काठमाडौं, ४ कात्तिक । एचएण्डबी बैंकपछि एभरेष्ट बैंकको कीर्ते काण्ड बाहिर आएको छ । बैंकले असम्बन्धित व्यक्तिलाई चेकबुक मात्र होइन, चेक नक्कली हस्ताक्षरकै आधारमा लाखौं रकम भुक्तानी दिएको छ ।
एभरेष्ट बैंकको सिंहदरबार शाखामा खाता रहेको राष्ट्रसेवक कर्मचारीका पदाधिकारीहरूको हस्ताक्षर कीर्ते गरी एक समूहले पैसा निकालेको हो । पटक–पटक गरी खाताबाट ११ लाख ५० हजार रुपैयाँ निकालिएको थियो । ३७ वटा चेकमा कीर्ते हस्ताक्षर गर्दा पनि बैंकले पत्ता लगाउन नसकेपछि एभरेष्ट बैंकको बिश्वसनियतामाथि प्रश्न उठेको छ । त्यसरी कीर्तेमा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले बैंकका कर्मचारीमाथि पनि छानबिन अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त अनामनगरले कीर्तेमा संलग्न करण थापा, सुमन हुमागाई, राजेश थापा र अनिस दियालीलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त थापा संगठनकै कार्यालयमा कार्यालय सहयोगीका रुपका काम गर्दै आएका कर्मचारी हुन् । राष्ट्रसेवक कर्मचारी संगठन निजामती सेवाका पियन चालक लगायतका श्रेणीबिहीन कर्मचारीहरूको ट्रेड युनियन हो ।
संगठनका अध्यक्ष शरण गुरुङ र महासचिव बाबुराम रोकाको हस्ताक्षर कीर्ते गरेर बैंकबाट चेकमार्फत् पैसा निकालिएको थियो । ३७ पटक गरेर ११ लाख ५० हजार ४ सय ६५ रुपैयाँ निकालिएको थियो ।
बैंकको न्यूरोड, बागबजार र गोंगबु शाखाबाट कीर्ते हस्ताक्षर गरी पैसा निकालिएको हो । ४ सेप्टेम्बर २०१३ यता पटक पटक पैसा निकालिएपछि संगठनका अधिकारीहरूले गत महिना मात्र पैसा हराएको पत्ता लगाएका थिए ।
महानगरीय प्रहरी वृत्त सिंहदबारले संगठनकै कर्मचारी थापासहित चार जनालाई दशैंअघि पक्राउ गरी थुनामा राखेको छ । पक्राउ परेका अन्य थापाकै साथीहरू भएको वृत्त प्रहरी निरीक्षक भेषराज रिसालले बताए । खातामा जम्मा १६ हजार ८ सय रुपैयाँ मात्र भएको खुलेको थियो । बैंकमा गएर बुझ्दा पटक–पटक गरी चेकमार्फत् पैसा निकालेको विवरण दिएका थिए । त्यसपछि संगठनका पदाधिकारीहरूले प्रहरीमा उजुरी दिएका हुन् । सिंहदरबारले अनुसन्धान गर्दा कार्यालय सहयोगीसहित व्यक्तिको घटनामा संलग्नता खुलेको हो । बैंकका कर्मचारीहरूको लापरबाही देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार चेक बुकसमेत उनीहरू आफैंले बैंकमा गएर निकालेका थिए । अध्यक्ष गुरुङ र महासचिव रोकाको हस्ताक्षर थाहा भएकाले चेकमा त्यसैको नक्कल गरी बैंकबाट पैसा निकालेका थिए । पक्राउ परेकाहरूलाई प्रहरीले बैंकिङ कसुर मुद्दा चलाएको छ । घटनामा बैंकका कर्मचारीको समेत गल्ती देखिएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया