काठमाडौ, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रचण्डले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा उहाँले संविधान निर्माण गर्न लाग्छु भन्ने सर्तमा एमाओवादी प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएकोसमेत दाबी गर्नुभयो ।
‘अहिले उनी २२ दलका २२ सय मान्छे जम्मा गरेर माघ ८ गते संविधानसभाबाट संविधान जारी हुन नदिने षड्यन्त्रमा लागेका छन्,’ ओलीले भन्नुभयो, ‘देशलाई तल पारेर प्रचण्ड आफू ठूलो हुने योजनामा रहेका छन् ।’
उहाँले प्रचण्डको त्यो कल्पना पुरा नहुने दाबी गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले सहमतिमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले सोमबारबाट सुरु गरेको अभियान अन्र्तगत क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीसँगको कुराकानीमा ओलीले भन्नुभयो– सहमति नगर्ने किरिया खाएर एमाओवादी र मधेसवादी दलहरु बस्ने भए उनीहरुको आन्दोलनको सामना गर्दै प्रक्रियाबाट संविधान जारी गर्छौ ।
माओवादी सहमतिमा नआएपनि स्पष्ट बहुमत र दुई तिहाई रहेको भन्दै संख्याको आधारमा गएर भएपनि संविधान जारी गरेरै छाड्ने उहाँको चेतावनी थियो ।
‘प्रचण्ड आन्दोलनबाट ब्याक नभए विगतमा १० वर्षे जनयुद्धमा गएर पछुताए जस्तै पछुताउने अवस्था आउँछ,’ ओलीले भन्नुभयो, ‘८० प्रतिशत जनताले लोकतान्त्रिक संविधान निर्माणको लागि प्रतिनिधि चुनेर पठाएका छन्, फेरि पनि दुई चार जना असफल नेताहरुले जनमत संग्रहको माग गर्नुको कुनै अर्थ छैन ।’
ओलीले एमाओवादी र मधेसवादी दलले भने जस्तो धेरै प्रदेशमा मुलुकलाई नटुक्राउने स्पष्ट पार्दै चार प्रदेशमा लगिने बताउनुभयो ।
आफू कोशी, राजधानी, गण्डकी र कर्णाली प्रदेशको पक्षमा रहेको बताउँदै सहमतिका लागि बढीमा छ प्रदेशसम्म जान सकिने तर माओवादीहरु ६ प्रदेशमा नआए चार प्रदेशमा आफुहरु फर्कने चेतावनी दिनुभयो ।
‘राष्ट्रिय संसद भवन नभएर भाँडामा बस्नु परेको छ । १० प्रदेश बनाएर गभर्नर, मुख्य मन्त्री, मन्त्री, संसदको कार्यालय र आवासगृह अहिले बनाएर संघीयता संस्थागत गर्न सकिन्छ ?– ओलीले प्रश्न प्रश्न गर्नुभयो ।
ओलीले समग्र मधेस एक प्रदेश बनाउनेहरुले फापर फल्ने पहाडलाई धेरै टुक्रामा टुक्राउने कुरा गर्नु हास्यास्पद भएको भन्दै फापर फल्ने पहाड र अन्नको उर्वर भूमि तराई समेटेर प्रदेश बनाईने स्पष्ट पार्नुभयो ।
पार्टीभित्र माधवकुमार नेपाल र आफूवीच कुनै मतभेद नरहेको स्पष्ट पार्दै उहाँले महाधिवेशनको राप र ताप सेलाइसकेकोले अब एकताबद्ध भएर अघि बढ्ने समेत स्पष्ट पार्नुभयो ।















प्रतिक्रिया