्ञान शर्मासँग आईजीपी हुने बेलादेखि नै विवाद चल्दै आएको छ ।
एआईजी भण्डारी र आईजीपी अर्यालबीचको दोस्ती कुनै समय लोभलाग्दो थियो । तर, कुर्सीको कारणले उनीहरू यतिबेला जानी दुश्मन भएका छन् । सुरुमा प्रशासन विभागमा पदस्थापन भएका एआईजी भण्डारीलाई त्यही दुश्मनीको कारण एकेडेमी पठाइएको थियो । मोटो रकम कमिसन खाएर हतियार खरिद गर्न लागेका आईजी अर्याललाई भण्डारीले सहयोग नगरेपछि एकेडेमीमा सरुवा गरिएको थियो । त्यसपछि उनीहरूबीचको सम्बन्धमा झन् तिक्तता आएको हो ।
अर्यालको कार्यशैलीप्रति अपराध अनुसन्धान विभागमा रहेका एआईजी शाह पनि दिक्क भएको स्रोत बताउँछ । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्ने, राय सुझाव नलिने, व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई काखा कसैलाई पाखा गर्ने कार्यशैलीका कारण आईजी अर्याल अलोकप्रिय हुँदै गएका छन् । त्यसकारण पछिल्लो समय आईजीपी फेरिने हल्लासमेत चलेको छ । प्रहरी दिवसको दिन आईजीपी अर्यालले पनि त्यस्तै प्रकृतीको मन्तब्य दिएपछि यो विषय अहिले चर्चामा छ । प्रहरी प्रमुखमा अर्काे वर्ष नयाँ व्यक्ति आउने सक्ने उनले बताएका थिए । अर्यालको पदावधि अझै डेढ वर्ष बाँकी छ । तर पनि उनले अर्काे वर्ष नयाँ व्यक्ति आफ्नो ठाउँमा आउने सक्ने संकेत गर्नुको पछाडि रहस्य छ ।
पछिल्लो समय उनी कांग्रेसका केही मन्त्रीहरूलाई मात्र खुशी बनाएर आफ्नो पद जोगाउने दाउमा छन् । गृहमन्त्री वामदेव गौतम लगायत एमालेका नेताहरू उनीसँग रुष्ट भएका छन् । संगठनलाई कांग्रेसीकरण गरेको आरोप एमाले मन्त्रीहरूले लगाउन थालेका छन् । त्यसकारण माघ ८ पछि सरकार परिवर्तन हुनसक्ने र त्यससँग प्रहरी नेतृत्व पनि परिवर्तन हुनसक्ने आँकलन धेरैको छ ।
















प्रतिक्रिया