काठमाडौँ, ३ कार्तिक । नेकपा एमालेका सचिवसमेत रहनु भएका भीम आचार्यलाई हटाएर नियुक्त हुनु भएका नवनियुक्त पर्यटन मन्त्री दीपकचन्द्र अमात्य सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा निरीह बन्नु भएको छ ।
नेपाल पर्यटन बोर्डको अनियमितताको बारेमा छलफल गर्न सार्वजनिक लेखा समितिले सोमबार अमात्यलाई बैठकमा बोलाएको थियो । उक्त बैठकमा सभासदले सोधेको प्रश्नको जवाफ उहाँ आफैले दिन नसकेर निरीह बन्नु भएको हो ।
बैठकमा काँग्रेस सभासद् रामहरी खतिवडाले पूर्व पर्यटन मन्त्री आचार्यले मैले अमुक व्यक्तिलाई कमिसन बुझाउन नसकेका कारण म वर्खास्त भए, भनेर भन्नु भएको थियो, उहाँले भन्नु भएको अमुक व्यक्ति दीपकचन्द्र अमात्यलाई नै अहिले पर्यटन मन्त्री बनाइयो भन्ने आरोपबारे मन्त्रीको धारणा के छ ? भनी प्रश्न गर्नुभएको थियो ।
उक्त प्रश्नको मन्त्री अमात्यले गोलमटोल उत्तर दिएको र सोधेको प्रश्नको पुरा जवाफ दिन नसकी निमित्त सचिव मोहनकृष्ण सापकोटाको साहारा मागेर निरिहता प्रकट गरेको सभासद् खतिवडाले दैनिक नेपाल डटकमसँग भन्नुभयो ।
‘मन्त्रीको सपथ खाएको व्यक्तिको यस्तो निरिहता देखेर मैले उहाँलाई अरु प्रश्न सोधेर लज्जित बनाउँन चाहिन,’ खतिवडाले भन्नुभयो, ‘पोखरा एयर पोर्टको बारेमा त्रिवि विमानस्थल टर्मिनलबारे कमिसन नदिदा म हटाइए भनेर पूर्व मन्त्री आचार्यले भन्नुभएको थियो । यस बारे के भन्नु हुन्छ ? भनी गरेको प्रश्नमा पनि उहाँले जवाफ दिन सक्नु भएन ।
सोमाबारको बैठकमा नेपाल पर्यटन बोर्डको अनियमितताको बारे सत्यतथ्य पत्ता लगाउन काँग्रेसका आनन्दप्रसाद ढंगान, एमालेका विकास लम्साल, राप्रपा नेपालका दिनेश श्रेष्ठ, मधेशवादी दलकी डिम्पलकुमारी झा रहेको माइन्युट कमिटी गठन गरेको पनि खतिवडाले जानकारी दिनुभयो ।
उक्त कमिटीले आगामी पाँच गते भित्र समितिलाई जानकारी गराउनु पर्ने छ ।















प्रतिक्रिया